सृजन लम्साल (२००३) नेपाली साहित्यमा सुपरिचित नाम हो । नेपाली साहित्यका विविध विधामा कलम चलाएका लम्साल एकजना राम्रा निबन्धकार पनि हुन् । नैतिकता हराएको सूचना २०५५, प्रजातन्त्र, गणित र डिप्रेसन २०६०, विस्थापित मुड २०६८ र मृत्यु अधिकार २०७८ उनका प्रसिद्ध निबन्धसङ्ग्रहहरू हुन् । लम्साल निबन्ध र नियात्रा लेखनमा पनि सिद्धहस्त मानिन्छन् । लम्सालका निबन्धका यी शीर्षकहरू सुन्दा नै लाग्छ यीभित्र केही नयाँ र नौला विचार समाविष्ट छन् । जीवनमा कहिले के कुराले कहिले के कुराले पिरोलिरहन्छ । पिरलो नहुँदो हो त जीवन यत्तिको गतिशील पनि हुँदैनथ्यो सायद ।
धेरै ठाउँमा पछि परेको कुरा पछि नै थाहा लाग्छ । पढ्ने र लेख्ने पेसामा लागेको पनि तीन दशक त हुनै लाग्यो तर यस अवधिमा के कति पढियो वा के कति लेखियो ? भनेर लेखाजोखा गर्न बस्ने हो भने गरेकोभन्दा गर्नुपर्ने तर नगरिएकै काम धेरै छ । त्यो स्वाभाविक पनि हो । यति सानो जीवनमा गर्न पर्ने के नै पो गर्न सकिन्छ र ? पछुतो आफ्नो ठाउँमा छ तर गर्नैपर्ने दायित्वभित्रका कति कुराहरू गरिएका हुँदैनन् ती कुराले बढी पछुतो लगाउँछ । काठमाडौं खाल्डोमा बसेपछि यहीँ वरिपरिका कुराहरूले बढी प्राथमिकता पाउने । धेरैसँग यतै भेटघाट हुने यतैका कुरा बढी पढिन्छ यतैका कुरा बढी लेखिन्छ पनि ।
मैले हिमालय टाइम्समा लेख्न सुरु गर्दा यसका सम्पादक आदरणीय पुरुषोत्तम दाहालले मेरो कलमको दायित्वभित्रका कुराहरू सम्झाउने सिलसिलमा भनेको एउटा वाक्य मलाई सम्झना छ । उहाँको भनाइ थियो ‘हेर्नुहोस् नारायण भाइ तपाईं कलम चलेको मान्छे हुनुहुन्छ । देशभरि यति धेरै स्रष्टा छन् जसका बारेमा लेखिन आवश्यक छ । देशको जुनकुनै कुनामा बसेर लेखेको किन नहोस् विभिन्न कारणले ओझेलमै रहेका स्रष्टाहरूलाई चिनाउने काम पनि गर्नुहोला ।’ मैले त्यतिखेरै आफ्नो कलमले न्याय गर्नुपर्ने केही स्रष्टाहरूलाई सम्झिएको थिएँ र तीबारे क्रमशः लेख्दै पनि रहेँ ।
लम्सालसँग यदाकदा कार्यक्रममा भेट हुन्थ्यो अन्तरङ्ग कुरा नभई भेट सकिन्थ्यो । लम्साल के कस्ता स्रष्टा हुन् भनेर जान्न पहल नगरेकै कारणले एकजना अब्बल स्रष्टा मेरो ज्ञानको दायराभन्दा बाहिर रहेछन् भन्ने कुरा हालसालै मात्र जानकारी भयो ।
त्यसै समयमा मध्यपश्चिम क्षेत्रमा रहेर साहित्यिक योगदान गरिरहेका केहीअग्रज साधकहरूलाई सम्झिएको थिएँ । कतिका विषयमा लेखेँ पनि । कतिसँग भेट नहुने । कतिका विषयमा जानकारी नहुने । कतिपयका सामग्री उपलब्ध नहुने । कतिका विषयमा आफ्नै धारण बनाएर प्राथमिकतामा नराखिने यस्तै यस्तै हुँदोरहेछ । तर, मैले प्रथमिकतामै राखेर मेरो सम्झनामा रहेर पनि लेख्न नभ्याएका एकजना स्रष्टा हुनुहुन्छ सृजन लम्साल । साँच्चै भन्दा मैले पहिल्यै चरणमा उहाँलाई सम्झिएको हुँ तर के कारणले हो केही ढिला भएकै हो । यसका पछडिको एउटा गम्भीर कारण के हो भने मेरो ज्ञानको सीमाले गर्दा उनी कत्तिका स्रष्टा हुन् भन्ने जानकारी पाउन सकेको थिइनँ ।
