समाजवादी मोर्चाको कर्णाली भेला :

सरकार जोगाउन मोर्चा गठन नगरेको प्रचण्डको स्पष्टोक्ति, विश्वास र समझदारी नभए मोर्चा नटिक्ने नेपालको चेतावनी

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । सरकारमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र संसदीय मोर्चा बाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मलित चार दलीय मोर्चा गठनदेखि नै विभिन्न टीका टिप्पणी भइरहेको छ । कतिपयले समाजवादी मोर्चा सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई तर्साउन गठन गरिएको टिप्पणी गर्दै आएका छन् । कतिपयले भने आफू नेतृत्वको सरकार टिकाउने चालबाजीको रूपमा समाजवादी मोर्चालाई हेर्दै आएका छन् । तर, गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको स्पष्टिकरण दिनुभएको छ । बिहीबार समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार जोगाउन मोर्चा गठन नगरेको र आफूलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको जिकिर गर्दै भन्नुभयो, ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रूपमा लगाउनबाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्‍यो उसो गर्‍यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठिकै छ, एक महिनाको भए पनि ठिकै छ । जे गर्छु राम्रो काम गर्छु,राम्रो काम गर्दागर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि मलाई सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन ।’ आफूले सरकारले नेतृत्व गरेको आठ महिना हुन लागे पनि गठबन्धनमा पनि अझै राम्रो हुँदै उहाँको दाबी छ ।

एमालेभित्र चिरा पर्ने संकेत देखिएको दाबी
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र धाँजा परेको टिप्पणी समेत गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण कार्यकर्ता हैरान भएर विस्फोट हुने अवस्था आएको दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘म अहिले नाम लिएर भन्दिनँ, आफूलाई ठूलो पार्टीको नेता भन्नेका कारण प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ,नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान/परेसान भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा पुगेको छ । त्यसबाट कम्युनिष्ट आन्दोलनको नयाँ धु्रवीकरण सुरु हुने मेरो विश्वास छ ।’ प्रधानमन्त्री प्रचण्डले जनता सडकमा आएकै कारण प्रतिनिधिसभा पुनःस्थापना सम्भव भएको स्मरणसमेत गर्नुभयो । सरकारले गरेको राम्रो कामका कारण गठबन्धन र मोर्चा भत्काउन विरोधीहरू धुप हालेर लागिपरेको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाएर हेरिरहेका छन् । उनीहरू नक्कली कम्युनिष्ट हुन् । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो । राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु । भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चालिएको छ । यो रोकिनेवाला छैन ।’

केन्द्रदेखि तल्लो तहसम्म सौहार्दपूर्ण वातावरण हुनुपर्छ : नेपाल
मोर्चा आबद्ध दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाभित्र केन्द्रदेखि तल्लो तहसम्म सौहार्दपूर्ण वातावरण हुनुपर्ने बताउनुभएको छ । मोर्चाको नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म विश्वास र समझदारी हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको संयोजकसमेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, ‘सबै तहमा राम्रो विश्वास र समझदारी भएन भने मोर्चा टिक्न सक्दैन ।’ एकतासहितको शक्तिले परिवर्तन ल्याउने मान्यतासहित मोर्चा गठन गरिएको उहाँको स्पष्टोक्ति छ । अध्यक्ष नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुनसमेत आग्रह गर्नुभयो । सरकारले सही काम गरिरहेको कारण कुनै पनि शक्तिले ढाल्न नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस् । कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन-पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौँ ।’

सरकारमा रहेका कम्युनिष्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारूढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको दाबी गर्दै मोर्चाका संयोजकसमेत रहनुभएका नेपालले भन्नुभयो, ‘कसै-कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिष्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन । सत्तारूढ गठबन्धनमा रहेका सबै एक ठाउँमा छौँ ।’

भ्रष्टाचारविरुद्धको लडाइँमा साथ दिन्छौँ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने महासचिव चन्दको भनाइ छ । भ्रष्टाचारी जोसुकै भए पनि छुट दिन आवश्यक नभएको जिकिर गर्नुभएका चन्दले आफ्नै पार्टीका नेता भ्रष्टाचार र मानव बेचविखनमा संलग्न रहेको पाइए पनि कारबाही गर्न आग्रह गर्दै भन्नुभयो, ‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुहोस् चोकको मोर्चाबाट हामी लड्छौँ । कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’
प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै महासचिव चन्दले भन्नुभयो, ‘सरकारविरुद्ध घेराबन्दी भएको छ । कानुन, प्रशासन, अर्थतन्त्र, अदालत, सम्पूर्ण प्रशासनयन्त्र, अन्तर्राष्ट्रिय शक्तिबाट घेराबन्दी भएको छ ।’

सुशासनको अभियानलाई असफल गराउने दुस्प्रयत्न भइरहेको छ : श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुस्प्रयत्न भइरहेको बताउनुभएको छ । जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरू संगठित भएर सरकारको अभियान असफल गर्न लागे पनि सुशासनको अभियानबाट सरकारले विश्राम नलिने स्पष्ट पार्दै श्रेष्ठले भन्नुभयो, ‘जुन प्रवृत्तिका विरुद्ध, जुन तागतका विरुद्ध अभियान सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरू संगठित भएर यसलाई असफल गराउने दुस्प्रयत्न पनि गर्दै छन् । तर, सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । यसकारण हामी यसलाई सफल बनाई छाड्छौँ ।’ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गृहमन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकार आवश्यक : किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । मुलुकको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको उल्लेख गर्नुभएका मन्त्री किराँतीले यी साझा समस्यालाई समाधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘भ्रष्टाचार साझा शत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ । राष्ट्रिय सहमतिको सरकारबाट हामीले यो गरिबीको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, अशिक्षाको अन्त्य गर्ने बाटो अवलम्वन गर्नसक्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?