टर्कीको अन्ताल्या एयरपोर्ट पर्यटकको रोजाइमा परेपछि थप बिस्तार गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

अंकारा । टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ । दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो । पछिल्लो वर्षहरूमा विश्वका धनाढ्यहरूको आकर्षक गन्तव्य बनिरहेको अन्ताल्यालाई टर्की सरकारले पुनःनिर्माण र बिस्तार गरिरहेको हो ।

अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थलले अहिले चार करोड यात्रुलाई  सेवा दिइरहेको छ भने पुनःनिर्माण पछि यो दोब्बर हुनेछ । निर्माण सम्पन्न भइसकेपछि वार्षिक आठ करोड यात्रुलाई सेवा दिन सक्षम हुनेछ ।

जनवरी २०२२ मा शुरु भएको पुनः निर्माण कार्य जनवरी २०२५ सम्ममा सम्पन्न हुनेछ । परियोजनाको पहिलो चरणमा नयाँ रनवे, टर्मिनल भवन र कार्गो ह्याण्डलिङ सुविधाको निर्माण गरिने एयरपोर्ट बिस्तारको नेतृत्व गरिरहेको कम्पनी टाभ कन्स्ट्रक्शनका परियोजना निर्देशक एर्डोगान काराबाकाकले बताउनु भयो । टर्कीलाई युरोप र एशियासँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

यो परियोजनालाई आंशिक रूपमा एशियाली पूर्वाधार लगानी बैंकले १५३.६ मिलियन अमेरिकी डलर ऋण दिएको छ । टर्की सरकारको महत्वाकांक्षी योजना मध्यको अन्ताल्या विमानस्थलको बिस्तार पर्यटन प्रवद्र्धन र वैदेशिक मुद्रा आर्जन गर्न अगाडी बढाइएको ठूलो प्रयास हो । टर्की सरकारका अनुसार २०२२ मा चार करोड २० लाख विदेशी पर्यटकहरूले अन्ताल्या विमानस्थल प्रयोग गरेका र तीन अर्ब ४० करोड अमेरिकी डलर राजश्व संकलन भएको बताइएको छ ।

अन्ताल्या एयरपोर्टका प्रमुख प्रवन्धक दुर्डाली सावकारले अन्ताल्या विमानस्थललाई वर्षभर नै पर्यटक आउन सक्नेगरी कार्यक्रमहरू बनाइरहेको बताउनुभयो । अन्ताल्या एयरपोर्टको बिस्तारले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिने उहाँको विश्वास छ । देशको कुल गार्हस्थ्य उत्पादनमा करिव १० प्रतिशत योगदान र लगभग १७ लाख मानिसहरूलाई रोजगार दिनसक्ने अन्ताल्या एयरपोर्ट प्रमुख प्रवन्धक सावकारले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?