यदाकदा कार्यक्रममा भेट हुन्थ्यो अन्तरङ्ग कुरा नभई भेट सकिन्थ्यो । लम्साल के कस्ता स्रष्टा हुन् भनेर जान्न पहल नगरेकै कारणले एकजना अब्बल स्रष्टा मेरो ज्ञानको दायराभन्दा बाहिर रहेछन् भन्ने कुरा हालसालै मात्र जानकारी भयो । नेपालगञ्ज भनेपछि झट्ट मैले चिनेका र राष्ट्रले पनि मानेका स्रष्टा श्रद्धेय सनत रेग्मी दाइसँग अलि बाक्लो भेटघाट र सम्बन्ध रहृयो तर सृजन लम्साल छुट्दै रहनुभएछ ।
गत वर्षको कुरा हो सनत दाइले ‘नारायणजी तपाईंहरू लेखिरहनुहुन्छ । लामो समय नेपाली साहित्यमा योगदान गर्नुभएका सृजनजीका बारेमा केही लेख्नुपर्दैन ?’ भनेर मीठो भाषामा हपार्नुभयो र मैले मेरो दायित्वलाई पुनः नवीकरण गरेँ । त्यसै दिन आदरणीय सृजन लम्साल क्याम्पसमा आएर केही थान पुस्तकहरू उपहार दिनुभयो । मैले लेख्ने प्रबिद्धतासहित कृतज्ञतापूर्वक उहाँलाई विदा गरेँ ।
फेरि कुरा कता अल्मलियो एक वर्षपछि लम्सालजीले स्मरण गराएपछि म झस्किएँ । हत्तेरिका यस्तो पनि हुन्छ ? आफैँप्रति सङ्कोच लागेर आयो । पछुतो कहाँ कहाँ हुँदै जानेछ अहिले म भन्न सक्दिनँ तर सृजन लम्सालका निबन्ध समयमै नपढेको पछुतो अहिले लागिरहेको छ । कुनै स्रष्टालाई समयमै पढ्न नपाउँदा धेरै कुरा छुट्छन् । स्रष्टा सृजन लम्साल पढ्न छुट्दा लम्सालसँग जोडिएको साहित्यको एउटा लामो कालखण्ड नै छुटेजस्तो लाग्यो । सबै कुरा यति सानो आलेखमा उतार्न सम्भव छैन । उमेरले सात दशक पार गरिसकेका लम्सालले लामो समय आभ्यासिक लेखनमा बिताएर २०५५ सालदेखि सक्रिय लेखन जीवनको थालनी गरेको बुझिन्छ ।
उनका प्रायः कृतिहरू गद्य विधासँग जोडिएका र तीमध्ये पनि धेरैजसो कृतिहरू निबन्ध र नियात्रा रहेकाले स्रष्टा लम्साल निबन्धकार व्यक्तित्व नै हुन् भन्न सकिन्छ । उनका निबन्धहरू पढेपछि लाग्यो उनको कलमका आँखा तेजिला रहेछन् । गर्विला र दर्विला पनि रहेछन् । जे देख्नुपर्ने हो ती देखेका छन् र जे देखिनुपथ्र्यो ती पनि देखिएका छन् र जे देखाउनुपथ्र्यो ती कुराहरू पनि देखाइएका छन् । एकजना स्रष्टाले आफ्नो ज्ञान र अनुभवको सीमाले भ्याएबाहेक अरू लेख्न सक्दैन । एउटै लेखकबाट सबै कुराको अपेक्षा गर्न मिल्दैन । आफू उभिएको जमिनको पछिल्लो यथार्थलाई उतार्दा बन्ने समाज र जीवनको आकृति त्यति सुन्दर हुँदैन ।
