श्रम र सुशासनको नमूना मौरीराज

लेखनाथ पोखरेल
Read Time = 18 mins

काठमाडौं । दैनिकजसो हुने विभिन्न औपचारिक कार्यक्रमका गतिविधि पछिल्लो समय संचारमाध्याम र संचारकर्मीहरुले पछ्याउने क्रम घट्दै गएको छ । अर्थात् त्यस्ता कार्यक्रममा हुने नेता, मन्त्रीहरुका भाषणबाजीका समाचार खासै प्राथमिकतामा पर्दैनन्, पाठकले पनि त्यस्ता सामाग्री रुचाउँदैनन् । दिनभर लगाएर कार्यक्रम ग-यो, हुने, नहुने भाषण दियोे । यस्ता कार्यक्रमबाट अधिकांस संचारकर्मी हैरान छन् । सीमित स्रोत साधनबीच ग्रुज्रिरहेका खासगरी आम श्रमजीवी पत्रकारको पीडा नै हो यो ।

मेरा एकजना पूराना मित्र छन्, उनी व्यवसायिक मौरीपालक किसान र मह व्यवसायी पनि हुन् । विगत लामो समयदेखि मौरीपालन व्यवसाय प्रवद्र्धनमा लागेका उनको दैनिकी मौरीको स्याहार सुसारमै बित्ने गरेको छ । तालिमका साथै मौरी र घारलगायत प्रविधिमा पनि काम गर्ने उनी आफू जस्तै अरुलाई पनि व्यवसायिक बनाउन वेला वेलामा तालिम कार्यक्रमसमेत संचालन गर्छन् ।

अहिले नेपालमा च्याउसरी उम्रिएका अनेकौ राजनीतिक विचारवादभन्दा पनि अब्बल छ ‘मौरीवाद’ ।

सोही कारण संचारकर्मीभन्दा पनि मित्रभावका कारण उनी कार्यक्रममा बोलाइरहन्छन् । तर हरेक कार्यक्रममा उपस्थिति जनाउन हामीजस्ता श्रमजीवीका लागि संभव हुँदैन । उनको मौरी फार्म ललितपुरको धापाखेलमा छ ।

त्यसो त सबै औपचारिक कार्यक्रमका नकारात्मक पक्षमात्रै हुँदैनन्, कतिपय कार्यक्रम ज्ञानबद्र्धक, सूचनामूलक, प्रेरणामूलक र अनुसन्धानमूलक पनि हुन्छन् । त्यस्ता कार्यक्रम छुटाए पछि परिन्छ । त्यसैले ती मित्रको आग्रह र सोही वास्तविक यथार्थतालाई आत्मसात गर्दै म पनि कार्यक्रममा पुगेँ । कार्यक्रम थियो, आधारमूत व्यवसायिक मौरीपालन तालिम उद्घाटन । कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो, बागमती प्रदेशका तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ ।

सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै उहाँले आयोजकको प्रशंसामात्रै गर्नुभएन, आगामी दिनमा प्रदेश सरकारले तालिम कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । सोही मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, व्यवसायिक कीट विकास केन्द्रका प्रमुख भोजराज सापकोटालगायतले मह र मौरीको प्राकृतिक, धार्मिक, सांस्कृतिक, स्वास्थ्यका साथै सामाजिक र व्यवसायिक महत्वबारेमा चर्चा गर्नुभयो । तालिम कार्यक्रममा विभिन्न जिल्लाबाट महिला र पुरुष गरी ३७ जना सहभागी थिए । अधिकांस सहभागीले परम्परागत र निर्वाहमूखी रहेकाले व्यवसायिक बन्न तालिमका लागि आएको बताएका थिए ।

कार्यक्रममा कीट विकास केन्द्रका प्रमुख सापकोटाले मह र मौरीको बहुआयामिक महत्वका साथै जीवनचक्रबारेमा पनि थोरै चर्चा गर्नुभयोे, जुन निकै रोचक र मार्मिक लाग्यो । त्यसैले मौरीको जीवनचक्रबारे थप कौतुहलता मेटाउन केही दिनपछि ललितपुर हरिहरभवनस्थित कीट विकास केन्द्रमै पुँगे । त्यहाँ केन्द्र प्रमुख सापकोटासँग मह र मौरीपालनका व्यवसायिक र नीतिगत कुराकानी भयो ।

