काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी पुगेका चार सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । जेलमा पर्ने महिला पनि रहेको र महिलाको संख्या भने यकिन नभएको दूतावासको भनाइ छ ।
जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेको साउदीको अध्यागमन विभागबाट सूचना पाएको दूतावासले जनाएको छ । साउदीको कानुन मिचेर काम गरेका कारण रोजगारीमा जाने धेरै नेपाली कामदार जेल पर्ने गरेको साउदीस्थित नेपाली राजदूत नवराज सुवेदी बताउनुहुन्छ । जेलमा पर्नुको मुख्य कारण छोटो बाटोबाट कमाउनतिर लाग्नु र अवैध धन्दामा संलग्न हुनु नै भएको उहाँको भनाइ छ । राजदूत सुवेदीले भन्नुभयो, ‘नियमविपरीत काम गरेको आरोपमा धेरै जेल परेका छन् । छोटो समयमा धेरै पैसा कमाउने लोभमा कानुनविपरीत काम गर्दा जेल परेका हुन् । कतिपय निर्दोष नेपाली सामान्य समस्यामा जेल परेका छन् । मदिरा, लागूऔषधमा पनि साउदीमा कडा नियम रहेको छ ।’
रोजगारीका लागि साउदी पुगेका वार्षिक १२ हजारभन्दा बढी नेपाली कामदार कम्पनी छाडेर भाग्ने गरेको दूतावासले जनाएको छ ।
रक्सी ओसारपसार कार्यमा जेल परेका र जेल अवधि समाप्तिपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्किएका नेपाली पुनः साउदी जान नपाउने कानुनी व्यवस्था छ ।
वार्षिक १२ हजार बढी कम्पनी छाडेर भाग्छन्
रोजगारीका लागि साउदी पुगेका वार्षिक १२ हजारभन्दा बढी नेपाली कामदार कम्पनी छाडेर भाग्ने गरेको दूतावासले जनाएको छ । विभिन्न कम्पनीमा कार्यरत कामदार सेवा, सुविधा र तलबको लोभमा परी कम्पनी छोडेर भाग्ने गरेका हुन् । साउदीमा बिनाजानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुनअनुसार कामदारले पाउने सेवा सुविधाबाट कटौती हुन्छ भने कम्पनी छाडेर भागेका कामदार अवैधानिक हुन्छन् । कम्पनी छाडेर भागेका कामदारले जबसम्म एक्जिट लगाउँदैनन्, तबसम्म स्वदेश फिर्ता हुन पाउँदैनन् । साउदी सरकारले अवैध कामदारलाई आममाफी दिए मात्र त्यस्ता कामदार स्वदेश फर्किन पाउँछन् ।
साउदीमा कार्यरत कामदारले कम्पनीले भनेजति पारिश्रमिक नदिने, आपत्कालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने गरेको र कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र (अकामा) उपलब्ध नगराउने गुनासोसँगै उजुरी दैनिक आउने गरेको दूतावासले जनाएको छ । उल्लेखित समस्याका कारण पनि धेरै नेपाली कम्पनी छाडेर भाग्ने गरेको दूतावासको भनाइ छ ।
साउदीमा कम्पनी छोडेर भाग्ने नेपालीको संख्या पनि दैनिक बढ्दै गएको राजदूत सुवेदी बताउनुहुन्छ । समस्याबारेमा सम्बन्धित कम्पनी र साउदीका सम्बन्धित निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । साउदीमा अवैध रूपमा बसेका नेपाली कामदारलाई दूतावासले एक्जिट भिसा लगाएर स्वदेश फर्काउने कामसमेत गर्दै आएको छ । गत आर्थिक वर्षमा एक्जिट भिसामार्फत् दुई हजार बढी नेपाली कामदार स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार एक्जिट भिसाका वार्षिक पाँच हजार बढी नेपालीको आवेदन आउने गरेको छ । एक्जिट भिसा लगाएको दुई महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियमअनुसार १-२-३ हजार रियाल जरिवाना थपिँदै जाने व्यवस्था छ । विभिन्न देश वैदेशिक रोजगारीमा पुगेका नेपाली सम्बन्धित देशको कार्यक्षेत्रमा झै-झगडा गर्दा, मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्दा, जथाभावी केटी जिस्काउँदा र अनैतिक कार्य गर्दा कानुनी झमेलामा परेर जेलसम्म पुग्ने गरेका छन् । हाल रोजगारीका लागि गएका नेपालीहरू खाडीका देश र मलेसियामा मात्र एक हजार बढी जेलमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच