कपनमा महानगरको डोजर – स्थानीय महानगरकै पक्षमा : खहरे खोला मिचेर बनाइएका संरचना भत्काउन ऐक्कवद्धता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ ।

बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो । काठमाडौं महानगरपालिका १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो ।

तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरुको आरोप छ । उनीहरुले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने धारणा राखेका छन् । यता बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको बताउनु भयो । उहाँले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आयो । यो काठमाडौं महानगर र बुढानिलकण्ठ नगरपालिकाको सीमानामा पर्छ । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै चोरबाटोबाट यो निर्णय गरिएको छ । यो समन्वयबाट समाधान हुनुपर्छ ।’

त्यस्तै काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताउनु भयो । उहाँले बुढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महानगरले नापिसकेको, महानगर र उहाँहरुबीच पनि कतिपय कुराकानी भएको, म आफैँ पनि कतिपय ती कार्यमा संलग्न भएको, र अहिले खहरेलाई खोल्ने र डुबानलाई जनताको घरमा गएको पानी जुन छ, बुडानीलकण्ठ तिर साइड अग्लो छ, यताको साइड गहिरो छ । त्यो खोलेपछि बाटो समस्या हुन्छ भनेर निहुँ खोजेको अवस्था हो । कानून हातमा लिन खोजेको हो । हामी आफ्नै सीमानामा बस्छौँ र खोल्छौँ ।’

त्यस्तै स्थानीयहरुले भने बुढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरु बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन् । उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखे । उनीहरुले भुमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए ।

उनीहरुले खोला मिचेर संरचना बनाउनेहरुलै मात्रै महानगरको बिरोध गरिरहेको बताए । बालबालिकाहरुलाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको गुनासो गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?