मोतीराज बम
नेपाली कांग्रेसमा यतिखेर रूपान्तरण र पुस्तान्तरणको बहस घनीभूत ढंगले उठिरहेको छ । खासगरी नेपाली कांग्र्रेसका युवा राजनीतिज्ञहरू र स्वतन्त्र बुद्धिजीवहरू यस विषयमा बढी क्रियाशील देखिन्छन् । बहुप्रतिक्षित र बहुआलोचनाका प्रहार खेप्दै भरखरै सम्पन्न भएको केन्द्रीय समितिको बैठकले समेत झिनो रूपमा उच्चारण नगरेको विषयलाई राजनीतिक मार्केटमा बाक्लै ढंगले उठाइदा कांग्रेस वृत्तमा भने एक खालको तरंग पैदा भएको छ । यस विषयमा चासो राख्ने र नराख्नेहरूका मात्र होइनन् यो फुर्सदिला व्यक्तिहरूको समय कटान र दन्तबझानमात्र हो यस बहसले खासै अर्थ राख्दैन भन्नेहरूका पनि बोधा कानहरू ठाड्ठाडा भएका छन् ।
नेका केन्द्रीय समितिले बैठकका सम्पूर्ण दृश्यहरू लाइभ गरेर स्यावासी पाएको र अन्य पार्टीलाई समेत झक्झक्याएको परिप्रेक्ष्यमा बैठक, जनअपेक्षा बमोजिम देश र जनताको बिग्रँदो परिस्थिति जस्ता महत्वपूर्ण सवालहरूमा केन्द्रित नभएर बिल्कुलै झन्झटिला, आत्मकेन्द्रित, विवादित नेताका अनावश्यक सन्दर्भसँग जोडिँदा लाइभ हेर्ने र सुन्नेहरू पनि छि : यस्तो पनि लाइभ ? यस्तो पनि बैठक ? भन्दै हिँडेका कटुसत्य सुन्न र देख्न पनि पाइयो ।
कवि भूपि शेरचनको कविता भावझैँ-‘हामी बुद्धु छौं र त वीर छौं ।’ कांग्रेस पुरानो पार्टी हो । कांग्रेस ऐतिहासिक पार्टी हो । कांग्रेस बेजोड क्रान्तिकारी पार्टी हो । कांग्र्रेस मुलुकमा भएका ठूल्ठूला आन्दोलनको नेतृत्व गरी महान् परिवर्तन ल्याउने एकमात्र हिम्मतिलो पार्टी हो ‘र त खुइलिँदै गएको छ, र त बदनाम हुँदै गएको छ, र त स्वार्थलिप्सामा चुर्लुंमै डुबेको छ, र त एक्लिँदै गएको छ, र त गठबन्धन गरेर चुनावमा जानु परेको छ ।’ परिबन्द हो या दुर्नियत, कांग्रेस नेता जेल गए । कांग्र्रेस नेतालाई जेल हालेबापत कांग्र्रेसले माओवादी नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिए, साथ छ सपोर्ट छ अगाडि बढ्नुहोस् भने कांग्रेसका लागि यो के ठीक हो ?
पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको पक्षमा खरो ढंगले उत्रिएका कोही कसैका प्रतिबिम्बहरू बडो फुर्तिसाथ भन्दैछन् अब वृद्ध पुस्ताबाट पार्टी चल्दैन । पार्टीको साँचो अब सिधैं तेस्रो पुस्तामा आउनुपर्छ । आंशिक सत्य हुनसक्छ यो कुरा तर पूरै सत्य त हुनै सक्दैन ।
हाकाहाकी कांग्रेसले कांग्रेसको खुट्टा तान्दै जानु यसभन्दा दुर्भाग्य अरू के होला ? पार्टीभित्र एकले अर्कोलाई खुइल्याउँदै हिँड्नेको होडबाजी छ । यस्तो परिस्थितिको सिर्जना कसले गर्यो ? कसरी भयो ? निष्पक्ष रूपमा सोच्न सक्ने कोही नेता छ ? बोल्न सक्ने कोही बहादुर छ ? देउवा समूह र कोइराला समूहमा विभाजित भएर उठाइने सवाल र आवाजहरू के समग्र पार्टीका लागि हितकर हुनसक्छन् ? अथवा यी दुवै धारको चेपबाट जबर्जस्त खोजिने तेस्रो धार (गगन, विश्व) समग्र समाधानको अचुक उपाय हो ? होइनन् यी केवल आत्मश्लाघाका मीठासपूर्ण आत्मसन्तुष्टि मात्र हुन् ।
