संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रपतिको चासो

सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग छलफल गर्ने

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । सत्ता गठबन्धनले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग संवाद गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो । बैठकमा सदन सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।’

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट पास भइसकेर सिनामंगलबाट साउन ३ गते समातिएको एक क्विन्टल सुन प्रकरणपछि त्यसबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । १० साउनपछि संघीय संसद्का दुवै सदनहरू नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन् । सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बैठकमा जवाफ दिइसकेको भए पनि एमाले उच्चस्तरीय छानविन समिति गठनको अडानबाट पछि हटेको छैन । सत्ता गठबन्धनले भने यस प्रकरणमा उच्चस्तरीय छानविन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ । बैैठकमा सर्वोच्च अदालतले बालुवाटारको ललितानिवास जग्गा प्रकरणका अनुसन्धान गर्न भनेको सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।

राष्ट्रपति र एमाले अध्यक्षबीच छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन चासो लिनुभएको छ । संसद्मा जारी गतिरोध खुलाउने विषयमा राष्ट्रपति पौडेलले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो । राष्ट्रपति पौडेलको आमन्त्रणमा शीतलनिवास पुग्नुभएका एमाले अध्यक्ष ओली र पौडेलबीच करिब एकघण्टा छलफल भएको थियो । भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको थियो । ओलीसँगको छलफलबारे राष्ट्रपतिको सचिवालयले भनेको छ, ‘राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूका बीचमा विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव दिनुभएको छ । संसद् अवरुद्ध छ । त्यही खुलाउने विषयमा राष्ट्रपतिज्यूले चासो व्यक्त गर्नुभएको हो ।’ यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । यस्तै, राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राख्नुभएको थियो ।

सत्तापक्षको जबरजस्तीले संसद् अवरुद्ध छ : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध पारेर राखेको आरोप लगाउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुने सुझाव दिनुभएको जानकारी दिनुभयो । सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनँे । संसद् अवरोध गर्नुहुँदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’

संसद् अवरोध जारी रहन्छ : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्डबारे उच्चस्तरीय छानविन समिति गठन नहुँदासम्म एमालेको विरोध रहिरहने बताउनुभएको छ । सरकार आफैँ सुन प्रकरणमा संलग्न भएको पुष्टि हुन लागेकाले उच्चस्तरीय छानविन आवश्यक रहेको उहाँको जिकिर छ । सुनकाण्डको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन नभएसम्म एमालेको संसद् अवरोधसँगै सघंर्षका कार्यक्रम जारी रहने महासचिव पोखरेलले जानकारी दिनुभयो । महासचिव पोखरेलले सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र नेपाली कांग्रेसका नेतासमेत सुन प्रकरणमा फस्ने देखिएपछि सरकार छानविन समिति बनाउन अनिच्छुक रहेको आरोपसमेत लगाउनुभयो ।

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ
६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुँवेर कठायतका अनुसार पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरूलाई राजस्व छली तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । राजस्व अनुसन्धान विभागले ३ साउनमा सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । तर, मंगलबार गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो ।

विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्युरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सिआइबीले छाडेको छ । जोङ छ्याङ चाहिएको बेला उपस्थित हुने गरी छुटेका छन् भने झाओ हुई र ताङ जिङको साथमा ३१ लाख ८० हजार रुपैयाँ बरामद भएकाले थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सिआइबीलाई अनुसन्धानको सम्पूर्ण विवरण जिम्मा लगाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?