कर्मचारीको काम गर्ने शैलीप्रति प्रधानमन्त्रीको आक्रोश

तलब खुवाउन दातृ निकाय गुहार्नुपर्ने अवस्था छ, तर स्थायी सरकारले कामै गर्दैन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको रबैयाप्रति आक्रोश पोख्नुभएको छ । बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीबाट काम हुन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने अवस्था हुँदासम्म पनि काम गर्ने शैलीमा परिवर्तन हुन नसकेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले ब्युरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नबढ्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले पहिला देशको दुर्गतिको कारण पहिल्याउन आवश्यक रहेको भन्दै देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ ।

प्रधानमन्त्री देउवाले राजनीतिक दलहरू पाँच वर्षका लागि मात्र रहने तर कर्मचारी सधैँका लागि रहने भन्दै कर्मचारीले आफ्नो रबैयामा परिवर्तन ल्याउन सुझाव दिनुभयो । कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहेकै कारण उल्लेख्य काम हुन नसकेको बुझाई उहाँको छ । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलासमेत देश विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी त पाँच वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपार्इंहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ । एउटा बाटा बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इञ्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ ।’

कर्मचारीतन्त्रले सहयोग नगरे कुनै पनि देश अघि बढ्न नसक्ने उहाँको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, ‘ब्युरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोक्रेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इञ्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ ।’

प्रधानमन्त्री देउवाले कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने प्रष्ट पार्नुभयो । सबै ठाउँमा जिम्मेवार भएर काम गर्न उहाँले कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले देश विकासका लागि काम गर्न कर्मचारीहरूलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?