कांग्रेसका सामान्य कार्यकर्ता जानकार छन्, भुक्तभोगी छन् । देशमा कांग्रेस सत्तामा छ । सत्तामात्र होइन साँचो पनि हातमा छ । सात प्रदेशमध्ये चार प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार छ । मिसन चौरासीका लागि कांग्रेसले पाएको यो सुवर्ण अवसर हो तर विडम्बना आफ्नै सत्ताधारीबाट एकजना कार्यकर्ता पनि सन्तुष्ट छैन । कांग्रेस सत्तामा छ भन्ने आभास छैन । अनुभूति र प्रत्याभूति छैन । कांग्रेसमा सन्तष्टि छ त केबल केही थान मन्त्री, केही थान माननीय, केही थान केन्द्रीय सदस्य, केही थान लाभको पदमा आसिन व्यक्तिहरूमा छ ।
पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको पक्षमा खरो ढंगले उत्रिएका कोही कसैका प्रतिबिम्बहरू बडो फुर्तिसाथ भन्दैछन् अब वृद्ध पुस्ताबाट पार्टी चल्दैन । पार्टीको साँचो अब सिधैं तेस्रो पुस्तामा आउनुपर्छ । आंशिक सत्य हुनसक्छ यो कुरा तर पूरै सत्य त हुनै सक्दैन । सभापति देउवालाई फेरि नेतृत्वमा आउँन विधान र उमेरले छेकिसकेको छ । त्यसपछिका नेताहरू विमलेन्द्र निधि, शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला अझै तन्दुरुस्त र सक्षम हुँदाहुँदै तेस्रो धारको परिकल्पना अहमता र अलि बढी नै हो ।
रूपान्तरण केका लागि ? सत्ता पक्षले बाटो छोड्यो भने बाटोमा ल्याउने काम प्रतिपक्षीको हो । पार्टीभित्रको पद्धति पनि यही हो । यदि प्रतिपक्षी पनि सत्ताको चास्नीमा डुब्न खोज्छ भने सबैभन्दा बढी दोषी त्यही हुन्छ । रूपान्तरणका अगुवा यिनै होइनन् ? चौधौं महाधिवेशनमा कसैले देउवाको फेर, कसैले कोइरालाको फेर, कसैले सिंहको फेर समातेर हामीलाई पार लगाइदिनु पर्यो भन्दै मरिहत्ते गर्ने । हो, नेतृत्व लिकभन्दा बाहिर गयो या जान खोज्यो भने सच्चा कार्यकर्ताले खबरदारी गर्नैपर्छ । धमिलो पानीमा माछा मार्न तम्सिने होइन । नाम जे दिइए पनि कांग्रेसमा रूपान्तरण अभियान र खबरदारी कार्यक्रमहरू पहिल्यैदेखि हुँदै आएका छन् । बीपी, गणेशमान, सुवर्ण, सूर्यबाबु हुँदै जगन्नाथ आचार्यसम्म भएकै हुन् । यो नौलो र अनौठो पनि होइन । पात्र कस्ता थिए, उदेश्य कस्तो थियो, जाँचिने कुरा यो हो ।
रूपान्तरण अभियन्ता गुरुराज घिमिरेहरूका शब्दावली सुन्दा आशाभन्दा निराशा बढेर आउँछ । घिमिरेका सहकर्मीहरू भन्छन् युग सुहाउँदो कांग्रेस बनाउन विश्व, गगन, प्रदीप, बद्री र जीवन एक ठाउँमा उभिए पुग्छ । यस्ता कुतर्कले कांग्रेस कसरी एक ढिक्का हुन्छ ? कसरी बलियो हुन्छ ? यिनीहरू सबै सहमहामन्त्रीहरू, सबै युवा कांग्रेसहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हिम्मत किन राख्दैनन् ? यस्ता वाक्यांशले पार्टी जुटाउँछ कि फुटाउँछ ?
कम्युनिष्टहरूले आफूबाहेक अरू सबैलाई दलाल नोकरशाही, पुँजिपति र प्रतिक्रियावादी देखेझैँ यहाँ एकथरीको रूपान्तरण भनेको शेरबहादुर देउवालाई सभापतिबाट हटाउनुमात्र हो भन्ने बुझाइ छ । जो तप्का छाती फुलाएर खाण पक्रेकोमा धन्यवाद दिन जान्छ नारायणकाजीलाई । त्यो तप्काले अब जवाफ दिनुपर्छ । दश वर्षे द्वन्द्वमा हजारौं कांग्रेस मारिनु ठीक थियो ? हजारौं अंगभंग हुनु हजारौं लुटिनु कुटिनु जायज थियो ? खाण र शर्मा पक्राउ गर्ने व्यक्ति एउटै होइन ? खोइ त अर्को धन्यवाद ? के किर्ते वैधानिक हो ?
