सुन प्रकरणमा आफ्नै नेता फस्ने देखिएपछि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन अनिच्छुक : महासचिव पोखरेल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्ड बारे उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म एमालेको बिरोध रहिरहने बताउनु भएको छ ।

एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफैँ सुन प्रकरणमा संलग्न भएको पुष्टि हुन लागेका कारण उच्चस्तरीय छानबिन आवश्यक छैन भनिरहेको आरोप लगाउनु भएको छ ।

महासचिव पोखरेलले सरकारको नेतृत्व कर्ता माओवादी केन्द्र र नेपाली काँग्रेसका नेताहरुसमेत सुन प्रकरणमा फस्ने देखिएपछि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन अनिच्छुक रहेको दावी गर्नुभयो ।

नेकपा एमालेसहितका दलहरु र देशभरी नै उच्चस्तरीय छानबिनको आवाज उठिरहँदा समेत सरकार उच्च स्तरिय छानबिन समिति बनाउन अनिच्छुक देखिदाँ आफै यस प्रकरणमा संलग्न रहेको पुष्टि हुने पोखरेलको भनाई थियो ।

सरकारमा रहेका र तिनका नेताहरुलाई जोगाउन सरकार अनेक प्रपञ्च रचिरहेको पोखरेलले बताउनु भयो । उच्च स्तरिय छानबिनको आवाज उठाउँदा बिभिन्न आरोप लगाउँदै एमालेलाई कमजोर पारेर सरकार सुन काण्डबाट जोगिन खोजिरहेको उहाँले बताउनु भयो । जबसम्म सुनकाण्डको छानबिनका लागि उच्चस्तरिय छानबिन समिति गठन हुँदैन तबसम्म एमालेको संसद अवरोधसंगै सघंर्षका कार्यक्रम जारी रहने महासचिव पोखरेलले बताउनु भयो ।

पोखरेलले देशमा देखिएको आर्थिक संकट युक्रेन/रसिया युद्धको कुनै प्रभाव नरहेको दावी गर्नुभयो । युक्रेन/रसिया संग नेपालको ब्यापार नभएको अवस्थामा त्यहाँको युद्धले अर्थतन्त्रमा कुनै प्रभाव नपार्ने उहाँको भनाई छ । बर्तमान गठबन्धन सरकारकै कारण देशमा आर्थिक संकट देखिएको उहाँले बताउनुभयो ।

बर्तमान सरकार माफिया र तस्करहरुलाई पोस्ने काम गरिरहेका कारण आर्थिक संकट सुधार हुन नसकेको उहाँले बताउनु भयो । चोर बाटोबाट बिदेशी समान भित्र्याउन तस्करहरुसंग सरकारनै मिलेका कारण राजश्वमा ठुलो गिरावट आएर आर्थिक संकट श्रृजना भएको पोखरेलले बताउनु भयो ।

महासचिव पोखरेलले देशको आर्थिक संकट हटाएर सम्बृद्धी ल्याउने पार्टी एमाले मात्रै भएका कारण २०८४ मा एकल सरकार बनाउने गरी लाग्न कार्यक्रताहरुलाई निर्देशन दिनुभयो । एमालेले सरकार चलाएका बेला र अहिलेको देशको स्थिती बारे जनताले राम्रोसंग बुझ्न जरुरी रहेको उहाँको भनाई थियो । एमाले जनताका मुद्धा उठाएर सदन र सडकमा जाने बताउँदै पोखरेलले २०८४ मा एकल सरकार चलाउने दावी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?