मान्छे लगाएर ससुराको  हत्या गरेको आरोप लागेका शाहीलाई एमालेले गर्‍यो निलम्बन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटले जिल्ला कमिटी सदस्यबाट दानबहादुर शाहीलाई निलम्बन गरेको छ ।

आफ्नी कान्छी श्रीमतीलाई ‘तेरो बाबु मैले मारेको हो तलाई पनि मार्छु’ भन्दै ज्यान मार्ने धम्कि दिएको समाचार प्रकाशित भएपछि उक्त बिषयमा कानुनी निकायबाट छानबिन नहुँदासम्मका लागि नेकपा एमाले कालीकोटले एम विज्ञप्ति प्रकाशित गर्दै शाहीलाई जिल्ला कमिटी सदस्यबाट निलम्बन गरेको हो ।

शाहीकी कान्छी श्रीमती गिताले शाहीबिरूद्व मुद्दा दर्ता गरेपछि विभिन्न सञ्चार माध्याममा आएका समाचारहरुलाई मध्यनजर गर्दै उनलाई पार्टीबाट निलम्बन गरिएको एमाले कालीकोटका पार्टी अध्यक्ष जसिप्रसाद पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

के थियो घटना ?

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर(१ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो ।

स्थानीय जिते बजारतर्फ गइरहेका बेला भिरबाट लडेर मृत्यु भएका जैसीको लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको घटना बाहिरिएको छ । मृतक जैसीका छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच विवाद हुँदै आएको थियो ।

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका छन् ।

माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए । छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए ।

हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए । आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो । एमाले कालीकोट जिल्ला कमिटी सदस्य रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिएमा हत्या गरिदिने भनेका छन् ।

नेता शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएको खुलेको हो ।

उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबथोक हुने भन्दै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका छन् । उनले आफैँले जन्माएको छोरालाई पनि मारिदिने भनेका छन् ।

म्यासेन्जरमा लेखेको चेतावनीमा 'कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन । तेरो छोरा मारेपछि कसरी अंशवण्डा लिन्छेस्' भन्दै विभेदकारी शब्दले गालीसमेत गरेको म्यासेन्जरमा देखिन्छ ।

गीतालाई मुद्दा फिर्ता गर्न चेतावनी दिएको प्रमाणसहित शाहीविरुद्ध प्रहरीमा उजुरी दिए पनि प्रहरीले चासो नदिएको गीता जैसीको भनाइ छ । आफू हिंसामा परेको भन्दै धेरै पटक प्रहरीमा उजुरी परे पनि राजनीतिक पावरका कारणले प्रहरीले बिना कारबाही मेलमिलाप गराउँदै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?