‘चीन र दक्षिण एसियाली क्षेत्र जोड्ने पुल हो नेपाल’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलका रूपमा रहेकाले यस क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको छ । चीनको कुन्मिङमा आयोजित १६औँ चीन-दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रूपमा सम्बोधन गर्दै उहाँले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सम्बोधन गर्र्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तरनिर्भरतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र विद्यमान चुनौतीहरूलाई समाधान गर्न सकिने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान, पर्यटन प्रवद्र्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागिसमेत आहृवान गर्नुभयो ।

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सिर्जना गरेको महामारी र आपूर्ति शृंखलामा देखापरेका अवरोधबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनुपर्ने पनि अध्यक्ष ढकालले बताउनुभयो । दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालको भनाइ थियो ।

दक्षिण एसियाको जनसांख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने भन्दै यसबाट दक्षिण एसियाली मुलुक र चीनबीचको अन्तरक्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने बताउनुभयो । डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक शृंखलाको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादनलगायतका महत्वपूर्ण क्षेत्रमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपालसहित दक्षिण एसियाले लाभ लिन सक्ने उहाँको भनाइ थियोे ।

दक्षिण एसिया र चीनबीचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको प्रतिबद्धता दोहोर्‍याउँदै ढकालले नेपालमा रहेका लगानीका अवसरको उपयोग गर्न पनि लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष ढकालले चीन-दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबीचको आर्थिक सम्बन्ध, व्यावसायिक संस्था र सरकारी निकायबीचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमका रूपमा काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?