कल्पना, व्यङ्ग्य र विनोदप्रियता लम्सालका निबन्धको विशेषता रहेछ । कतै आत्मपरक कतै वस्तुपरक शैलीमा लेखिएका लम्सालका निबन्धहरू पढेपछि तत्कालीन समयको बिम्ब आँखा अगाडि आउँदो रहेछ । कतिपय बिर्सिँदै गएका तर बिर्सिन नहुने कुराहरूको पुनर्ताजगीले गर्दा यी निबन्धहरू समयको सीमाभन्दा माथि छन् भन्ने पनि अनुभव हुन्छ । स्रष्टाको इमानदरी कोही कसैको मुख नहेरी सत्यलाई बाहिर ल्याउनु पनि हो भन्ने लाग्यो । परिवर्तनकानाममा समाजलाई बिथोल्ने, सामाजिक विकृतिलाई प्रश्रय दिने, आर्थिक अनुशासनलाई खल्बल्याउने, सम्बन्धमा कटुता बढाउने, विकासका नाममा विनाशलाई अँगाल्ने, सपनाको व्यवशाय चलाउने, राजनीतिको सस्तो खेल खेल्ने, जनविश्वासको उपेक्षा गर्ने, स्वतन्त्रताको दुरुपयोग गर्ने, सुशासनमा धमिरा लगाउने, पारिवारिक आदर्शलाई निमिट्यान्न पार्ने, समवेदनाको व्यापार गर्ने, वेदनाले द्रविभूत हुने इत्यादि अनगिन्ती सत्यहरूको प्रक्षेपण लम्सालका निबन्धहरूमा भएको पाइन्छ ।
पहिलो कुरा त कलम भौतिक जगत् र आत्मिक जगत् दुबैको संयोजन भएको मानव मन र मस्तिष्कको प्रतिनिधि हो । कलम मन, हृदय र बुद्धिको मित्र हो । मनलाई नसोधेर न हृदयको यात्रा गर्न सम्भव छ न बुद्धिको उकालो चढ्न सम्भव छ । मानिस भौतिक शरीर र आत्मिक चेतना लिएर उभिएको प्राणी हो । त्यसैले यो द्वैत जीवन बाँच्ने हामीहरू कहिले बाठो भएर बढी अध्यात्मवादी हौँ कि झैँ गर्छौँ कहिले बढी भौतिकवादी हौँ झैँ गर्छौँ । हामीले अहङ्कार गरेजस्तो न हामी अध्यात्मवादी मात्रै भएर रहन सम्भव छ न भौतिकवादी मात्रै भएर रहन सम्भव छ । हामीले जन्मिँदै यी दुई धर्मलाई स्वीकारेर आएका हुनाले कुनै पनि प्रकारको अतिवाद गर्नु हाम्रो पहिलो अज्ञानता हो ।
स्रष्टा सृजन लम्सालको कलम माझिएको अनि विचार सुल्झिएको रहेछ । उमेरले मात्रै कुनै पनि स्रष्टा परिपक्व बन्दैन । उमेरका साथमा विचारमा परिष्कार अनि कलममा निखार ल्याउँदै गएको स्रष्टा नै समयको प्रतिनिधि बन्न सक्छ । पाँच दशकभन्दा लामो सिर्जनशील यात्रामा प्रायः निबन्ध अनि नियात्रामा बढी समय लगाएका स्रष्टा खासमा गद्य लेखक नै हुन् भन्दा फरक पर्दैन । समाज, जीवन र स्रष्टाको त्रिकोणात्मक सम्बन्धमा कुनै पनि सिर्जना जीवन्त बन्ने कुरा हो । स्वान्तःसुखाय मात्र लेख्ने, समाज निरपेक्ष रहन खोज्ने स्रष्टाबाट धेरै अपेक्षा गर्न सकिँदैन ।
अबको स्रष्टाले समयलाई चिनेन भने समयले पनि उसलाई बचाइराख्न आवश्यक ठान्दैन । आफू उभिएको भूमि आफूजस्तै अरू धेरै सरोकारवालाहरूको पनि साझा भूमि हो । मैले जे ठान्छु म बसेको समाजले पनि त्यही ठानिरहेकोछ भन्ने मानेर समाज, समय र जीवन लेख्न सकियो भने त्यो लेखन सबैको लेखन बन्न सक्छ । निबन्धकार लम्सालका निबन्धहरू यस अर्थमा मानवीय यथार्थ र समवेदनाका प्रतिनिधि अभिव्यक्तिहरू हुन् । हिजोआज साहित्यभन्दा बढी नारा र मुद्दा लेखिन थालेको छ । लम्सालका निबन्धहरू साहित्यकेन्द्रित रहेका छन् । साहित्य यस मानेमा कि उनले साहित्य लेखेर कुनै मुद्दा जित्ने लक्ष राखेका छैनन् र सायद पुरस्कार जित्ने अभिलासा पनि राखेका छैनन् । उनका निबन्धका शीर्षकहरू समाज र जीवन केन्द्रित रहेका छन् ।
