तानसेन-रिडी सडक भोलीदेखि दैनिक ६ घण्टा बन्द हुने

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पटक-पटक तानसेन-रिडी सडक बन्द हुँदै आएको छ । सडक खण्ड स्तरोन्नती तथा मर्मतका लागि बन्दै सडक डिभिजन कार्यालय पाल्पाले पटक-पटक सडक बन्द गर्दै आएको हो ।

उक्त सडक शनिबारदेखि फेरी दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन-रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गरी साउन २७ गते शनिबारदेखि रातीमा दैनिक ६ घण्टा सडक बन्द गरी निर्माण कार्य गरिने जनाएको छ ।

सडक निर्माणको समय राती १० बजेदेखि विहान ४ बजे सम्म सडक बन्द रहने छ । तोकिएको समय बाहेक सवारी साधनको आवागमनमा असुविधा नपर्ने गरी निर्माण कार्य अगाडि बढाउन कार्यालयले निर्माण व्यवसायीलाई आग्रह समेत गरेको छ । अत्यावश्यक तथा इमरजेन्सी सेवाका सवारी साधनको आवागमनलाई भने तत्काल सडक खुलाई सहज गरिने सूचनामा उल्लेख छ । उक्त समयमा कार्य गर्दा शर्तहरु पालना गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई भनिएको छ ।

सडक बन्द रहने समयमा सवारी साधन व्यवस्थित गरी रोकी राख्ने र त्यसपछि लेन म्यानमार्फत रातो/हरियो झण्डा प्रयोग गरी आलोपालो गरी सहज सवारी आवागमनको व्यवस्था मिलाउनुपर्ने, सडक खन्दा निस्केको सामग्री सवारी आवागमनलाई असर नगर्ने गरी तत्काल हटाउनुपर्ने उल्लेख छ । तानसेन-रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम भइरहेको छ । समयमा कार्य सम्पन्न गर्नका लागि सडक पूर्ण रुपमा बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिनुभयो ।

यस अघि पनि उक्त सडक खण्डको जोर्ते भीर क्षेत्रको पहाड कटान गर्न र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गरिदै आइएको छ तर निर्माण व्यवसायीले भने सुस्त गतिमा काम गरेकाले लामो समयदेखि सडक बन्द गर्ने गरिएको यात्रु र चालकको आरोप छ । सडक बन्द रहेको समयमा साना सवारीले जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न सक्ने छन् तर ठूला सवारी साधन सञ्चालनमा भने समस्या हुने सवारी चालकहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?