मेरो लेखनमा राष्ट्रिय भाव प्रमुख रहेको हुन्छ : टेक तामाङ, साहित्यकार

गीता अधिकारी
Read Time = 11 mins

नेपाल प्रहरीमा रहेर राष्ट्रसेवामा आफूलाई हरपल तल्लीन बनाउनुहुने अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको अर्को उच्च परिचय हो साहित्यकार । उहाँको कलमबाट थुप्रै सिर्जना सिर्जित भएका छन् । भोजपुरको हेलौंछामा जन्मिनुभएका तामाङले साहित्य क्षेत्रमा टेक तामाङको नामबाट आफ्नो परिचय उचो बनाउनुभएको छ । पिता भीमबहादुर तामाङ र माता फूलमाया तामाङको कोखबाट जन्मिनुभएका उहाँको प्रारम्भिक शिक्षा भोजपुर कालिका निमाविमा भएको थियो भने सदरमुकामको विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । एसएलसीमा जिल्ला प्रथम हुनुभएका उहाँले पुल्चोक क्याम्पसबाट सिभिल इञ्जिनियरिङ अध्ययन गर्नुभयो भने माष्टर डिग्री व्यवस्थापनमा गर्नुभयो । केही समय शिक्षण सेवामा रहनुभएका उहाँ २०५२ सालबाट प्रहरी सेवामा हुनुहुन्छ । कविता लेखनबाट साहित्यतर्फ लगाव बढेको बताउनुहुने तामाङले विसं. २०५० सालमा पहिलो गीत ‘छाल आउँदा सम्झनाको’ श्रोतामाझ पस्किनुभएको थियो । सयांै गीतका सर्जक तामाङका ‘माटोको आवाज’ राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह, ‘स्वदेश’ राष्ट्रिय भावधाराका गीतसंग्रह, ‘जीवनसाथी’ आधुनिक गीतसंग्रह, ‘आमा’ आधुनिक गीतसंग्रह, ‘नाता’ आधुनिक गीतसंग्रह, ‘भक्तिसागर’ भजनसंग्रह, ‘नेपाल आमा’ राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि प्रकाशनको पालो कुरेर बसेका छन् । राष्ट्रिय भावधाराका सिर्जनामा अलिक बढी कलम चलाउनुहुने स्रष्टा टेक तामाङले विविध क्षेत्रमा कलम चलाउनुभएको छ । आफ्नो लेखनमा राष्ट्रिय भाव प्रमुख रहेको हुन्छ भन्नुहुने साहित्यकार टेक तामाङसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

यतिबेला के गर्दै हुनुुहुन्छ ?
हाल गीत लेखन अलिक कम भएको छ । कहिलेकाहीँ लेख्छु । पुराना गीतको भण्डार छ । राजेश पायल राईको स्वर, वसन्त सापकोटाको संगीतमा रहेको सरोज वलीको निर्माणमा गीत आउँदैछ । यस्तै, आलोकश्रीको संगीत, अस्मिता अधिकारीको स्वरमा मारुनी भाकाको गीतको भिडियो म्युजिक नेपालबाट आउँदैछ । त्यस्तै, रूपकुमार राईको स्वर, भुपेन्द्र रायमाझीको संगीतमा रहेको राष्ट्रिय गीत छिट्टै श्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छौँ ।

यहाँको साहित्य सिर्जनाको पहिलो गीत थियो कि कविता ? साहित्यतर्फ लगाव कहिलेदेखि भयो ?
मैले गीतभन्दा पहिला कविता लेखेँ । विद्यालय जीवनमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थँे । एसएलसीपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाका थुप्रै कृति पढेँ । रेडियो नेपालमा भजन, गीत सुन्दै साहित्यतर्फ रुचि बढ्यो ।

गीत कहिलेदेखि लेख्नुभयो, पहिलो सार्वजनिक भएको गीतको सम्झना छ ?
एसएलसीपछि नै गीत लेखेको हुँ । विसं. २०५० सालमा पहिलो गीत ‘छाल आउँदा सम्झनाको’ अभय क्षेत्रीको संगीत र केदार गोलेको स्वरमा आयो म्युजिक नेपालबाट ।

प्रहरी सेवामा कहिलेदेखि आउनुभयो ?
म २०५२ सालमा प्रहरीमा आएँ ।

प्राकृतिक सुन्दरतामा नेपाल अब्बल छ । प्रणालीको विकासमा पछि छौँ हामी । प्रणालीको विकासमा अगाडि भएका देश हेर्दा यस्तै होस् भन्ने भाव मनमा आइरहन्छ । जुन भाव राष्ट्रिय गीतमा पोखिन्छन् । विकसित देशलाई हेर्दा नेपाललाई यस्तैै पार्न पाए हुने भन्ने लाग्छ र गीतमा पोखिन्छु । भाषा, साहित्य, कला, संस्कृति, संगीत देशको स्पन्दन हो । भुगोलले मात्र हुँदैन संस्कृतिले देश बाँच्छ । हाम्रो आफ्नो कला, साहित्य, गीत-संगीतलाई सबैले माया गरौँ ।

