तेषां शीर्षाणि हरसापि वृश्च

मणि शर्मा
Read Time = 18 mins

धरानको गौहत्या तथा गोमांस भक्षणको कुरा सेलाउँन नपाउँदै फेरि इलाममा गाईलाई करणी गरी घाँटी रेटेर फालेको घटना सार्वजनिक भएको छ । संविधानतः गोहत्या नेपालमा निषिद्ध भए तापनि राप्रपाबाहेक विभिन्न राजनीतिक दलहरूले यस बारेमा मौनता साधेका छन् । कुनै दलका नेताले सामाजिक कुरामा बोल्न हुँदैन भन्दैछन्, कुनैले सामाजिक सद्भाव बिथोल्नु हुँदैन भन्दैछन् र कसैले गोबधको विरोध गर्न सकेका छैनन् । अधिकांश नेताहरू आवरणमा सनातन धर्मावलम्बी भए तापनि वास्तवमा उनीहरू सनातनी बन्न सकेका छैनन् । त्यसैले विरोध गर्न पनि सक्दैनन् न त अपराधीहरूलाई कार्बाही गर्न नै सक्छन् ।

उनीहरू ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड र सुन काण्डमा छानबिनलाई प्रभावित गर्न अन्तिममा गएर एक भएका छन् । सबै शीर्ष नेतादेखि अन्य नेताहरूसमेत कुनै न कुनै काण्डमा संलग्न भएकोले यसलाई सामसुम पार्न जनता झुक्याउन आयोग बनाउने निर्कौैल गरेर यस मुद्दालाई समाप्त पारेका छन् र अब अर्को काण्डको तयारीमा छन् । यिनै नेताहरू हुन् जो हिजो पञ्चायतकालमा यस्तै कुनै काण्डमा छानबिन आयोग बनाउँदा यिनीहरू नै भन्ने गर्थे आयोगको अर्थ हुन्छ, आयो, गयो, सकियो । आज यिनीहरूले बनाउने आयोगको अर्थ के फेरिएकै हो त ? यसअघि बनाइएका आयोगहरूको नतिजाले नै यिनीहरूको आयोग के हो बताइसकेको छ ।

सुरुमा सत्ताधारीहरूले विरोधीलाई तह लगाउन यी मुद्दा अगाडि सारेका थिए वा सार्न लगाइएको थियो तर जब भ्रष्टाचारका काण्डहरू र गोबधको काण्ड चुलिन थालेर यो व्यवस्था नै ढल्ने अवस्थामा पुग्न थाल्यो तब ती शक्तिकेन्द्रले नै कथित तीन शीर्ष नेतालाई यो व्यवस्थाको रक्षाका लागि एक ठाउँमा ल्याएर उभ्याइदिएका छन् । यी एक भएपछि यो आसुरी शासनको अवधि केही लम्बिने उनीहरूको विश्लेषण होला । यी मुद्दाहरूबाट जनताको ध्यान मोड्न अब गोबध काण्डको सिर्जना गरिएको हो । आखिर कथित उक्त गोबध गर्ने समूहको मालिक पनि उही हुन् । नेपालको अस्तित्व नै समाप्त पार्ने उद्देश्यले ती अराजक समूहले नेपालको झण्डामा आगो लगाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तैपनि सरकार मौन छ । मौनम सम्मति जनाएको छ ।

गौहत्या गर्नेहरूको माग छ गाईको मासु खान पाउनुपर्छ । गाईको मासु खानेहरू चन्द्रमामा पुगिसके तर गोमुत्र खानेहरूले केही गर्न सकेका छैनन् । उनीहरूलाई थाहा छैन इण्डियन चन्द्रयान-३ चन्द्रमामा पठाउनेहरू गोमुत्र खाने सनातन धर्मावलम्बीहरू नै हुन्, यानलाई चन्द्रमामा पठाउने अगाडि उनीहरूले बेंकटेश्वर र महाकालमा गएर पूजाआजा गरेका थिए । पश्चिमा वैज्ञानिकहरूले गरेका विभिन्न आविष्कार आदि वेद, गीता र वैदिक धर्मग्रन्थहरूबाट लिएको स्वीकारिसकेका छन् तर नेपालका पश्चिमा धर्मका भक्तहरू बाइबलको मोहपाशमा आबद्ध छन् । पश्चिमा मुलुकमा इसाई धर्म छोड्ने र सनातन धर्म अपनाउनेको संख्या बढ्दैछ तर यहाँ चाहिँ त्यसैको अन्धानुकरण भइरहेको छ ।

