एउटै गाउँपालिकको वार्षिक आम्दानी एक करोड बढी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 11 mins

पाल्पा । एउटै गाउँपालिकाको वार्षिक आम्दानी एक करोडभन्दा बढी रहेको छ । अधिकांस स्थानीय सरकारहरुको आन्तरिक आम्दानी कमजोर बन्दै गएका बेला पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भने वार्षिक एक करोड भन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

गाउँपालिकाले गत वर्षहरुको तुलनामा आन्तरिक आम्दानीलाई सुधार गर्दै गएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ मा ६९ लाख ६५ हजार आन्तरिक आम्दानी गरेको पालिकाले आर्थिक वर्ष २०७९/०८० मा भने १ करोड ११ लाख ४७ हजार राजश्व संकलन गरेको छ । पालिकाले अघिल्लो आर्थिक बर्ष भन्दा ४१ लाख ८१ हजार आम्दानी गरेको हो । यो ६० दशमलव ०३ प्रतिशत बढी हो । स्थानीय सरकारहरु परनिर्भर बन्दै गएको आलोचना खेप्दै गएका बेला रैनादेवी गाउँ सरकारले भने हरेक वर्ष आफ्नो आम्दानीलाई वृद्धि गर्दै लगेको छ ।

‘करको दर घटाउने, दायरा’ बढाउने नीति लिएपछि पालिकाले आन्तरिक स्रोत बढाउन थालेको हो । स्थानीय तह कति बलियो छ भन्ने एउटा महत्वपूर्ण सूचक आन्तरिक आय पनि हो । यही तथ्यलाई ध्यानमा राखेर रैनादेवी छहराले करको दर घटाउँदै दायरा फराकिलो बनाउने नीति अघि सारेको थियो । नीतिअनुसार आन्तरिक आय वृद्धिमा यो पालिकाले सफलता हाँसिल गर्न थालेको तथ्यांकले देखाएको छ । पालिका पदाधिकारीहरुले आन्तरिक आम्दानी बढाउन खेलेको भूूमिका, राजश्व परामर्श समितिको नियमित सक्रियता, अनुगमनको काममा व्यवस्थित, व्यवसायीहरुको लगत संकलन गरी करको दायरा फराकिलो, कवाडी करलाई ठेक्का प्रणालीमार्फत सञ्चालन, निकासी कर घरबहाल कर लगायतका कार्यहरुमार्फत आन्तरिक आम्दानीमा वृद्धि गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।

उहाँले ‘भन्नुभयो राज्यले दिने हरेक किसिमका योजनाका रकम कटौती गरिरहेको समयमा हामीले भने आन्तरिक आम्दानी बढाउन निकै मिहेनत गर्यौ र मिहेनत अनुसारको रकम बढाउन पनि सफल भएका छौं ।’ यही सफलतालाई आत्मसाथ गर्दै चालु आर्थिक बर्षमा पनि आम्दानी थप बढाउने लक्ष्य लिएको अध्यक्ष भट्टराईले बताउनुभयो । समृद्ध पालिका गाउँवासीकै सहभागितामा बनाउन सम्भव छ भन्ने मान्यताले करको दर घटाइ दायरा बढाउने नीति लिएको उहाँ बताउनुहुन्छ । ‘पालिकावासीले पालिकालाई थोरै-थोरै कर तिरेर प्राप्त हुने आन्तरिक स्रोत उहाँहरुकै लागि खर्च गर्ने हो,’ अध्यक्ष भट्टराईले भन्नुभयो ।

वडागत रुपमा विश्लेषण गर्दा ३ नंं वडा कार्यालय भुवनपोखरीले सबैभन्दा बढी ८ लाख ७४ हजार ८ सय ५३ राजश्व संकलन गरेको छ भने सबै भन्दा कम १ नं. वडा कार्यालय सिद्धेश्वरले २ लाख ३९ हजार ५ सय ७८ राजश्व संकलन गरेको छ । वडागत रुपमा वडा नंं. २ सोमादीले ७ लाख ५० हजार ४ सय ५९, वडा नं ४ छहराले ८ लाख ६४ हजार ४ सय ५, वडा न. ५ मुझुङले ६ लाख ५३ हजार ७ सय ५९, वडा नंं. ६ जुठापौवाले ४ लाख ५२ हजार २७ , वडा नं ७ बल्ढेगढीले ५ लाख ८५ हजार ४ सय ६ , वडा नंं. ७ सत्यवतीले ५ लाख २ हजार ९ सय ९४ , पालिका कार्यालयबाट २० लाख ४ हजार ८ सय ३१ र बैकबाट ४२ लाख १८ हजार ७ सय राजश्व संकलन भएको पालिका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । पालिकाले विभिन्न १६ वटा शिर्षकमा राजश्व संकलन गरेको छ ।