प्रजातन्त्र, गणित र डिप्रेसन (२०६०) निबन्धसङ्ग्रहभित्रका अंशबण्डा, आँखा, ऊ मौन छ, ओदेहरूको कथाव्यथा, काले काले मिलेर खाऊँ भाले क्रियाका प्रतिक्रियाहरू, चलखेलानन्द च, प्रजातन्त्र, गणित र डिप्रेसन, प्याज महिमा, नेतिनेति, भीख माग्ने काम, मातृशोक छचल्किइँदा, यात्राका पीडाहरू, शब्द आतङ्क, सपना र विपना शीर्षकका निबन्धहरू र मृत्यु अधिकार (२०७८) निबन्धसङ्ग्रहभित्रका रावण कहिल्यै मर्दैन, सखारैको डुलाइमा सकस, बहुपहिचानको सहर, भगौडा रेल, नेता र जनता, पशुपतिका बाँदरहरू, सम्पत्ति, सपना र स्वर्ग, हठवीरको सडकवाद, बन्द उत्सव, आततायी ऐना, मृत्यु अधिकार, मैले चाहेको नेपालगञ्ज, म र मेरो नेपालगञ्ज, परनिर्भरता, र विश्वयुद्ध कोभिड १९, शीर्षकका निबन्धहरू पढेपछि निबन्धकार लम्सालको विषय छान्ने कला, विषय प्रस्तुतिको शैली, विषयवस्तुले समेटेको दायरा, विषयगत मुद्दाहरू, लेखकीय दायित्व, लेखनको उद्देश्य अनि विद्यमान यथार्थको हुबहु चित्र पढेपछि निबन्धकार लम्सालको निबन्ध प्रक्षेपण सामथ्र्यको प्रशंसा गर्न मन हुन्छ ।
सबैलाई चित्त बुझाउने गरी लेख्न सकिँदैन तर आफूले लिएको विषय, त्यस विषयप्र्रतिको आफ्नो दृष्टिकोण, विषयले समाज र जीवनमा पारेको सकारात्मक वा नकारात्मक प्रभाव अनि परिवर्तनका निम्ति गरिएको अपेक्षा हेरेर कुनै पनि स्रष्टाको मूल्याङ्कन गरिनुपर्छ । यस अर्थमा स्रष्टा लम्सालको निबन्ध लेखन सुल्झिएको लेखन नै हो । लम्सालका यी निबन्धहरूमा केही निबन्धहरू मनोगत चिन्तनमा केन्द्रित रहेका छन् भने केही निबन्धहरू विषयकेन्द्री रहेका छन् । स्रष्टाले के विषयमा लेख्ने भन्ने कुनै निर्देश हुँदैन । जतिखेर जुन विषयले मनलाई छुन्छ, हृदयलाई पगाल्छ वा बुद्धिलाई लल्कार्छ त्यही विषय नै स्रष्टाको विषय हुन्छ । त्यो विषय समाजपरक पनि हुनसक्छ व्यक्तिपरक पनि हुनसक्छ ।
आजको मानिस सन्तोषले बाँच्न पाइरहेको छैन । अनगिन्ती विचार मनमा आउँछन् तिनले निकास खोज्छन् । कतिले व्यक्तिने अवसर पाउँछन् कति बिलाएर जान्छन् । यी धेरै कुराको द्रष्टा एउटा स्रष्टा नै हुन सक्छ । सृजन लम्साल नै हुन सक्छ ।
यस्ता विषय कहिले बाहिरबाट आउँछन् कहिले भित्रैदेखि जन्मिन्छन् । स्रष्टा लम्सालले पनि दुवै अवस्थाबाट विषय लिएको पाइन्छ । स्रष्टा लम्साल कहिले भान्सा पसेर प्याज समाएका छन् कहिले आफ्नै आँखाको चरित्र खिचेका छन् । कहिले गाईगोठमा, कहिले खेतीपातीमा उनले विषय पाएका छन् । देशलाई केन्द्रमा राखेर हुन्छ कि देशलाई छातीमा राखेर हुुन्छ आफूलाई विषय बनाएर हुन्छ कि आफ्नालाई विषय बनाएर हुन्छ स्रष्टालम्सालले समाजको यथार्थलाई कलात्मक ढङ्गले निबन्धमा उतारेका छन् ।
