अपडेट : पहिरोले स्कार्पियो च्यापिँदा तीन जनाको मृत्यु, ७ घाइते (मृतक र घाइतेको विवरणसहित)

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा ढुंगासहितको सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार विहान गुल्मीको तम्घासबाट पाल्पा हुँदै बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को गाडी सडक स्तरोन्नति गरेको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिदा तीन जनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रेसुङा नगरपालिका –७ भुजेलखर्ककी ५० वर्षीया मनकला चुदारा, तानसेन नगरपालिका – ११ कुरुङखोला घर भई हाल गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार ४२ वर्षीय यम बहादुर बोहोरा र पोखरा उपमहानगरपालिका – २४ हेम्जाका ३० वर्षिय विनोद तिमिल्सेना रहेका छन् ।

दुर्घटनामा ७ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिनुुभयो । घाइते हुनेहरुमा गुल्मीको रेसुङ्गा नगरपालिका– ८ खानीगाउँकी ४० वर्षीया शोभा घर्ती मगर, सोही ठाउँकी ३७ वर्षीया सुस्मा राना, उनको छोरीहरु ६ वर्षीया सुरबी राना, ५ महिनाकी सुबिया राना, सोही ठाउँका ४५ वर्षीय टेक बहादुर जि.एम., २७ वर्षीया स्विकृती थापा र उनको छोरा ५ वर्षीय सुरेन थापा रहेका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइतेहरुको अवस्था सामान्य रहेको छ । चालक रेसुङ्गा नगरपालिका– ८ खानीगाउँका ३६ वर्षीय बालकृष्ण श्रेष्ठ भने सकुसल रहनुुभएको छ । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको स्कार्पियोलाई विहान सवा ८ बजेको समयमा पाल्पाको जोर्तेस्थित पाल्पा–गुल्मी सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहितको पहिरो खसेर लागेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?