जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो : नेता डा कोइराला

हिमालय टाइम्स
Read Time = 3 mins

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उहाँले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो ।

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको भने आलोचना गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो ?’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

सङ्घीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । “जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो”, उहाँले भन्नुभयो । कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिनुभयो । जनताले बुझने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उहाँको भनाइ थियो ।

मोरङ युनियनका नव निर्वाचित अध्यक्ष वेदराज पौडेललाई पद हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन सञ्चारकर्मीसित आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?