एकपटक जानै पर्ने ठाउँ – जौबारी (तस्बिरसहित)

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । चाँदी झै टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न सकिने इलामको जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थल बनेको हो । कोशी प्रदेश सरकारले जौबारी पुग्ने सडक स्तरउन्नतीसँगै पर्यटन पूर्वाधार निर्माण गरिएपछि अहिले यहाँ देश विदेशका पर्यटकहरु पुग्न थालेका हुन् ।

सदरमुकाम इलाम बजार बाट ३० किलोमिटरको उत्तर दक्षिण क्षेत्रको यात्रापछि गरेपछि पुगिन्छ, इलामको सुन्दर हिमाली व्यपारिक तथा पर्यटकीय केन्द्र जौबारी । जौबारीलाई इलामको मुस्ताङ समेत भनिन्छ । हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिन्छ जौबारीमा । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका-५ र माई जोगमाई गाउँपालिका-२ मा अवस्थित छ ।

जौबारी पुग्ने सडक स्तरउन्नती गरिएपछि अहिले नेपालको तराई क्षेत्रका पर्यटक पनि पुग्न थालेका छन् । जौबारीमा भारतको दार्जिलिङबाट मानेभञ्ज्याङ हुँदै पर्यटक आउने गरेको स्थानीय मान बहादूर गुरुङ्गले बताउनुभयो ।

वर्षातयामको झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिमपात जौबारीमा पर्यटक तान्ने माध्यम हो । जौबारी पुग्दा स्वर्गीय आनन्द मोति झैँ टल्कने हिमालको दृश्यबाट लिन सकिन्छ । झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिउँको चिसोको वास्ता नगरि जौबारी पुग्ने पर्यटकलाई स्थानीयले न्यानो स्वागत गर्छन् । वर्षातसँगै बाक्लो हिमपात हुँदा जौबारीमा हिउँ खेल्ने पर्यटकहरुको भिड नै लाग्ने भएकाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएको माइजोगमाइ गाउँपालिका अध्यक्ष कुसबहादुर थेवेले बताउनुभयो ।

हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारी पुग्ने हरेकको मन लोभ्याउँछ । भारतीय सीमा क्षेत्रबाट नजिकै रहेको जौबारी बजार कोशी प्रदेशकोक प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर तिर लम्किएका पर्यटकको बास बस्ने रमणिय क्षेत्र हो । चित्रै चित्राले बनेका कलात्मक काठेघरहरुमा बस्दै स्थानीय शेर्पा, तामाङ, राई र गुरुङ जातीको परम्परागत संस्कृति र रसहसहनमा लुटपुटिदै अनि नेपाली गाउँघरहरु दृश्यअवलोकन गर्न बाह्य मुलकका धेरै पर्यटकहरु वर्षेनी यहाँ आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?