गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भएको छ : अध्यक्ष ओली

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनुनहुने बताउनुभएको छ ।

बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताउनुभएको हो । उहाँले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनु भयो । उहाँले यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । यो अनेक ढंगले नेपाली समाजलाई भाड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ । यस्ता कुराहरुबाट नेपाली समाज सजग हुनुपर्दछ । यस्ता नचाहिदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन ।’

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सांसद विकास कोषको सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेश न्यायसंगत नभएको बताउनु भयो । उहाँले सो आदेशमा सर्वोच्च अदालतले शक्ति पृथकिकरणको सिद्धान्तलाई ख्याल पु¥याउन नसकेको बताउनुभएको हो । यस्तो आदेशले न्यायपालिकाको काम, प्रक्रिया र गतिविधिमाथि नै प्रश्न उठ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कानून निर्माण गर्ने अधिकार संसदको हो । संसदले निर्माण गरेको कानून बमोजिम काम भयो कि भएन भनेर त्यसको बारेमा कानूनी प्रश्न काहीँ निर्माण भयो भने त्यसको ध्यान दिने अदालतको काम हो । कानून निर्माण पक्रियामै, कानून निर्माण गर्ने थलोले बनाएको कानूनमै तिमीले यसो गर, उसो गर भनेर क्षेत्राधिकारभन्दा बाहिर गएर संसदको विशेषाधिकारमाथि हनन गर्ने काम सर्वोच्च अदालतले गर्नु हुँदैन । हिजोको आदेश न्यायसंगत छैन । यसको अंग पुगेको छैन । सर्वोच्च अदालतले यो कुरा ख्याल गर्नुपर्छ । त्यसकारणले गर्दा शक्ति पृथकिकरणको सिद्धान्तलाई सर्वोच्च अदालतको हिजोको आदेशले ख्याल पु¥याउन सकेन । यसले न्यायपालिकाको काम, प्रक्रिया र गतिविधिमाथि नै प्रश्न सिर्जना हुनसक्छ । त्यसकारण सर्वोच्च अदालतलाई मेरो आग्रह संविधानले दिएको सीमाभन्दा बाहिर गएर संसदको क्षेत्राधिकारमा प्रवेश गर्ने राम्रो होइन । यो शुभसंकेत होइन ।’

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांद विकास कोषको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश शक्ति पृथकिकरणको सिद्धान्त विपरित भएको बताउनु भयो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आ–आफ्ना सिमाभित्र बसेर काम गर्नुपर्ने बताउनु भयो । सीमा रेखा उल्लंघन गरेर अर्काको सिमाभित्र प्रवेश गरे शक्ति सन्तुलन बिग्रने र लोकतन्त्रलाई कमजोर पार्ने बताउनु भयो । यस्ता गतिविधिले संसदीय व्यवस्थालाई नै कमजोर पार्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘सर्वोच्च अदालतले जुन आदेश गरेको छ, यो आधारभुत रुपले लोकतन्त्रको शक्ति पृथकिकरणको सिद्धान्तका विपरित छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आ–आफ्ना सीमाभित्र बसेर काम गर्नुपर्छ । ति सिमा रेखाको उल्लंघन गरेर अर्काको सिमाभित्र प्रवेश गर्ने भनेको त्यसले शक्ति सन्तुलनलाई बिर्गाछ । पृथकिकरणको सिद्धान्तलाई उल्लंघन गर्छ । र त्यसले प्रकारान्तरले लोकतन्त्र कमजोर हुन्छ । सिद्धान्ततः यो बिल्कुल मिल्दैन । यसले प्रकारान्तरले संसदीय व्यवस्थालाई कमजोर गर्छ । त्यो आदेश कुरै नबुझिकन गरिएको आदेश हो । सांसदले हो र त्यो कार्यान्वयन गर्ने ? कार्यान्वयन गर्ने त कार्यपालिकाले हो नि । सांसदले त विकासको यो काम गरिदिनुस् भनेर अनुरोध गर्ने हो । त्यहाँ सांसदले नै त्यसको कार्यान्वयन गर्छ भनेर लेखिएको छ । त्यो बेठिक कुरा हो ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गाई हत्याको विषयलाई लिएर आपसमा आरोप पत्यारोप गर्नु नहुने बताउनु भयो । उहाँले सबैलाई जिम्मेवार र संयमित हुन आग्रह गर्नुभयो । उहाँले यस प्रकारको घट्ना घट्न नदिन राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी सबै नेपालीहरु संयमित हुनु जरुरी छ । एक पक्षले अर्को पक्षलाई आरोप, प्रत्यारोप गर्ने भन्दापनि संयमित हुने र सबै जिम्मेवार बन्ने र यस्ता प्रकृतिका घटना घट्न नदिनका लागि सबै नागरिकहरु जिम्मेवार हुनुपर्छ र र मुलतः राज्यले यस दिशातिर ध्यान केन्द्रित गर्नुपर्छ ।’

 

उहाँले संसदका काम, कारबाहीमा मन्त्रीहरुले लापरबाही गर्न नमिल्ने भन्दै संसद बैठकमा मन्त्रीहरु उपस्थित भएर सरकारको प्रतिनिधित्व गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?