प्याजको थोक मूल्य निर्धारण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले कालिमाटी थोक तरकारी बजारमा सुकेको प्याजको थोक मूल्य तोकेको छ । बिहीबार कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सुकेको प्याजको अधिकतम मूल्य प्रतिकेजी ८० रुपैयाँ र न्यूनतम प्रतिकेजी ७५ रुपैयाँ तोकेको हो ।

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै प्याज नभित्रिएको भन्दै समितिले प्याजको मूल्य तोकेको थिएन । गत आइतबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकेजी ६२ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ थियो । सोमबार प्याजको मूल्य १८ रुपैयाँ बढेको थियो ।

समितिले सुकेको प्याजको अधिकतम मूल्य प्रतिकेजी ८० र न्यूनतम प्रतिकेजी ७५ रुपैयाँ तोकेको हो ।

भारतले गत शनिबारदेखि लागू हुने गरी प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको हो । भारतमै महँगो भएपछि मूल्य घटाउने तथा सहजै प्याज उपलब्ध हुने व्यवस्था गर्न निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । आगामी डिसेम्बर ३१ सम्म यो नियम लागू हुने बताइएको छ ।

यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका चार तरकारी व्यापारीलाई ५० हजार जरिवाना गरेको छ । विभागले खरिद बिजबिजक नराख्ने प्रयाग पोखरी र इमाडोलका एक-एक तथा बाँसबारीका दुर्ईवटा तरकारी पसललाई बुधबार कारबाही गरेको हो । प्रयाग पोखरीको तरकारी पसललाई २० हजार तथा अन्य तीन पसललाई १०-१० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले एकान्तकुनामा रहेको एक खाद्यवस्तुको पसललाई खरिद बिजबिजक नराखेको भन्दै पाँच हजार जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?