अशान्त धरान : सबैको सुझबुझले तत्काललाई टर्‍यो तनाव, सद्भाव भड्किने जोखिम कायमै

डिबी शर्मा
Read Time = 16 mins

काठमाडौं । दलहरूको सुजबुझ र सरकारी सतर्कताले पूर्वी सहर धरानको सम्भावित तनाव तत्काललाई टरेको छ । गोवध प्रकरणले झण्डै अशान्त बनेको धरान सबैको संयमताले तत्काललाई शान्त बनेको हो । धरानमा केही साताअघि गोरु काटेर सामूहिक भोज गरिएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि तनावको स्थिति बनेको थियो । गोरु काटेको भनिएको भिडियो सार्वजनिक भएपछि हिन्दुवादीहरू आक्रोशित बनेका थिए । उनीहरूले शनिबार धरानमा ‘सद्भाव र्‍याली’का नाममा विरोध प्रदर्शनको तयारी गरेका थिए ।

उनीहरूको र्‍यालीका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार धरानमा निषेधाज्ञा गरेको थियो । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै शुक्रबार रातिदेखि शनिबार रातिसम्म धरानमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समयमा भेला, जुलुस, ¥याली निकाल्न रोक लगाएको थियो ।

निषेधाज्ञा कारण शनिबार धरानमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार बिहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेको थियो । निषेधाज्ञाका कारण धरान शनिबार सुनसान देखिएको थियो । अत्यावश्यक सेवाका बाहेक अन्य गाडीहरू चलेनन् । पसलहरू बन्द रहे भने मानिसहरूको चहलपहलसमेत न्यून देखिएको थियो । निषेधाज्ञा कारण सम्भावित जोखिम तत्काललाई टरेको छ । तर, पूर्णरूपमा शान्त भने भइसकेको छैन । धरानमा अहिले उत्पन्न परिस्थिति गोरु काटिएको भिडियोहरू आएपछि आएको भए पनि यसको सुरुवात चर्च र मन्दिरको विवादबाट सुरु भएको थियो । मन्दिरको अगाडि चर्च बनाइएको भन्दै हिन्दुवादीहरूले विरोध जनाएका थिए । चर्च निर्माणको विवाद जारी रहेकै बेला गोरु काटेर भोज गरिएको भनिएको भिडियो सार्वजनिक भएपछि तनाव थप बढेको हो । तर, उक्त तनाव सबेको संयमताले तत्काललाई टरेको छ । यसअघि धरानस्थित राजनीतिक दल, नागरिक समाज र स्थानीय सरकारले पनि सद्भाव कायम राख्न अपिल गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपालगायत १३ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै सामाजिक संजाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरू पोष्ट, सेयर तथा कमेन्ट नगरिदिन अपिल गरेका थिए । त्यस्तै धरानका मेयर हर्क मेयर साम्पाङले पनि सबैले संयमित र संवेदनशील भएर नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि अपिल गर्नुभएको थियो ।

इटहरीमा प्रदर्शन, आन्दोलन जारी राख्ने चेतावनी
धरानमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरूले इटहरीमा प्रदर्शन गरेका छन् । शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीहरूले प्रदर्शन गरेका हुन् । धरानमा प्रदर्शन गर्ने योजना बनाएका उनीहरू निषेधाज्ञाका कारण इटहरीमै विरोध प्रदर्शन र कोणसभा गरेका हुन् । सद्भाव ¥याली भनिएको प्रदर्शन जारी रहने उनीहरूले बताएका छन् । आफूहरूले शान्तिपूर्ण र अहिंसासहितको आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

यसअघि उनीहरूले सुनसरीको इटहरीदेखि तरहरासम्म र्‍याली निकालेका थिए । धार्मिक ¥यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए । निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका थिए ।

सद्भाव कायम राख्न कांग्रेसको अपिल
नेपाली कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको छ । केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति चिन्ता प्रकट गर्दै कांग्रेसले राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न अपिल गरेको हो । ‘परापूर्व कालदेखि विभिन्न जात-जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौँ, राष्ट्रनिर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको अपिलमा भनिएको छ, ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’

नेपालीको भावना र चाहनाविपरीत धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने भन्दै कांग्रेसले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने चिन्ता प्रकट गरेको छ । ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,’ अपिलमा अगाडि भनिएको छ ।

प्रचण्डले जातीय द्वन्द्व निम्त्याउने प्रयास गर्दै छन् : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डले जातीय द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाउनुभयो । सुनसरीको धरानमा भएको घटनाले सिंगो मुलुकमा असर पार्ने कोइरालाले बताउनुभयो । ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । परिस्थिति धार्मिक खासियत लड्खडाएको छ,’ उहाँले भन्नुभयो, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । संविधानमा लेखिएका कुरा बाहिरको कदापि स्वीकार्य हुँदैन । कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन ।’ प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । शनिबार पार्टीको टोखा नगरपालिकाको भेलालाई सम्बोधन गर्दै उहाँले जातजाति र समुदायसित होइन बेथिति र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने बताउनुभयो । ‘जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछुु,’ उहाँले भन्नुभयो, ‘हाम्रो दुष्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।’ कानुनले वर्जित गरेको गतिविधि नगर्न उहाँले सुझाव दिनुभयो ।

साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेका छन् : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा मान्छेलाई धर्म परिवर्तन गराउने खेती भइरहेको दाबी गर्नुभएको छ । नेकपा एसको पार्टी स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता खनालले पैसाले किनेर मान्छेको धर्म परिवर्तन गराइएको दाबी गर्नुभयो । साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेको उहाँको भनाइ थियो । ‘धरानमा निषेधाज्ञा छ, बिर्तामोडभन्दा यता दशौँ हजारको जुलुस आएको छ । यहाँ साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेका छन्,’ उहाँले भन्नुभयो, ‘कहीँ गाई काटियो रे, कहीँ सुँगुर काटियो रे, कहीँ बाख्रा काटियो रे । यो किन हुन्छ ? भनेर मान्छे सडकमा आए । अर्बौं रुपैयाँ बाँडेर यहाँ क्रिश्चियन बनाइँदै छ रे । किनेर धर्म परिवर्तन गराइँदै छ ।’

सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको हो । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवं सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ । साथै आयोगले एक आपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ । आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको जनाएको छ ।

द्वन्द्व बढाएर राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : जनमोर्चा
राष्ट्रिय जनमोर्चाले कतिपय साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिबीच द्वन्द्व र अन्तर्विरोध पैदा गराउन खोजेको आरोप लगाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै नेपालीलाई एक आपसमा लडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको हो । पूर्वका केही जिल्लाहरूमा बिग्रँदो सामाजिक सद्भावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । साथै सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन आपसी सम्झाई बुझाई संवादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जनमोर्चाले जोड दिएको छ । ‘नेपाल एउटा बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुक हो । यिनीहरूका बीचको आपसी एकताद्वारा नै नेपालको राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिनेछ । नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनुपर्नेमा जोड दिन्छौँ,’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?