प्रहरी सेवामा आएपछि साहित्य सिर्जनालाई कसरी अगाडि बढाउनुभयो ?
प्रहरी सेवामा आएपछि लेख्ने काम जारी रहे पनि केही कमी भने आयो । ०५५-०६५ सम्म रोकियो नै भन्नुपर्ला । ०६६ मा शान्ति मिसनमा गएँ । किशोर खतिवडा, राजन अधिकारीले लेखौँ भनेर कर गरेर पुनः लेख्न सुरु भयो । ‘माटाको आवाज’ राष्ट्रिय भावधाराको गीत तथा कवितासंग्रह आयो २०६७ मा । यस्तै, पहिलो एल्बम ‘स्वेदश’ २०६७ मा आयो । त्यस्तै, २०६९ मा आधुनिक गीतिसंग्रह ‘जीवन साथी’ आयो । त्यसैगरी २०७० मा आधुनिक गीतिसंग्रह ‘आमा’ आयो । २०७५ मा आधुनिक गीतिसंग्रह ‘नाता’ आयो । त्यस्तै, २०७८ मा भजनसंग्रह ‘भक्तिसागर’ आएको छ । पुराना गीतको भण्डारलाई नै विस्तारै ल्याउने योजना छ ।

गीत लेखनमा कस्ता विषयवस्तु समेट्नुहुन्छ ?
मेरो गीत लेखनमा राष्ट्रिय भाव प्रमुख रहेको हुन्छ । यस्तै प्रेम भाव र ईश्वर भक्तिभावलाई समेट्छु ।

यहाँको गीत लेखनमा कुनै वर्गविशेषलाई लक्षित हुन्छ कि ?
छैन त्यस्तो । राष्ट्रिय गीतमा माटो मुख्य हो, सबैभन्दा ठूलो कुरा देश हो । जति पुस्ता विदेश बसे पनि नेपाली नै हुन्छ । राष्ट्रलाई माया गर्नुपर्छ । प्रेम भावमा समर्पण भाव मुख्य हुन्छ । त्यसैमा लेख्छु ।

लेखनमा बिम्बको प्रयोग कत्तिको महत्वपूर्ण हुन्छ ?
साहित्य लेखनमा एकदमै महत्वपूर्ण छ । साहित्य सिधा हुन्छ बिम्बबिना । प्राकृतिक सौन्दर्यका साथै विविध पक्षलाई प्रयोग गरिन्छ ।

प्रहरी सेवामा दिनरात खटिनुहुन्छ, यहाँको लेखनलाई कुनै निश्चित समय हुन्छ कि ?
लेखन भनेको मनमा भाव आउने कुरा रहेछ । परिस्थिति अनुकूल भयो भने जति बेला पनि लेखिन्छ । भएन भने मनमा आएका भावलाई सम्झिएर प्रायः रातको समयमा लेख्छु । राष्ट्रिय गीत वा अन्य लेख्दा कहिलेकाहीँ भावनामा डुब्छु, कहिले डुल्छु ।

नेपाली गीत-संगीतको पछिल्लो अवस्थालाई कसरी लिनुहुन्छ ?
अहिलेको गीत-संगीतको बजार राम्रै छ । तर, विज्ञापनको जमाना आयो । स्वस्थभन्दा अस्वस्थ प्रतिस्पर्धा भएजस्तो लाग्छ । लगानी डुब्छ । बुस्ट गर्नुपर्छ । नेपाली बजार सीमित छ ।

गीत के हो ?
गीत मनको लयात्मक भाव हो । जसलाई गाउन सकिन्छ ।

जीवन के हो ?
जीवन कालखण्ड हो । त्यसमा सबैका आ-आफ्नै भोगाइ हुन्छन् । जीवन जिउने तरिका आ-आफ्नै हुन्छन् । सकेसम्म सिर्जनशील, परोपकारी भयो भने चेतनशील भएको नाताले मानव जीवन अर्थपूर्ण हुन्छ ।

विदेशका विभिन्न ठाउँ पुग्नुभएको छ, त्यहाँ पुग्दा यहाँको मनमा कस्ता भाव आउने गर्छन् ?
प्राकृतिक सुन्दरतामा नेपाल अब्बल छ । प्रणालीको विकासमा पछि छौँ हामी । प्रणालीको विकासमा अगाडि भएका देश हेर्दा यस्तै होस् भन्ने भाव मनमा आइरहन्छ । जुन भाव राष्ट्रिय गीतमा पोखिन्छन् । विकसित देशलाई हेर्दा नेपाललाई यस्तै पार्न पाए हुने भन्ने लाग्छ र गीतमा पोखिन्छु ।

अन्त्यमा ?
सिजर्ना कर्ममा लागेका व्यक्तिलाई कभर गरेकोमा हिमालय टाइम्सप्रति आभार व्यक्त गर्दछु । भाषा, साहित्य, कला, संस्कृति, संगीत देशको स्पन्दन हो । भुगोलले मात्र हुँदैन, संस्कृतिले देश बाँच्छ । हाम्रो आफ्नो कला, साहित्य, गीत-संगीतलाई सबैले माया गरौँ । यही सबैलाई अनुरोध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?