त्रासै त्रासमा बित्यो दशैँँ : दुई सय बढी घर भत्किए, हजारौं नागरिक विस्थापित

हिमालय टाइम्स
Read Time = 6 mins

विवेक खड्का/हिटा
दाङ । गत बुधबार सबैतिर दशैँँको उत्साह थियो तर दाङको देउखुरी तथा तुलसीपुर बखरियावासीलाई भने त्यो उत्साहले छोएन । लगातारको वर्षाका कारण उर्लिएको बबई बस्तीमा पसेर २०७१ सालकै घटना दोहोरिने त्रासमा स्थानीय रहे । राज्यले यसप्रति बेवास्ता गरेको उनीहरूको गुनासो छ । ‘हामी पनि त नागरिक हौं, हामीलाई सुरक्षाको अनुभूति गराउने राज्यको दायित्व हैन र ? हामीलाई घटनापछिको राहतभन्दा पनि घटना हुनबाट बचाउने सुरक्षा चाहिएको हो,’ स्थानीय देविराम कुसारीले भन्नुभयो । वर्षासँगै अँध्यारिएका स्थानीयका अनुहार अझै उज्यालिएका छैनन् । अविरल वर्षापछिको डुबानले दाङको देउखुरीमा मात्रै दुई सय बढी घर भत्किएका छन् ।

झण्डै चार हजार घर डुबानमा परेका छन् । दाङ जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विनायक पौडेलले अविरल वर्षा र डुबानले गर्दा जिल्लाको देउखुरी क्षेत्रमा मात्रै दुई हजार ९५२ घर डुबानमा परेको र २०३ घर भत्किएको जानकारी दिनुभयो । डुबानले गर्दा हजारौं सर्वसाधारण मानिस विस्थापित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेको र ८० घर भत्किएको, राप्ती गाउँपालिकामा ६१० घर डुबानमा परेको र ६५ घर भत्किएको, लमही नगरपालिकामा ४६१ घर डुबानमा परेको र ४३ घर भप्किएको र राजपुर गाउँपालिकामा २२१ घर डुबानमा परेको र १५ घर भत्किएको जानकारी दिएको छ ।

बाढी र डुबानका कारण देउखुरी उपत्यकाका चार पालिका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा तीन दिनसम्मको अविरल वर्षापछिको बाढी र डुबानका कारण सर्वसाधारणको बिचल्ली भएको छ । पानी पर्ने क्रम रोकिएसँगै विस्तारै नदी र खोलाहरूको बहाव घट्दै गएको हुँदा क्रमिकरूपमा दाङको देउखुरी तथा पश्चिम दाङको जनजीवन सहज बन्ने अपेक्षा गरिएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले विभिन्न स्थानबाट जोखिममा परेका नागरिकहरूको उद्धार गरेको थियो ।
लगातार परेको वर्षातका कारण अवरुद्ध रहेको घोराही लमही सडकखण्डको पहिरो हटाउने काम शनिबार रातीसम्म चल्यो । उक्त सडक खण्ड शुक्रबारदेखि अवरुद्ध रहेको थियो । घोराही र लमहीबाट करिब ३०/३० जना गरी करिब ६० जना नेपाली सेना र स्काभेटरको सहायतामा पहिरो हटाउने काम भएको थियो ।

अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही-घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका-६, बेल्दामारस्थित १८ नं. टावर ढालेको हो । प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको अवरुद्ध विद्युत् आपूर्ति अझै सहज भएको छैन । टावर जडान गर्न केही दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण घोराही वितरण शाखाले जनाएको छ ।

बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा
तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण यता बर्दियामा पनि दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न छन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीको महान् चाड बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।

बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताउनुभयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरू र खेतबारी भने बगाएको बताउनुभयो । उहाँले घरहरू डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?