उद्दण्डता पुरस्कृत हुनु हुँदैन

रत्न प्रजापति
Read Time = 14 mins

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार विस्तार भएताका सामाजिक सञ्जालमा सँगसँगै दुइटा तस्वीर निकै भाइरल भएका थिए । एउटा तस्बिरमा युवा नेता गगन थापा र अर्को तस्वीरमा रामकुमारी झाँक्री कुनै आन्दोलनमा ढुंगा हान्दै गरेका देखिए । संयोगले यी दुवै नेपाल सरकारको मन्त्री हुने अवसर पाउनेमध्येका थिए । थापा कांग्रेस नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्य मन्त्री थिए भने झाँक्री कांग्रेस नेतृत्वकै तत्कालीन नवविस्तारित मन्त्रिमण्डलका शहरी विकास मन्त्री थिइन् । थापा र झाँक्रीले आन्दोलनमा ढुंगा हान्दै गरेको तस्वीरलाई लिएर ढुंगा हान्नसक्नु नै मन्त्री हुनका लागि चाहिने योग्यता रहेछ भनेर कटाक्ष गरिएको थियो सामाजिक सञ्जालमा ।

वास्तवमा ढुंगा हान्नु उद्दण्डता हो । अराजकता हो । यसलाई राम्रो कामको उदाहरणको रूपमा लिइँदैन । किनभने यो नराम्रो कामको चाहिँ उदाहरण हो । तर, नेपाली राजनीतिमा उद्दण्ड चरित्रकै उच्च मूल्यांकन हुन्छ र त्यस्तै चरित्रले नै राजनीतिमा अवसर पाउँछन् भन्नेमान्यता स्थापित भएकैले त्यो तस्वीरलाई उदाहरणको रूपमा प्रस्तुत गरिएको हुनुपर्छ ।

राजनीतिको उद्देश्य सत्तामा पुग्नु, सरकार बनाउनु र देश हाँक्नुमात्रै होइन । आमनागरिकलाई सभ्यता र संस्कृति सिकाउनु कर्तब्य र अनुशासनबोध गराउनु पनि हो । दायित्व निर्वाहमा अभिप्रेरित गराउनु पनि हो । अनि धेरै आशा गरेर बसेका जनतालाई विकास र समृद्धि दिनु पनि हो ।

राजनीतिमा ठूलो त्याग र लामो तपस्या गरेका धेरै व्यक्तित्व छन् । निष्ठाको राजनीति गर्ने र राजनीतिमा त्याग, तपस्या, भद्रता, शालीनता र अनुशासनको अनुपम उदाहरण प्रस्तुत गर्ने नेताहरू अवसरको फ्रन्टलाइनमा कमै देखिन्छन् । जहिले पनि शीर्षनेताका प्रियपात्र, राजनीति र राजनीतिक आन्दोलनहरूमा उद्दण्डता प्रस्तुत गर्नेउद्दण्ड व्यक्ति र अराजकतालाई प्रश्रय दिने नेताहरू नै अवसर पाउने सूचीमा अग्रपंतिमा पर्ने गर्छन् । त्याग, तपस्या र योगदानको मूल्याङ्कन गरी अवसर दिने परिपाटीको विकास भएको भए ढुंगा हान्ने नेताहरू मन्त्री भए भनेर जनताले नेतृत्वलाई कटाक्ष गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन । आसेपासे र नेताहरूप्रति गणेशभक्ति देखाउनेहरूलाई नै अवसरको लागि योग्य मान्ने गलत परम्पराले राजनीतिमा निष्ठावान नेताहरू निराशाको शिकार बन्दैछन् ।

कुरा आशा र निराशाको मात्रै होइन प्रवृत्तिको पनि हो । सधैं नजिकका प्रियपात्र वा उद्दण्डताको माध्यमबाटनेतृत्वलाई प्रभावित पार्नसक्ने उद्दण्ड व्यक्तिलाई नै पुरस्कृत गर्ने प्रवृत्ति बस्यो भने भद्रता र शालीनताको खडेरी पर्दै जाने सम्भावना रहन्छ । सभ्यता र अनुशासन हराउँदै जान्छ । राजनीतिक वृत्तमा सधैं उद्दण्डता र अराजकताकै प्रभुत्व कायम रहन्छ । अनि यस्तो उद्दण्ड, अराजक, असभ्य र अराजक राजनीतिबाट जनताले कस्तो सभ्यता, संस्कृति र विकासको अपेक्षा गर्ने ?

