भोजपुरमा बनेको नयाँ रंगशाला प्रयोगमा आएन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर  । खेल मैदान नहुँदा खेलकुद गतिविधि प्रभावित भएको अवस्थामा भोजपुरमा बनेको नयाँ रंगाशाला समेत प्रयोगमा आउन सकेको छैन ।
तत्कालिन जिल्ला विकास समितिले रंगशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको स्थानमा बनेको अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न मिल्ने रंगशाला प्रयोगमा आउन नसकेको हो । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने साना देखि ठुला प्रतियोगिताहरु संचालन भई रहेको अवस्थामा सुबिधा सम्पन्न रंगाशाला बने पछि सहजता होला भनिएता पनि रंगशालाको स्वामित्व कस्ले दिएर संचालन गर्ने बिषय टुंगो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटवल संघका महासचिव सफल किराँतले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा बनेको रंगशाला प्रयोगमा ल्याउने बिषयमा टुंगो लाग्न सकेन, यस बिषयमा सर्वपक्षिय बैठकको जरुरी देखिएको छ ।”

प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रंगशालाको निर्माण कार्य भई सकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रंगशाला निर्माणको काम गरेको हो । करिव पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीहरुमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीय सुवेन्द्र महतले बताउनुभयो ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तरका फुटवल प्रतियोगिताहरु समेत भर्ई रहेको अवस्थामा रंगशालाको निर्माणले खेल मैदानको समस्या दीर्घकालिनरुपमा समाधान भएको भए पनि संचालनका बिषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाई रहेको छ । महतले भन्नुभयो, “रंगशाला निर्मााणका लागि कृषि योग्य जमिन समेत मासिएको छ, राज्यको करोडौ लगानीमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको रंगशाला लथालिङ अवस्थामा छाड्नु कतिको जायज हुन्छ ।” निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाडने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ? महतले प्रतिप्रश्न समेत गर्नुभयो ।

रंगाशालाको अभावमा प्रतियोगिता संचालनमा समस्या देखिएको अवस्थामा रंगशाला निर्माण भएको बताउँदै खेल अभियन्ता बिनम श्रेष्ठले भन्नुभयो, “खेल मैदान सानो हुदाँ ११ जना खेलाडीले खेल्न पाउने फुटवल पनि ९ जनालाई मात्र खेलाउनु पर्ने अवस्था छ, करौडोका लागतमा बनेको रंगाशाला प्रयोगमा ल्याउने बिषयमा पनि कसैको चासो छैन ।”

जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रंगशाला निर्माण पनि भएको छ, अव संचालनको बातावरण कसले मिलाउने हो, स्थानीय युवा तुफान किराँतले भन्नुभयो । बिभिन्न निकायमा रंगशाला प्रयोगका बिषयमा कुरा उठाउँदा समेत सुनुवाई नभएको किराँतको गुनासो रहेको छ । उचित भौतिक संरचनाको निर्माण कार्य नहुदाँ यहाँका खेलाडीहरु सदरमुकाममा रहेको स्थानीय टुँिडखेलको सानो मैदानमा प्रतियोगिताहरु खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टनका खेलाडीहरु बिकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङ लगायतका खेलाडीहरु भोजपुरका नै भएको अवस्थामा जिल्लामा ब्यवस्थित रंगशालाको भने अभाव थियो ।

भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचनाहरु जिल्लामा निर्माण हुने क्रम बढेको बताउनुभयो । सुवालले बनेका संरचनाहरु संचालन आउने र बन्न बाँकी संरचनाहरु सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?