मौरी कहिल्यै खाली बस्दैन, त्यहाँ कामको बाँडफाँड भएको हुन्छ । एउटा घारमा कर्मी मौरी, भाले मौरी र रानी मौरी हुन्छन् । सबै मौरी टाइम टेवल र कामको बाँडफाँडअनुसार खटिरहन्छन् ।

केन्द्रमै रहनुभएका मौरीविज्ञ तथा मौरी विकास केन्द्र गोदावरीका वरिष्ठ वाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलसँग मौरीको जीवनचक्र, मह र मौरीजन्य विविध उत्पादनबारे बुझ्ने अवसर मिल्यो । ‘कहाँबाट सुरु गरौँ त !’ भन्दै उहाँले मौरी जीवनचक्रबारे बताउनु थाल्नुभयो ।

खरेलका अनुसार मह उत्पादन त मौरीको सहायक काममात्रै हो । मुख्य काम त समग्र खाद्यन्न उत्पादन र पर्यावरणीयको हो तर त्यसबारेमा खासै चर्चा हुँदैन । जुन मानव जीवनका साथै पृथ्वीका अन्य प्राणीको जीवनको अभिन्न अंगका रुपमा रहेको छ । मौरीबाट परागसेचन भएन भने खाद्यन्न उत्पादनमै असर पर्छ भने पर्यावरणीय पक्ष अझै महत्वपूर्ण छ । त्यत्तिमात्र होइन, मौरीराजलाई द्रुत विकास, समृद्धि र सुशासनको समेत मोडलका रुपमा लिन सकिन्छ । त्यसैले अहिले नेपालमा च्याउसरी उम्रिएका अनेकौँ राजनीतिक विचारवादभन्दा पनि अब्बल छ ‘मौरीवाद’ । तथापी कुनै पनि दल तथा राजनीतिकज्ञले हालसम्म मौरीवादको अनुशरण गरेका छैनन्, नत आगामी दिनमा गर्ने छनक नै देखिन्छ ? न नेपालको कर्मचारीतन्त्र नै मौरीवाद अनुशरण गर्न चाहान्छ ?

मौरी कहिल्यै खाली बस्दैन, त्यहाँ कामको बाँडफाँड भएको हुन्छ । एउटा घारमा कर्मी मौरी, भाले मौरी र रानी मौरी हुन्छन् । सबै मौरी टाइम टेवल र कामको बाँडफाँडअनुसार खटिरहन्छन् । त्यहाँ कहिल्यै आन्दोलन, नारा जुलुस हुँदैन । रिस, डाह, घात प्रतिघात, अनियमितलगायतका चलखेल पनि हुँदैनन् । एक अर्कालाइ माया गर्ने, बाँडेर खाने मौरीको स्वाभाव हुन्छ । आफ्नो घारमात्रै नभइ अन्य घारकालाई पनि उत्तिकै माया गर्छन् । तर फरक गोलाका कर्मी मौरीबीच भने वेला वेलामा झगडा पनि हुन्छ ।

श्रमका आधारमा मौरीका तीन वर्ग हुन्छन्, रानी, कर्मी र भाले मौरी ।

त्यसैले एउटा गोलोमा रानी मौरी, भाले मौरी र कर्मी मौरी रहेका हुन्छन् । तर सबै मौरी आफ्नो जिम्मेवारीअनुसारको कामका खटिएका हुन्छन् । तथापी प्रजनन र सन्तान उत्पादन प्रक्रियाबाहेक सबै प्रकारका कामको जिम्मेवारी भने कर्मी मौरीकै हुन्छ । रानी र भाले मौरीभन्दा कर्मी मौरी अलि साना हुन्छन् । खानपानका कारण त्यस्तो भएको हो । गोलामा सबैभन्दा धेरै संख्यामा कर्मी नै मौरी हुन्छन् । कर्मी मौरीको जन्म भाले लागेको फुलबाट हुन्छ ।

मौरीको जीवनयात्रा मानिसभन्दा पनि व्यवस्थित हुन्छ । जन्मिएको केही दिनमै श्रममा खटिइहाल्छन् । कर्मी मौरी फुलबाट निस्केदेखि तीन हप्तासम्म घारभित्रको काममा लाग्ने गर्छ भने बाँकी समय घारभित्रका विविध क्रियाकलाप अर्थात चाका निर्माण, छाउरा हेरविचार, सरसफाई, तापक्रम नियन्त्रण र सन्तुलन, रानीको रेखदेख, मह प्रसोधनको काममा लाग्छन् । घार बाहिरको क्रियाकलापअन्तर्गत पुष्परस, परागसेचन, चोप र पानी संकलनलगायतको काम गर्छन् ।