राजनीतिको उद्देश्य सत्तामा पुग्नु, सरकार बनाउनु र देश हाँक्नुमात्रै होइन । आमनागरिकलाई सभ्यता र संस्कृति सिकाउनु पनि हो । कर्तव्य, अनुशासनबोध गराउनु हो । दायित्व निर्वाहमा अभिप्रेरित गराउनु हो । अनि धेरै आशा गरेर बसेका जनतालाई विकास र समृद्धि दिनु हो । यसका लागि राजनीति गर्ने, सत्तामा पुग्ने र देश हाँक्नेहरूमा देश र जनताका लागि योगदान गर्नसक्ने अपरिहार्य क्षमता, दक्षता, कार्यकुशलता, असल सभ्यता र संस्कृति हुनुपर्छ । यी गुनहरूभित्र इमानदारी, निष्ठा, कर्तव्य र दायित्वबोध भए सुनमा सुगन्ध हुन्छ । के हाम्रा नेताहरूमा यी गुन र यी विशेषता छन् ?

ढुंगा हानेर सार्वजनिक सम्पत्ति मास्ने अथवा ढुंगा हानेर प्रहरीको टाउको फोर्ने नेतालाई नै पुरस्कृत गर्ने प्रवृत्तिले जनतामा पक्कै राम्रो सन्देश जाँदैन । न त राजनीतिक संस्कार नै सभ्य र सुसंस्कृत बन्दछ । राजनीति यसै दाउपेचको खेल हो । त्यसमा असभ्यता र असंस्कृतिले प्रश्रय पायो भने राजनीति विकृत बन्दछ । राजनीतिभित्र थप बेथिति र विसंगतिले प्रश्रय पाउँछ । राजनीतिको फोहोरी खेल अझै फोहोर बन्दछ । फोहोरी राजनीतिले जनतालाई स्वच्छ सेवासुविधा र सुशासन दिन सक्दैन । यसले जनतामा राजनीतिप्रति वितृष्णा जगाउँछ र नेताहरूप्रति घृणा उत्पन्न गराउँछ ।

त्यही वितृष्णा र घुणाले आमजनतामा राजनीतिप्रति निराशा जन्माउँछ । त्यो निराशाले देशको राजनीतिक प्रक्रियामा जनताको सहभागिता कम हुँदै जान्छ । देशमा हुने विभिन्न निर्वाचनमा अपेक्षित मतदान नहुनुका अरू धेरै कारणहरूमध्ये राजनीतिप्रतिको यही निराशा र वितृष्णा पनि एउटा मुख्य कारणको रूपमा रहेको मान्नुपर्छ ।

यसै पनि राजनीतिले जनअपेक्षालाई पूरा गर्न नसकेपछि जनतामा निराशा र वितृष्णा छाउँछ नै । नेताहरूको असभ्यता, असंस्कृति, उद्दण्डता र अराजकताले जनता झनै निराश हुन्छन् । निराशमात्रै होइन समयक्रममा आक्रोशित पनि हुन्छन् । सामाजिक सञ्जालमा अभिव्यक्त कटाक्ष यही आक्रोशको परिणाम हो भन्न सकिन्छ । गाउँबाट नेताहरू लखेटिनु, पिटिनु र अपमानित हुनु राजनीति र नेतृत्वप्रति निराश र आक्रोशित जनताका प्रतिक्रिया हुन् । त्यसबाहेक अन्यथा हुँदै होइन । नेताहरूले जनअपेक्षालाई बुझेर त्यसलाई शिरोधार्य गरेको भए नेता लखेटिने र पिटिने दिन आउने नै थिएन ।

नेता भनेका जनताका लागि आदर्श पनि हुन्, जसरी विद्यार्थीका लागि गुरु आदर्श हो । नेताको आचरणबाट जनताले धेरै कुरा सिकिरहेका हुन्छन्, ग्रहण गरिरहेका हुन्छन् । यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भनेर आफ्नो पिँढीलाई सिकाइ पनि रहेका हुन्छन् ।

त्याग, तपस्या, समर्पण र योगदानलाई पन्छाएर उद्दण्डता र अराजकताको सहारामा ऐनमौकामा केही सनसनी मच्चाएकै भरमा दरैसँग पुरस्कृत गर्ने राजनीतिक संस्कारले जनतामा नकारात्मक सन्देश प्रवाह हुन्छ । यस्तै सन्देश प्रवाह भइरहँदा आक्रोशित जनताले ‘नेपालमा मन्त्री हुनका लागि चाहिने योग्यता ढुंगा हन्नसक्नु रहेछ । बेकारमा मानिसहरू अनेक विषय लिएर पढ्छन्’ भनेर कटाक्ष गर्न बाध्य भएका हुन् । यसो त ती ढुंगा हान्ने व्यक्तिहरू नपढेका चाहिँ अवश्य होइनन् । बरु तिनले ढुंगा हान्नुका पछाडि तत्कालीन राज्यसत्ताले गरेको व्यवहार मुख्यरूपमा जिम्मेवार थियो । राज्यसत्ताले गरेको असहिष्णु र निरंकुश व्यवहारले आक्रोशित युवाको आक्रोशको परिणाम थियो त्यो ढुंगा प्रहार ।

