प्रतापपुरमा वन कार्यालयकाे आदेश नलिइ रुख कटान

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा कटान आदेश विना रुख कटान गरिएको छ । प्रतापपुर-९ स्थित एकता सार्वजनिक जग्गा व्यवस्थापन समितिले गण्डक नहर क्षेत्रमा लगाइएको ४९ वटा बबुरको रुख कटान आदेश विना नै कटान गरी विक्रि वितरणको लागि संकलन गरेको हो ।

समितिले हावाहुरीबाट आफै ढलेको तथा सुकेको रुख कटान गरिएको दावी गरेको छ । समितिका अध्यक्ष खेम नारायण चौधरीले विरुवाहरु आफूहरुले २०६५ भदौ २३ गते रोपेको बताउनु भयो । उहाँ भन्नुहुन्छ - 'अहिलेको जेठ र असारमा आएको हावाहुरीले ति रुखहरु ढलेका र तिनै ढलेका र सुकेका रुखहरुलाई कटान गरिएको हो ।'

समितिका अध्यक्ष चौधरीले ढलेका र सुकेका रुख काटेको दाबी गरेपनि डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले भने त्यसरी ढलापढा र सुकेको रुखहरुको कटान गर्न कटान आदेश लिनु पर्ने बताउनु भयो । काठ दाउरा संकलनको लागि समितिले निर्णय गरी कार्यालयमा प्राविधिकसहितको सहयोग माग्नुपर्ने जिल्ला बन कार्यालय प्रमुख महेन्द्र वाग्लेले बताउनु भयो । उहाँले भन्नुभयाे - 'समितिले वन कार्यालयसँग कुनै पनि समन्वय नगरी आफूखुसी कटान तथा संकलन गरेको हामीले त रुख कटान भएपछि मात्रै थाहा पायौं ।'

जिल्ला बन कार्यालयले प्राबिधिक टोलि पठाएको र प्रतिबेदन आए अनुसारले अगाडि बढ्ने बाग्लेको भनाइ छ ।

वन ऎन अनुसार रुख कटान गर्न वन कार्यालयले छपान गरी लगत संकलन पश्चात कटान आदेश दिने व्यवस्था रहेको छ । वन कार्यालयले टाँचा लगाउन कर्मचारी खटाउने र ढुवानी पुर्जी जारी गरेपछि मात्रै विक्रि वितरणका लागि घाटगद्दी गर्न पाउने व्यवस्था रहेको छ । तर ऎनमा भएको कुनै पनि कुरा प्रक्रिया समितिले पूरा गरेको छैन । समितिले कानुनी भन्दा पनि व्यवहारिक भएर आफूखुसी कटान गरी विक्रि वितरणको तयारी गरेको प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालयका प्रमुख चिनबहादुर यादवले बताउनुभयो । संकलन गरिएको काठ दाउरा वन ऐन बमोजिम आफूहरुले जफत गर्ने क्रममा त्यहाँका स्थानियहरुले अवरोध गरेको यादवले बताउनु भयो ।

एकता सार्वजनिक जग्गा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले ढलेको स्थानबाट काठ दाउरा चोरी हुने सम्भावना भएकाले आफूहरुले काठ दाउरा संकलन गरेको बताउनुभयो । काठ दाउरा जोगाउन नसकिने अवस्था आएपछि प्रक्रिया पुरा नगरी संकलन गरिएको उहाँले स्वीकार्नुभएको छ । एकता सार्वजनिक जग्गा व्यवस्थापन समितिका पदाधिकारी र स्थानियहरुले काठ दाउरा संकलनमा अवरोध गरेपछि विहीबार विहान प्रतापपुर गाउँपालिका, प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालयका प्रतिनिधिहरु तथा स्थानियहरुको बिच छलफल भएको प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो । यादवले भन्नुभयाे- 'स्थानीय र बन कार्यालयका कर्मचारी बीच विवाद हुने देखेपछि हामीले छलफल गर्‍यौं र वडा नम्वर ९ को वडा कार्यालयमा जिम्मा लगाउने सहमति गरेका छौँ ।'

पश्चिमि गण्डक नहर सिँचाई प्रणालीले एकता सार्वजनिक जग्गा व्यवस्थापन समितिलाई उक्त जग्गा लिजमा दिएको थियो । लिजको सम्झौता अनुसार काठ दाउराको आम्दानीबाट ३० प्रतिशत गण्डक नहर सिचाइ प्रणालीलाई र ७० प्रतिशत समितिमा रहने उल्लेख रहेको छ । पश्चिमि गण्डक नहर सिँचाइ प्रणाली अध्यक्ष हैदर अलि मोमिनले वन कार्यालयबाट प्राविधिक सहयोग नलिनु गलत भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?