देउवा सर्वगुण सम्पन्न हुन् म भन्दिन । तरिका ठीक भएन, आग्रह पूर्वाग्रह भयो, विरोधाभाष कृत्यहरू भए । गुटमा उपगुटको बीजारोपण भयो । आफ्नो पार्टीमा शत्रुमात्रै देख्ने प्रवृत्तिले प्रश्रय पायो चिन्ता यो हो । पार्टीमा रूपान्तरणको विषय उठान गर्नुअगाडि बरू बहसको विषय यो बनाइयोस्-निष्ठावानभन्दा धनवान हावी कसरी भए ? चुनाव जितिसकेपछि नेता र कार्यकर्ताको भेट र बोलचाल किन पातलिन्छ ? मन्त्रीसँग स्वाभाविक मान्छेभन्दा अस्वभाविक मान्छेको पहुँच बाक्लिन्छ किन ? पदमा पुगिसकेपछि नेताको जीवनशैली जादुमयी तरिकाले बदलिएको हुन्छ कसरी ? हो, यस्ता सवालहरू उठाएर नेतृत्वको चेत फर्काउनुपर्छ ।
जसले जे भने पनि जनताको भरोसायुक्त पार्टी कांग्रेस नै हो । नेपालको सन्दर्भमा भन्ने हो भने देशको स्वाधीनता, सार्वभौमिकताको रक्षा गर्ने एकमात्र पार्टी पनि कांग्रेस हो । यतिबेला कांग्रेसमाथि दृश्य अदृश्य प्रहार छन् । कमजोर बनाउने खेल भइरहेको प्रतीत हुन्छ ।
पार्टीभित्रको विवादलाई मैदानमा ल्याउनुभन्दा मैदानका असलियत पार्टीमा ल्याएर पार्टी बलियो हुँदा नै हामी सबैको कल्याण होला । व्यक्तिप्रधानभन्दा विचार प्रधान हुनु लोकतान्त्रिक पार्टीको अनुपम सौन्दर्य हो । केन्द्रीय समितिको पहिलो बैठकमा आआफ्ना धारणा राख्ने क्रममा कांग्रेस नेता विमलेन्द्र निधिले रूपान्तरण, पुस्तान्तरण, जागरण सबै अभियानलाई बल पुग्ने गरी राखेका तर्कहरू यहाँ प्रस्तुत गर्नु सान्दर्भिक होला ।
निधिका धारणा या विचारले भन्छन्-अनुहार फेर्नु, नाम फेर्नु, पद फेर्नु मात्र रूपान्तरण होइन, राजनीतिको सामाजिकीकरण नै आजको रूपान्तरणको मूल एजेण्डा हुनुपर्छ, राज्यले गर्न नसकेका बाँकी कामहरू समाजले गर्नु रूपान्तरण हो, गठबन्धनको भरपुर उपयोग गरेर २०८४ को चुनाव एक्लै जित्ने अवस्था सिर्जना गर्नु रूपान्तरण हो, संघीय लोकतान्त्रिक गणतन्त्र देशमा छ तदनुकूलको दृष्टिकोण बनाउनु रूपान्तरण हो, हाम्रो जग भनेको वडा हो, वडामा बसोवास गर्ने सबै जातजाति, धर्म, समुदाय, लिंग, वर्ग, भेषभूषाका जनताको जीवनमा अनन्त मुस्कान ल्याउनु रूपान्तरण हो, राजनीतिक, आर्थिक, भौतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक, औद्योगिक, व्यापारिक, अवस्थाको समयानुकूल विकास कसरी गर्ने भन्ने नवीन सोचको विकास नै रूपान्तरण हो ।
व्यक्तिगत रूपमा निधिलाई अलग्गै राखेर निधिका उपयुक्त विचारलाई पार्टीले साझा एजेण्डा बनाउन सक्नुपर्छ । यी विचारमा पार्टीको जीवन छ । कार्यकर्ताको भविष्य छ । हतारिनुभन्दा प्रक्रियाले नेतृत्व लिने हो । जसले जे भने पनि जनताको भरोसायुक्त पार्टी कांग्रेस नै हो । नेपालको सन्दर्भमा भन्ने हो भने देशको स्वाधीनता, सार्वभौमिकताको रक्षा गर्ने एकमात्र पार्टी पनि कांग्रेस नै हो । यतिबेला कांग्र्रेसमाथि दृश्य अदृश्य प्रहार छन् । आपसमा द्वेष फैलाउने, कमजोर बनाउने, फुटाउने टुटाउने खेल भइरहेको प्रतीत हुन्छ । यस्तो जटिल परिस्थितिमा देशको रक्षार्थ र जनतामा जकडिएको नैराश्यता विरुद्ध कांग्रेस एक भएर उभिनुको विकल्प छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच