विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो ।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाउनुभयो । उहाँले ५४ बल खेल्दै एक चौकासमेत हिर्काउनुभयो । उहाँ खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । यस्तै, अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाउनुभयो । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेनन् ।

बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक/एक विकेट लिनुभयो । मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाएर ७९ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिंगमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाउनुभयो ।

बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई/दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक–एक विकेट लिनुभयो । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।
त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?