रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवासुविधा नलिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताउनु भयो । उहाँले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सम्माननीय सभामुखज्युलाई संसद सुचारु गर्नको निमित्त र लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर हामीले औपचारिक रुपमा पत्र दिएका छौँ । पत्र दर्ता गराएका छौँ की नेपाली जनताका महत्वपूर्ण पक्षमा हामीले कुराकानी गर्नुपर्नेछ र सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल बीचको एउटा खिचातानी छ, संसदीय छानबिन समितिका विषय लिएर मतभेद छ, त्यसलाई अन्त्य गरियोस् र चाँडै संसद खुलाइयोस् भनेर पत्र दर्ता गराएका छौँ र सँगै हामीले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु हुँदैन भनेर हाम्रो दलको तर्फबाट संसद नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छाँै । काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिनेकुरा स्वीकार्य छैन । संसद अवरुद्ध भएको बेलामा प्राप्त हुने तलव सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौँ ।’

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताउनु भयो ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?