त्यसैले ढुंगा हान्ने युवालाई मात्रै दोष दिएर एकपक्षीय धारणा बनाउनु पनि पूर्वाग्रहग्रस्त सोचको परिणाम हुनसक्छ । आन्दोलनमा ढुंगा हान्ने मात्रै होइन, हिजो क्रान्तिका बेला खुँडा-खुकुरी र बन्दुक हान्ने युवानेता अहिले राजनीतिक दलका शीर्षनेता भएका छन्, नेतृत्वतहमा पुगेका छन्, मन्त्री र प्रधानमन्त्री पनि बनेका छन् । फेरि यसको अर्थ ढुंगा हान्नु जायज भन्न खोजेको पनि होइन । ढुंगा हान्नु वा बन्दुक हान्नु आन्दोलन र क्रान्तिका बेला हुने कुरा हुन् र राज्यसत्ताको असहिष्णु र निरंकुश व्यवहारका परिणाम हुन् ।

यद्यपि नेता भनेका जनताका लागि आदर्श पनि हुन्, जसरी विद्यार्थीका लागि गुरु आदर्श हो । नेताको आचरणबाट जनताले धेरै कुरा सिकिरहेका हुन्छन्, ग्रहण गरिरहेका हुन्छन् । यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भनेर आफ्नो पिँढीलाई सिकाइ पनि रहेका हुन्छन् । त्यसैले नेताहरूले त्यो आदर्शको मान राख्न सक्नुपर्छ । मनमा अनेकौं सपना र परिवर्तनको चाहना बोकेर कर्मक्षेत्रमा उत्रन आतुर युवावर्गलाई देशको राजनीति र नेताहरूको आचरणले छिटो प्रभाव पार्छ । त्यो प्रभाव सकारात्मक भए देश र समाजका लागि हितकारी हुन्छ, नकारात्मक भए हानिकारक ।

मनमा ठूलो महत्वाकांक्षा बोकेर भविष्यको पर्खाइमा बसेका युवावर्गमा ढुंगा हान्ने उद्दण्ड र अराजक मान्छेले नै ठूल्ठूलो अवसर पाउने र अरू चाहिँ उपेक्षामा पर्ने भन्ने गहिरो प्रभाव प¥यो भने यसले देशमा घोर निराशाको स्थिति उत्पन्न हुन्छ । परिवर्तनका संवाहक युवा विचलित हुनसक्छन् । त्यही परिवर्तनका आकांक्षी युवा दिग्भ्रमित हुन सक्छन् । पथभ्रष्ट हुन सक्छन् । पढ्न, लेख्न, असल नागरिक बन्न र देश निर्माणमा लाग्न छोडेर सबै युवा ढुंगा हान्नमै अभिप्रेरित हुन थाले पनि यो देशको भविष्य के हुन्छ ? आन्दोलनै मात्र भइराख्दैन ? चिन्ताको विषय छ ।

सकारात्मक सन्देशको प्रवाह मन्दगतिमा हुन्छ र यसको ग्रहणशीलता पनि न्यून हुन्छ तर नकारात्मक सन्देशको प्रवाह द्रुतगतिमा हुन्छ र यसको ग्रहणशीलता पनि उच्च हुन्छ । सामाजिक सञ्जालमा नकारात्मक परिणाम दिने सन्देश पनि प्रवाह हुने गरेको छ । ढुंगा हान्दै गरेको तस्वीरले देशको राजनीतिक परिदृश्यले निराश भएका युवामा सोझै नकारात्मक प्रभाव पार्न सक्छ । उनीहरूमा पढ्नु, लेख्नु र सीप सिक्नुभन्दा आन्दोलनमा पसेर ढुंगा हान्नसक्नु नै ठूलो योग्यताको कसीहुँदो रहेछ भन्ने मनोविज्ञानको विकास हुनसक्छ । त्यसैले वास्तविकता नै भए पनि यस्तो नकारात्मक सन्देश प्रवाह गर्ने सामग्रीलाई क्षणिक आवेशमा उत्तेजित भएर सामाजिक सञ्जालमा राख्नुअघि एकपटक सोच्ने हो कि ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?