कर्मी मौरीले उमेरअनुसारको क्रियाकलापमा जन्मिएको एकदेखि तीनसम्म हिँड्न सिक्ने, चाकामा टाँसिएर अरू फुल, लार्भा र प्यूपालाई न्यानो पार्ने, आफ्नो वरिपरि छरिएका खाना खाने र कोष सफा गर्ने काम गर्छन् । त्यस्तै तीनदेखि छ दिनमा छिप्पिएका छाउरालाई मह र कुट खुवाउने र आफू पनि खाने गर्छन् । छ देखि १२ दिनमा कर्मीको टाउकोमा शिर ग्रन्थीको विकास हुन्छ । जुन शिर ग्रन्थीबाट शाहीखुराक अर्थात रोयल जेली उत्पादन हुन्छ ।

कर्मी मौरीले एकदेखि तीन दिनका कर्मी, भालेका लार्भा र रानी मौरीलाई भने लार्भा अवस्थादेखि बाँचुञ्जेल रोयल जेली खुवाउँछन् । पौष्टिकताले भरिपूर्ण हुने भएकोले पछिल्लो समय केही मौरीपालन व्यवसायीले रोयल जेली पनि संकलन गरी महँगोमा बिक्री गर्न थालेका छन् । एक ग्राम रोयल जेलीलाई नै तीन हजार रुपैयाँसम्म पर्छ । मौरीले महसँगै मैन, रोयल जेली, विष तत्व, प्रोपोलिन उत्पादन गर्छ तर महकोमात्रै बढी चर्चा हुने गरेको पाइन्छ ।

तर १२ देखि १८ दिनको उमेरका कर्मी मौरीको शिर ग्रन्थी सुक्छ र पेटको तल्लो भागमा मैन ग्रन्थी विकास भई मैन उत्पादन हुन थाल्छ, सोही मैनको सहायताले चाका बनाउने काम गर्छन् । त्यसपछि विषग्रन्थी र खिलको विकास हुने हुँदा घारको प्रवेशद्वारमा बसेर गोला सुरक्षा गर्छन् भने २१ दिनको उमेरपछि मात्रै घारबाहिर निस्केर पुष्परस, पराग (कुट), चोप, पानी आदि संकलन गर्न चरनमा जान्छन् ।

भाले मौरीको एकमात्र काम कुमारी रानीसँग सहबास गरी गर्भाधान गराउनु हो । भालेको दुःखद पक्ष के छ भने रानीसँगको सहबासपछि भाले मर्छ । भाले मौरी अल्छी हुन्छ, खानासमेत कर्मी मौरीले खुवाउनुपर्छ ।

तर भाले मौरीको एकमात्र काम कुमारी रानीसँग सहबास गरी गर्भाधान गराउनु हो । भालेको दुःखद पक्ष के छ भने रानीसँगको सहबासपछि भाले मर्छ । त्यसो त भाले मौरी अल्छी हुन्छ, खानासमेत कर्मी मौरीले खुवाउनुपर्छ । अफसिजनमा भने बाँकी भाले मौरीलाई कर्मी मौरीले खाना नखुवाउने भएकोले आफै मर्छन् । भालेको सरदर आयु दुइ महिनामात्रै हुन्छ । कर्मी मौरीको आयु पनि त्यति लामो हुँदैन, कर्मीको आयु उडानमा पनि निर्भर हुन्छ । उडान बढी भएमा आयु घट्दै जान्छ । रानी दुइ वर्षदेखि पाँच वर्ष, कर्मी छ हप्तादेखि छ महिनासम्म बाँच्छ ।

प्रजनन प्रक्रियामा रानी मौरी मानिसभन्दा पनि सचेत र सम्वेदनशील हुन्छ । किनभने रानी मौरी संम्भाव्यता अध्ययनपछि मात्रै फुल पार्ने प्रक्रिया लाग्छे । फुल पार्नुअघि नै कोषभित्र टाउको छिराएर निरीक्षण गरी कोष सफा देखेमामात्र पेट छिराई फुल पार्छे । रानीले छाउरा कक्षको चाकामा फुल पार्ने समयमा रानी, कर्मी र भाले बनाउन छुट्टाछुट्टै कोषमा फुल पारेकी हुन्छे । रानीले फुल पार्दा रानी बनाउन रानुकोषमा र कर्मी बनाउन कर्मीकोषमा निषेचित फुल पार्छे भने भाले बनाउन भालेकोषमा अनिषेचित फुल पार्छे । तर पनि फुल अवस्था सबै वर्गमा तीन दिनको हुन्छ । कर्मी मौरीले रानीको लार्भावस्था अवधिभर रोयल जेली खुवाउँछन् भने कर्मी र भाले मौरीका लार्भालाई तीन दिनसम्म शाही खुराक ख्वाएपछि मधुरोटी अर्थात मह र कुटको मिसावट ख्वाउँछन् ।