सबैभन्दा बढी रोयल्टीबाट ३१ लाख ४६ हजार २ सय ९ राजश्व संकलन गरेको छ भने वातावरण शुल्कबाट १८ लाख राजश्व उठाएको छ । यसैगरी निकासी करबाट १३ लाख ३७ हजार ६ सय ४१, सिफारिस दस्तुरबाट १२ लाख ४४ हजार ९ सय ३५, भुमिकर मालपोतबाट ६ लाख ५७ हजार ७ सय ४२, व्यवसायकरबाट ५ लाख ९७ हजार ६ सय १९, व्यक्तिगत घटनादर्ताबाट ५ लाख ९ हजार ४५ राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।

यस्तै पालिकाले गएको चालु आ.व.मा दण्डजरिवानाबाट ५५ हजार ७ सय ३९, विविधबाट ८१ हजार ५ सय १६, बेरुजु असुलीबाट ४ लाख ४६ हजार ८ सय ४९, कवाडीकरबाट १ लाख ५१ हजार १ सय, अन्यदस्तुरबाट १ लाख ५६ हजार १ सय ४८, नाताप्रमाणितबाट ९३ हजार २ सय ५०, बहाल विरौटा करबाट १० हजार ४ सय ५०, घर बहाल कर वापत ३ लाख १५ हजार २ सय १८ र सम्पत्तीकर वापत ४ लाख ६२ हजार ६ सय ५८ संकलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ९० लाख आन्तरीक आम्दानी गर्ने लक्ष्य लिए पनि कर संकलनको दायरा फराकिलो बनाउदै लगिएको, घरबहाल करमा व्यवसायीहरुलाई पनि समेट्दै जाने, सामुदायिक बनको आम्दानी बढाउने गरी काम भईरहेको गाउँपालिकाका राजश्व शाखा प्रमुख हरि प्रसाद पराजुलीले बताउनुभयो । यस वर्ष खोलाको ढुङ्गा, गिट्टी तथा वालुवा उत्खननका लागि वातावरणीय मूल्याङ्कन परीक्षणको तयारी भईरहेको राजश्व शाखा प्रमुख पराजुलीले बताउनुभयाे ।

पालिकाको बेलवासमा अस्थायी प्रहरी चौकी

रैनादेवी छहरा गाउँपालिका-७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । बल्ढेङ्गगढीको बेलवास क्षेत्र पहाडी ५ जिल्ला र तराई जोड्ने महत्वपूूर्ण नाकाको रुपमा विकसित भईरहेकाले जनताको शान्ती सुरक्षा कायम गर्न चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । प्रहरी चौकी स्थापनासंगै यस क्षेत्रमा भईरहेको काठ, ढुङ्गा गिट्टी, बालुवाको अवैध चोरी निकासी रोकिने, बढ्दो सवारी दुर्घटना नियन्त्रण हुने, घरेलु हिंसा नियन्त्रण हुने, पालिकाबाट अवैध रुपमा निकासी हुने जडिबुटी कारोबार नियन्त्रण हुने, लागु पदार्थ सेवन तथा ओसार पसार नियन्त्रण हुने उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले निर्वाचनको समयमा जनताको घरदैलो गर्दा जनताको अवस्था, शान्ती सुरक्षा कायम राख्न, लामो मिहेनत र प्रयासपछी चौकी स्थापना गर्न सफल भएको बताउनुभयो । चौकी स्थापनाले यस क्षेत्रको विकास निर्माणदेखी पालिकाको राजश्व वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष भट्टराईले बताउनुभयो । विगतमा हुँदै आएका हरेक किसिमका अवैध गतिविधीहरु समेत चौकी स्थापनासंगै रोकिने पालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले प्रहरी भनेको जनताको सेवक र कानुन कार्यान्वयन गर्ने संस्था भएकाले जनताको भावना अनुसार काम गर्ने बताउनुभयो । तराई ढोरपाटन राजमार्ग क्षेत्रको मुख्य नाका क्षेत्र बल्ढेङ्गगढीको बेलवास भएकाले शान्ती सुरक्षा कायम राख्न, जनताको जिउधनको रक्षा गर्न चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । यसबाट धेरै मात्रामा काठ तथा नदिजन्य पदार्थ अवैध रुपमा ओसार पसार हुने, रुपन्देहीबाट भागेर यस क्षेत्रमा आई लागु पदार्थ सेवन गर्ने तथा कारोवार गराउने र अत्याधिक दुर्घटनाको कारण गएको बर्ष २ वटा ठूूला-ठूला दुर्घटना भएको अवस्थालाई मध्य नजर गरी पहिलो चरणमा ६ जनाको दरवन्दी कायम रहने गरी अस्थायी प्रहरी चौकी स्थापना भएको पाल्पा प्रहरी प्रमुख शर्माले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा ७ वडाका अध्यक्ष देवेन्द्र पुनले २०६४ साल देखी यस क्षेत्रमा प्रहरी चौकीको माग गर्दै आएको भए पनि गाउँपालिकाका अध्यक्षको पहलमा प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको सहयोग र समन्वयमा चौकी स्थापना भएको बताउनुभयो । अबका दिनमा यस क्षेत्रमा जनताले राहत महशुस गर्ने प्रवक्ता पुनले विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?