नेकपा एस स्थापनाको दुई वर्ष :

पार्टी गठनको औचित्य पुष्टि हुन सकेन, नेता तथा कार्यकर्ता पलायनको क्रम तीव्र

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । दुई वर्षअघि नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) दिनप्रतिदिन आन्तरिक कलहको भुमरीमा फस्दै गएको छ । नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट फुटेर गठन भएको नेकपा एसलाई निर्वाचन आयोगले २०७८ भदौ ९ गते पार्टी दर्ताको प्रमाणपत्र दिएको थियो । गठन भएको दुई वर्ष पूरा हुँदा एमालेबाट विभाजन हुनको औचित्य पुष्टि हुनुको सट्टा नेकपा एसभित्र आन्तरिक विवाद चर्किंदै गएको छ । विवादकै कारण प्रभावशाली नेताहरूको विद्रोहको सम्भावना बढ्दो क्रममा छ । पार्टी निर्माण भएको दुई वर्ष पुगिसक्दा पनि एसले संसद्मा १० सिट जिते पनि राष्ट्रिय पार्टीको हैसियत बनाउन सकेन । स्थानीय तह र प्रदेशसभामा कांग्रेस र माओवादीसँग गठबन्धन गर्दा पनि अपेक्षित नतिजा आउन नसकेको विषय केन्द्रीय कमिटी बैठकमा उठेको छ ।

जनवर्गीय संगठन र पार्टीका तल्ला तहका कमिटीहरूले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् । भएका कमिटीमा पनि चौतर्फी अन्तरविरोध त छ नै नयाँ पार्टीभित्र देखिएको खिचातानी व्यवस्थापनमा नेतृत्वको ध्यान नपुग्दा पुरानै पार्टी एमालेमा फर्किने नेता कार्यकर्ताको संख्या बढ्दो क्रममा छ ।

पार्टीका नेता तथा कार्यकर्ता पूर्वपार्टी नेकपा एमालेमै फर्किन थालेपछि संगठन झनै कमजोर बन्दै गएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीभित्रको असन्तुष्टि स्पष्ट रूपमा देखियो । नेकपा एस कार्यगत मात्र नभएर सैद्धान्तिक मतभेदको विवादबाट गुज्रिँदै गएको छ । केन्द्रीय समिति बैठकमा जनताको बहुदलीय जनवाद जबजका विषयमा पार्टी अध्यक्ष माधव नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच मत बाझिएको छ । खनाल जबजको औचित्य समाप्त भइसकेको एमालेमा रहँदादेखि नै जिकिर गर्दै आउनुभएको थियो । अध्यक्ष नेपालले जबज अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै आउनुभएको छ । एमालेबाट विभाजित भएपछि बनेको एसको पहिलो बैठकले त जबजलाई नै पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले जबजको औचित्य अझै पनि नसकिएको धारणासहितको प्रतिवेदन पेस गर्नुभएको थियो ।

जबजलाई पार्टीको प्रतिवेदनमा स्थान दिएपछि सम्मानित नेता खनालले यसको औचित्य समाप्त भइसकेको भन्दै प्रतिवाद गर्नुभयो । विगतमा प्रणाली व्यवस्थित नहुँदा मात्र जबज आवश्यक रहेको स्मरण गर्दै संविधान जारी भएसँगै जबजको औचित्य समाप्त भइसकेको खनालको तर्क छ । पार्टीको दस्ताबेजमा जबजको कुरा उल्लेख भएपछि खनालले अध्यक्षको प्रतिवेदनप्रति थप रुष्ट हुँदै यसले पार्टीमा विग्रहको बिउसमेत रोपेको टिप्पणी गर्नुभएको छ ।

जबजलगायत पार्टीको आन्तरिक र बाह्य अन्तरविरोधबारे स्पष्ट नभए नराम्रो हुनेसमेत खनालले चेतावनी दिइरहँदा एकीकृत समाजवादीभित्र सैद्धान्तिक विमति मात्र हो वा अन्तरगुटको चिसोपनले अल्सरको रूप लिइसकेको भन्ने प्रश्न उब्जिएको छ । एकीकृत समाजवादीमा देखिएको यो विवाद पार्टी कमजोर हुँदै जानुको संकेत हो । पार्टीका नेताहरूको आपसी असमझदारी, पार्टी कार्यकर्ताको तीव्र पलायन, गठबन्धनकै विषयमा असहमति जस्ता कुराले एकीकृत समाजवादी थप स्खलित हुँदै गएको छ ।

अध्यक्ष नेपालप्रति प्रश्न
हालै सम्पन्न केन्द्रीय समिति बैठकमा निरन्तर रूपमा नेता कार्यकर्ता पार्टी त्याग्ने क्रम तीव्र बनेको विषयमा छलफल भए पनि रोक्न ठोस कार्ययोजना ल्याउन भने सकेन । पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले सुरुदेखि नै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । नेता खनालले पहिलो दिन नै अध्यक्षको प्रतिवेदनमाथि गम्भीर वैचारिक र कार्यनीतिक प्रश्नहरू उठाउनुभयो । नेता कार्यकर्ता एमालेमै फर्किने क्रम बढ्नु आदिको दोष केन्द्रीय समिति बैठकपछि अध्यक्ष नेपालमाथि थुप्रिएको छ ।