गौहत्या गर्नेहरूको गाईको मासु खान पाउनुपर्छ भन्ने माग छ । गाईको मासु खानेहरू चन्द्रमामा पुगिसके तर गोमुत्र खानेहरूले केही गर्न सकेका छैनन् । उनीहरूलाई थाहा छैन इण्डियन चन्द्रयान-३ चन्द्रमामा पठाउनेहरू गोमूत्र खाने सनातन धर्मावलम्बीहरू नै हुन् । 

इण्डियन अन्तरिक्ष अनुसन्धान इसरो जसले चन्द्रयान-३ चन्द्रमामा पठायो त्यसको प्रमुख एस.सोमनाथको भनाइ अनुसार विज्ञानको सिद्धान्तको उत्पत्ति वेदहरूबाट भएको हो । अलजेब्रादेखि एभिएसनसम्म सबैथोक पहिला वेदहरूबाट पाइएको हो । पछि विभिन्न माध्यमबाट यो युरोपसम्म पुग्यो । त्यसपछि अनेक वैज्ञानिकहरूले यसलाई अनुसन्धानका रूपमा लिए । उनले भनेका छन् अलजेब्रा, स्कावर रुट्स, कन्सेप्ट्स आर्किटेक्चर, ब्रहृमाण्डको स्ट्रक्चर जस्ता कैयौं चीज सबैभन्दा पहिला वेदहरूमा आएका थिए ।

आधिदैविक, आधिभौतिक र आध्यात्मिक जुन पनि ब्रहृमाण्ड छन् त्यो यो पिण्ड वा मानव शरीरमा छ भनेर हाम्रा ऋषिमुनिहरूले भनेर गएका छन् । यो शरीर ब्रहृमाण्डको ब्लुपिन्ट हो । जसले यसलाई बुझ्यो उसले अनन्त आकाशगंगाले भरिएको त्यो विस्तारलाई पनि बुझ्यो । ॐ असौ वा आदित्यो देवमधु, तस्य द्योरेव तिरशचिनवशोअन्त्रिक्षमपूपो मरीचयः पुत्राः (छन्दोग्य उपनिषद) उनी जो आदित्य छन्, उनी यस्तो छन् जस्तो मौरीको चाका, किरणहरू उनका मौरीहरू हुन् । यी पूर्ण सुवर्णमय छन् । हजारौं वर्षपहिले हाम्रो शास्त्रमा लेखेको कुरापछि मात्र आएर अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाए ।

जब संसारको सबैभन्दा ठूलो टेलिस्कोप डेभियन के.इनोयेबाट जब अमेरिकाले काम सुरु गर्‍यो उनीहरूको दृष्टि सूर्यको सतहमाथि पर्‍यो, जसमा सूर्यको सतह सुन जस्तै चम्किोले र मौरीको चाका जस्तै फैलिँदो वा खुम्चिँदो देखिन थाल्यो । उनीहरूले दिएको प्रतिवेदन अनुसार सूर्यको सतहको ढाँचा मौरीको चाकाको सेल जस्तै छ, जुन पूरै सूर्यको सतहमा देखिन्छ । जब यो फैलिन्छ र खुम्चिन्छ तब यसको केन्द्रबाट प्रबल उष्मा निस्किन्छ । यो सेल टेक्सास प्रान्तको आकार जस्तो छ । वैज्ञानिकहरूले भनेका छन्, सूर्यको कोरोना अर्थात् सूर्यको वायुमण्डलको सबैभन्दा बाहिरी भागको विस्तार र सौरविष्फोट निश्चित नै पृथ्वीमा जीवनलाई प्रभावित गर्दछ ।

न्यूयोर्क टाइम्समा छापिएको यो पुरानो समाचारले के कुरा प्रष्ट पार्छ भने जुन कुरा अमेरिकी वैज्ञानिकले अहिले आएर पत्ता लगाएका छन् त्यो कुरा हाम्रा ऋषिमुनिहरूले हजारौं वर्ष अगाडि पत्ता लगाइसकेका थिए । यति पुरानो वैज्ञानिक सनातन धर्ममाथि, यसको आस्थामाथि आक्रमण भइरहँदा सनातन धर्मावलम्बीहरू चुप लागेर बस्नु कायरता हो । नेताहरू कोही सामाजिक कुरा भएकोले नबोल्ने, कसै कसैले सामाजिक सद्भावलाई बिथोल्नु हुँदैन भन्दै सनातनीहरूको मुखमा बुजो लगाउन खोज्ने कहाँसम्मको न्यायोचित कुरा हो ?