कहिले नेतालाई कहिले नीतिलाई, कहिले थितिलाई, कहिले बेथितिलाई, कहिले सङ्गतिलाई, कहिले विसङ्गतिलाई, कहिले आफ्नो समवेदनालाई कहिले यथार्थलाई, कतै हास्यलाई, कतै रमरम व्यङ्ग्यलाई, कहिले कल्पनालाई र कहिले अतिकल्पनालाई पनि निबन्धको विषय बनाएको पाइन्छ । एउटा कुरा निश्चय हो कि लेखकजस्तो शुद्ध मनको अरू हुन सक्दैन । जताततै बेथिति छन् मन पिरोलिएको छ लेखकले सबैतिर राम्रो होस् भन्ने चाहन्छ । लेखकलाई अर्को फाइदा पनि छ आफ्नो मनमा लागेका कुराहरू लेख्न र सार्वजनिक गर्न पाउँछ । आफ्ना कुराहरू पनि जगत् कुरा बन्छन् । जगत्का कुरा पनि आफ्ना कुरा बन्छन् । सबैसँग कलमको कला हुँदैन चाहेर पनि मनमा लागेका कुरा व्यक्त गर्न सक्दैन । लेखकलाई त्यो सुविधा प्राप्त छ । उसले आफ्ना कुरा सबैका सामु पुर्याउन सक्छ मन माझ्न पाउँछ ।
स्रष्टा लम्सालले पनि आफ्ना मनका कुरा गरेका छन्, परिवार, स्वजन र इष्टमित्रका कुरा गरेका छन् । देशका कुरा गरेका छन् विदेशका कुरा गरेका छन् । तर, यी सबै कुराको केन्द्र राष्ट्र, समाज र जीवन बनेको छ । नेपाल र नेपाली जाति बनेका छन् । कुशासनले थच्चिएका नेपाली नागरिकसँग अनगिन्ती पीडाहरू छन् । त्यसरी नै आत्मगत चेतनाको अभावमा वा आत्मगत समस्याको समाधान जान्न नसकेर कति मानिस दुःखी छन् । घरभित्रको पिरलो होस् कि घर बाहिरको पिरलो होस् । राजनीतिक बेथितिले निम्त्याएका समस्या हुन् कि हाम्रा आफ्नै अकर्मण्यताले सिर्जिएका समस्या हुन् ।
आजको मानिस सन्तोषले बाँच्न पाइरहेको छैन । अनगिन्ती विचार मनमा आउँछन् तिनले निकास खोज्छन् । कतिले व्यक्तिने अवसर पाउँछन् कति बिलाएर जान्छन् । यी धेरै कुराको द्रष्टा एउटा स्रष्टा नै हुन सक्छ । सृजन लम्साल नै हुन सक्छ । यसो किन हुन सम्भव छ भने स्रष्टा समाजमा चेतना प्रसारण गर्ने प्रतिनिधि हो । अवैतनिक दूत हो । स्रष्टाका ती सबै कुराहरू जगत् का लागि पनि प्रेरणाका विषय बनेका हुन्छन् ।
सामाजिक सद्भाव खल्बल्याउने, विखण्डन ल्याउने, हिंसा वा आतङ्कलाई प्रश्रय दिनेबाहेक अन्य लेखनलाई खोट लगाउनु उचित होइन । एउटै लेखनबाट पूर्ण कुरा र सम्पूर्ण कुरा कहिल्यै लेखिँदैन । व्यक्ति त्यस्तो प्रतिनिधि पात्र हो जसले सामाजिक सन्देश प्रसारण गरिरहन्छ । यसरी नै सबै स्रष्टाले आफ्नो लेखकीय दायित्व बुझेर लेखेको खण्डमा समाज र जीवनमा परिवर्तनका सम्भावना देखिन सक्छन् ।
कसैका निबन्ध पढ्नु फगत् पढ्नुमात्र होइन पढिएको विषयबाट आफू के कति प्रभावित हुन सकियो ? आफ्नो आचार, व्यवहार र कर्ममा के कति परिवर्तन गर्न सकियो ? भनेर हरेक पाठकले आत्ममूल्याङ्कन गर्ने हो भने समाज परिवर्तन हुन बेर लाग्ने थिएन । आशा गरौँ सृजन लम्सालका निबन्धका पाठकहरूमा सकारात्मक सोचको थालनी होस् । म श्रद्धेय स्रष्टा सृजन लम्सालको स्वस्थ एवम् सिर्जनशील जीवनको कामना गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच