उपभोक्ता महासंघद्वारा उपभोक्ता अदालतको माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले उपभोक्ताका समस्या, मूल्यवृद्धि नियन्त्रणलगायतका माग अघि सारेको छ । महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरी कुनै काम नहुने मानसिकताको विकास भएको बताउनुभयो । अधिवक्ता विष्णु गिरीले महासंघ साँच्चिकै नेपाली उपभोक्ता हकहित र अधिकारका लागि स्थापना भएको दाबी गर्दै महांसघ संगठित रूपमा उदाएको जिकिर गर्नुभयो ।

महासंघका चन्द्र साउदले नेपालीहरूले स्वस्थ खाना खान पाउनुपर्ने र स्वस्थ प्रतिस्पर्धा गर्न पाउनुपर्ने भन्दै देशमा भ्रष्टाचार र कालोबजारी निर्मूल हुनुपर्ने बताउनुभयो । अधिकारसम्पन्न उपभोक्ता समिति र उपभोक्ता मन्त्रालय गठन हुनुपर्ने उहाँको भनाइ थियो । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठनको आदेश दिए पनि सरकारले नमानेको उहाँले बताउनुभयो ।

पूर्वमेयर दुर्गाकुमार थापा, वातावरणविद् डा. सागर ढकालले महासंघले नेपाली माटो सुहाउँदो कार्यक्रम गर्न खोजेको र त्यसमा सबैले सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा महासंघ उपाध्यक्ष लक्ष्मी शर्मा, उपाध्यक्ष अजय महतो, उपमहासचिव तथा प्रवक्ता लोमणि कार्कीलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?