परमाणु बमका पिता ओपनहाइमरले जब विश्वमा पहिलो चोटि परमाणु बम हिरोसिमा र नागासाकीमा विष्फोट भयो तब उनले गीताको यो श्लोक सम्झे (कालोअस्मि लोकक्षयकृत्प्रवृद्धो लोकान्समाहर्तुमिह प्रवृत्तः । ऋतेअ्पि त्वां न भविष्यन्ति सर्वे येअव्यवस्थिताः प्रत्यनीकेषु योधाः ।। भगवानले भन्नु भयो, म प्रलयको मूलकारण र महाकाल हुँ जो जगतको संहार गर्न आउँछ, तिमी युद्धमा भाग नलिए पनि युद्धको ब्युह रचनामा उँभिएका विरोधी पक्षको योद्धाहरू मारिनेछन् । आफ्नो कारणले त्यति ठूलो नरसंहार भएकोमा उनी आत्मग्लानिले भरिएर अनुतप्त भएर यो गीतावाक्य निस्किएको थियो ।

हाम्रा धर्म, संस्कृति र मौलिकताको महाविनाशकहरूले यति ठूलो विनाश गर्दा पनि पश्चाताप गर्दैनन् । अहिले श्रीकृष्ण साक्षात छैनन् । माथि नै उल्लेख छ ब्रहृमाण्ड हाम्रो शरीरभित्र नै अवस्थित छ, केवल यसलाई ब्रहृमज्ञानले चिन्नुपर्‍यो । धर्मको रक्षा गर्न श्रीकृष्णले कुरुक्षेत्रमा धर्मयुद्ध गरेर पाप तथा पापीहरूको संहार गरेका थिए । यो कलियुगमा सनातन धर्मावलम्बीहरूले आफ्नो प्राचीन गौरवगाथालाई स्मृत गर्दै सनातन धर्मको रक्षाका लागि जाग्नु अपरिहार्य भइसकेको छ ।

एकजना नाम अगाडि पण्डित लेख्ने विद्वानजनले मराठी लेखकको पुस्तकको उदाहरण दिँदै प्राचीन कालमा हिन्दूहरूले गाई खान्थे भनेका छन् । एउटा शब्दको धेरै अर्थ हुन्छ मेधको अर्थ, त्याग, यज्ञ, बुद्धिपूर्वक काम गर्नु र बलिदान हो । जबकि ऋग्वेदमा लेखिएको छ – यः पौरुषेयण करविषा समङ्क्ते यो अश्वेयेन पशुना यातुधानः । यो अघ्न्याया भरति क्षीरमग्ने तेषांशिर्षाणि हरसापि वश्र्च । जुन मानिस नर, अश्व अथवा कुनै अन्य पशुहरूको मांस सेवन गरेर आफ्नो शरीरको अंश बनाउँछ, गौको हत्या गरेर अन्य जनहरूलाई दूध आदिबाट वञ्चित गर्छ, हे अग्निस्वरूप राजा, यदि त्यो दुष्ट व्यक्ति कुनै अन्य प्रकारले नसुने, तपाईंले त्यसको शिर छेदन गर्न संकोच नमान्नुहोस् ।

अथर्ववेदमा भनिएको छ-हे मनुष्यहरू, तिमीहरूका घरहरूमा प्रजावतीः, उत्तम सन्तानवाली, जौको क्षेत्रमा चर्ने, शुद्ध जल पिउने गौ हो र यसको सुरक्षा यस्तो होस् कि कुनै चोरले यसलाई चोर्न नसकोस् र पापी डाका आदिले गाईलाई आफ्नो वशमा गर्न नसकून् ।

यज्ञलाई अघ्वर अर्थात् हिंसारहित र गाईलाई अघ्न्या पनि भनिन्छ । ती विद्वानले नरमेध, गोमेध आदि प्रथा वेदमा भएकोले त्यस बेला नरबलि, गोबलि दिएर त्यसको मांस खान्थे भनेका थिए । अश्वमेध, अश्वाको अर्थ हुन्छ विनाश्वासको अवस्था, जो योगबाट प्राप्ति हुन्छ । मेधको यज्ञ । श्वासलाई स्थिर पारेर ध्यान गर्नु पनि एउटा यज्ञ हो । शतपथमा भनिएको छ, अश्वमेध राष्ट्रको एकीकरण गर्ने, राष्ट्रको गौरव, कल्याणका लागि गरिने यज्ञ । जुन हाम्रा पृथ्वीनारायण शाहले गरेका थिए । गौको अर्थ गाई मात्र हुँदैन, यसको अर्थ इन्द्रिय र पृथ्वी पनि हुन्छ । गोमेधको अर्थ हो आफ्नो इन्द्रियलाई वशमा पार्ने यज्ञ वा पृथ्वीलाई स्वच्छ र प्रदुषणरहित राख्ने यज्ञ ।