त्यसो त एमालेबाट विभाजित भएर नेकपा एस गठन गर्नुभएका पार्टी अध्यक्ष नेपालले अहिलेसम्म विद्रोह गर्नु र पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गर्न सक्नुभएको छैन । पार्टी जन्मिएको ६ महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो जनमत पायो । राष्ट्रिय पार्टीको मान्यता पाउँदै पहिलो परीक्षणमा नै संसद्मा बलियो उपस्थिति देखाइरहेको छ । तर, पार्टी स्थापना भएको डेढ वर्षपछि संसदीय चुनावमा होमिएको एसको जनमत जफत भयो । कांग्रेस र माओवादीसँगको गठबन्धनको बलमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट ल्याए पनि समानुपातिकमा मत नआउँदा राष्ट्रिय पार्टी बन्न असफल भयो । लोकतन्त्रको रक्षाको लागि एमालेबाट फुटेर नयाँ पार्टी खोले पनि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको छत्रछायामा बस्दै आएको छ ।

समाजवादीले अहिलेसम्म आफ्नो छुट्टै न कुनै विचार, सिद्वान्त र नीतिलाई अंगीकार गर्न सकेको छ, न सरकार र संसद्मा जनपक्षीय भूमिका खेल्न सकेको छ । सरकार बनाउने र गिराउने खेलमा भने नेकपा एस महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । पार्टी गठनदेखि नै बीचमा केही समयबाहेक निरन्तर सरकारमा सहभागी हुँदै आएको छ । केन्द्रदेखि प्रदेशसम्म संसद् र सरकार दुवैतिर समाजवादीको उपस्थिति छ । तर, आफू छुट्टै पार्टी हो भन्ने आभास भने दिन सकेको छैन ।

नेता तथा कार्यकर्ताको पलायन तीव्र
स्थापना भएको दुई वर्षसम्म समाजवादीले पार्टीको आकार लिन त सकेन पार्टीको आकार लिनुअघि नै रित्तिने यात्रामा लागेको छ । एकपछि अर्को गर्दै समाजवादीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षदेखि स्थानीयस्तरका नेताहरू एमाले प्रवेश गरिरहेका छन् । एमालेमा विद्रोहको समयमा माधव नेपाललाई रोजेर समाजवादी आएकाहरू धमाधम एमालेमै फर्किरहेका छन् ।

समाजवादीको तेस्रो वरीयताका वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । हालसम्म केन्द्रीय सदस्य तथा तत्कालीन सांसदहरू तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केसी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाईं, चूडामणि जंगली, तर्कबहादुर शाही, धनबहादुर रायमाझी, यदुवंश झा र हिराचन्द्र केसी एमाले फर्किसक्नु भएको छ । त्यस्तै, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोजकुमार यादव, शारदा स्वर्णकार, बिना बुढाथोकी, चन्द्रलाल बुढा, कुलवीर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलबहादुर सुनार, कुर्मराज शाही, रीता रावल, सुन्दर विश्वकर्मा र नन्दसिंह बुढा पनि समाजवादी छोडेर पुरानै घर एमाले फर्किसक्नु भएको छ ।

जिल्ला अध्यक्षहरू श्रीधर पोखरेल, सूर्यचन्द्र न्यौपाने, हरिप्रसाद शर्मा, शूरमणि बेलबासे, श्रीराम कार्की, नरेश भण्डारी, रमेश बस्नेत, विष्णु देवकोटा, सुन्दर विश्वकर्मा, हिरण्य भट्टराई, गगन रावल, आदिप्रसाद न्यौपाने र भोलानाथ पोखरेलले पनि समाजवादी त्याग्नुभएको छ । पार्टी छोडेर एमाले रोज्नेहरूको संख्या बढ्दै गए पार्टी रित्तिने हो कि भन्ने चिन्ता पर्न थालेको नेकपा एसकै नेताहरूको भनाइ छ । एमाले विभाजन गरेर समाजवादी स्थापना गर्न माधव नेपाललाई दरिलो साथ दिनुभएकी नेतृ रामकुमारी झाँक्री पछिल्लो समय पार्टी नेतृत्वप्रति निराश देखिनुहुन्छ । आफूलाई नेतृत्वले बेवास्ता गरेको उहाँको गुनासो छ । एमालेमा विद्रोह गरेर नयाँ पार्टी खोल्दा नेपालको मेरुदण्ड बनेकी झाँक्रीको पछिल्लो समय उहाँको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन ।

भ्रातृ संगठनको समानान्तर भेला
नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवा संघ नेपालमा तीव्र विवाद देखिएको छ । शनिबार युवा संघका दुई पक्षले समानान्तर बैठक गरेका छन् । संघका अध्यक्ष नरेश शाही नेतृत्वमा कालोपुलस्थित रत्न हलमा सचिवालय बैठक बस्यो भने उपाध्यक्ष नितेश पौडेलको नेतृत्वमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्यो । कालोपुल बैठक पार्टी उपमहासचिव एवं मोर्चा फाँट इञ्चार्ज विजय पौडेलको नेतृत्वमा चलेको थियो । बानेश्वर बैठकको नेतृत्व भने दीपक मनाङेले गर्नुभएको थियो । संघका उपाध्यक्ष पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिवसमेत हुनुहुन्छ ।

नेकपा एस विस्तार हुँदा एमालेको नीदहराम : नेपाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको टिप्पणी गर्नुभएको छ । एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यलाई पुष्टि गरेको दाबी गर्नुभएका नेपालले नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चालगायत जुनकुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको नीदहराम भएको टिप्पणी गर्दै भन्नुभयो, ‘चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको नीदहराम भएको छ । हाम्रो पार्टीको विस्तार होला भनेर आतंकित पनि भएका छन् । ती आतंकित भएकाहरूलाई भन्न चाहन्छु धेरै आतंकित नहुनुस्, हामी विध्वंसक शत्रु होइनौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?