मौरीले आफ्नो आवश्यकता पूरा गर्न र सन्तान बृद्धि गर्न समूहमा मिलेर बस्छन्, मौरीको समूह नै मौरीगोला हो । मौरीगोलामा मौरीको संख्या जति नै भएपनि प्रत्येक मौरीगोलामा एउटा रानी मौरी हुन्छ । कर्मी र भाले मौरीभन्दा अलि ठूलो, सलक्क परेको, लाम्चो देखिने रानी मौरी हो । रानीको रंग कालो र चिल्लो हुन्छ । टाउको अरूभन्दा सानो र डोलो हुन्छ । पेटको अन्त्य भागमा सानो खिल हुन्छ, जुन अन्य रानुसँग लड्नमात्र प्रयोग हुन्छ ।

मौरीले संकलन गर्ने प्रोपोलिस त अझै बहुमूल्य हुन्छ । खासगरी मेलिफेरा जातको मौरीले प्रोपोलिस पनि संकलन गर्छ । जुन बोट विरुवा, फलफूलको चोपबाट संकलन गरे घारमा राख्छ । प्रोपोलिसमा दुइसयभन्दा बढी तत्व पाइने अध्ययनबाटै पुष्टी भइसकेको छ । व्यवसायीले प्रपोलिस पनि घारबाट संकलन र प्रसोधन गरेर बिक्री गर्ने गरेका छन् ।

विश्वमा महको सहउत्पादन प्रोपोलिनको सबैभन्दा बढी अध्ययन भएको छ । जसमा उच्च औषधीय गुण हुन्छ । मौरीले भने घारमा फ्रेसनरका लागि प्रपोलिस संकलन गरेर ल्याएको हुन्छ, घारमा प्रपोलिस छरेर वासना फैलिन्छ । विषतत्व भने मौरीले आफ्नै शरिरबाट उत्पादन गर्ने हो । विषतत्व झनै महँगो हुन्छ, जुन क्यान्सर, वाथ र नसा उपचारमा प्रयोग हुने गरेको छ । त्यसो त प्राकृतिकरुपमा रानी मौरी आफंै उत्पादन हुन्छ । त्यसकोे व्यवस्थापन भने सबै कर्मी मौरीले नै गर्छन् ।

घारमा मौरीको संख्या बढ्यो र खानपानमा समस्या भयो भने छुट्टिन्छन् । रानी मौरीले काम गर्न नसक्ने भयो, फूल पनि कम पार्न थाल्यो, फूलबाट पनि भाले मौरीमा मात्रै उत्पादन हुन थाल्यो भने कर्मी मौरीले नयाँ रानी मौरी बनाउँछन् । रानी मौरीले आफ्नो कमजोरीको संकेतस्वरुप वास्ना पनि छाड्ने गर्छ । सोही आधारमा कर्मी मौरी थाहा पाउँछन् र नयाँ रानी मौरी उत्पादन सुरु गर्छन् । नयाँ रानीले घारमा नयाँ नेतृत्व गर्न थाल्छ ।

कतिपय अवस्था रानी मौरी हरायो, म-यो वा केहीलाई खाइदियो भने २४ घण्टापछि कर्मी मौरीले थाहा पाउँछन् र रानीको खोजीमा लाग्छन् । नपाएपछि पछिल्लोपटक रानी मौरीले पारेको फूलबाट रानीकोष उठाउँछ र नयाँ रानी उत्पादन सुरु गर्छन् । धेरैवटा रानी चाहिने अवस्थामामात्रै कृत्रिम प्रविधिबाट उत्पादन गर्ने हो । मौरी चरनका लागि १५ देखि २० किलोमिटर टाढासम्म जानसक्छ तर टाढा गयो भने उत्पादन कम हुन्छ । नजिकको दूरी भए धेरैपटक मह खेप गर्न सक्ने भएकोले उत्पादन बढी लिन सकिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?