शतपथ र निघण्टुमा भनिएको छ, अन्नलाई दुषित हुनबाट जोगाउनु, आफ्नो इन्द्रियलाई वशमा राख्नु, सूर्यका किरणहरूबाट उचित उपयोग लिनु, धरतीलाई पवित्र राख्नु गोमेध यज्ञ हो । गोको अर्थ पृथ्वी पनि हुन्छ । नरमेध यज्ञ भनेको मानिसको मृत्युपछि उसको शरीरलाई वैदिक विधिपूर्वक अग्निसंस्कार गर्नु । मनुष्यलाई उत्तम कार्यका लागि प्रशिक्षित एवंं संगठित गर्नु पनि नरमेध यज्ञ हो तर आज कथित विद्वानहरूले अर्थको अनर्थ लगाई गौहत्यालाई जायज ठहराइरहेका छन् ।

प्राचीन कालमा राजाले युद्धमा जितेपछि अश्वमेध यज्ञ गर्दथे । यो अश्वमेध अर्कै हो । यो एउटा सार्वभौम राजाले राज्यविस्तारका लागि गर्ने यज्ञ हो । जहाँसम्म उनका सेना घोडाका पछि पछि जान्छन् त्यो राज्यका राजाले ती राजाको अधीनता स्वीकार्नु पर्ने अन्यथा युद्ध गर्नुपर्ने हुन्थ्यो । यस यज्ञका लागि अक्षत घोडालाई यज्ञकुण्डमा राखेर नुहाइन्थो । एक वर्षसम्म त्यस घोडालाई अबन्ध छाड्ने र अन्य घोडासँग खेल्न दिने गरिन्थ्यो । त्यसको शिरमा एउटा जयपत्र बाँधेर छाडिएको हुन्थ्यो, जसको पछाडि पछाडि एक सय राजकुमार, एक सय राजसभाषद, एक सय उच्च अधिकारीका पुत्र र एक सय साना अधिकारीका पुत्र घोडाको सुरक्षाका लागि पछि पछि लाग्थे । यो अश्वमेध यज्ञ हो । यहाँ घोडा काटेर खानु होइन कि घोडाको सुरक्षा गर्नु हो ।

गाईलाई अघ्न्या भनिएको छ । यसको व्याख्या गर्दै भनिएको छ । न हन्तव्या भवति । जसको वध गर्नु पाप हो भनिएको छ । अथर्ववेदमा भनिएको छ प्रजावतीः सुयवसे रुशन्तिः शुद्ध अपः सुप्रपाणे पिवन्तीः । मा वस्तेन ईशत माघशंसः परि वो रुद्रस्य हेतिर्वृणक्तु ।। हे मनुष्यहरू, तिमीहरूका घरहरूमा प्रजावतीः, उत्तम सन्तानवाली, जौको क्षेत्रमा चर्ने, शुद्ध जल पिउने गौ हो र यसको सुरक्षा यस्तो होस् कि कुनै चोरले यसलाई चोर्न नसकोस् र पापी डाका आदिले गाईलाई आफ्नो वशमा गर्न नसकून् । रुद्र परमात्माको वज्रशक्ति तिम्रो चारैतिर विद्यमान छ । वेदहरूमा गाईको वध गर्नेहरूलाई कडा सजाय दिन लेखिएको छ ।

अथर्व वेदमा लेखिएको छ यदि नो गांं हंसि यद्यश्वंं यदि पूरुषम् । तंं त्वा सीसेन विध्यामः ।। राजन, यदि कुनै मनुष्यले हाम्रो गाई, अश्व आदि पशुहरूलाई मार्छ, त्यो हत्यारालाई कठोर दण्ड दिएर हाम्रो रक्षा गर्नुस् । तर हाम्रो राज्यव्यवस्था तथा शासक वर्ग प्रायजसो सनातन धर्मावलम्बीहरूको आवरणमा ख्रिष्टान भएकोले गोवधलाई दुरुत्साहित वा रोक्ने छैनन् बरू यस निहूँमा द्वन्द्व फैलाएर आफ्नो तथा आफ्ना मालिकहरूको भलो नै गर्नेछन्् । तसर्थ, सनातन धर्मावलम्बीहरू नै आफ्नो धर्म तथा गोरक्षाका लागि जाग्नुपर्छ । धरानको शान्ति प्रदर्शनमाथि सरकारले प्रतिबन्ध लगाए पनि अब यदि राष्ट्र र सनातन धर्म बचाउने हो भने सनातन धर्म सापेक्ष राष्ट्रको पुनरागमन गराउन सनातन धर्मावलम्बी तथा नेपाली मुस्लिमहरू मिलेर बृहत् जनआन्दोलन गर्नुको विकल्प छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?