म्याग्दीको गुर्जामा इटालियन जातको स्याउ फल्यो : परीक्षण सफल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्व जातका इटालियन जातको स्याउ फलेको छ ।

जिल्लामै पहिलो पटक इटालियन जातको स्याउको परिक्षण खेती गरिएको थियो । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरेको हो ।

इटालीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गरिएको स्याउ खेती सफल भएको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो” उहाँले भन्नुभयोे, “१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै वर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।”

कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा खरीद गरिएको थियो । गुर्जामा स्याउखेतीका लागि गतवर्ष कृषि ज्ञान केन्द्रले रू. एक लाख ५० हजार र गाउँपालिकाले रू. पाँच लाख विनियोजन गरेको थियो ।
गुर्जाको नाइलीबाङमा २६ किसानले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका थिए । गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती भित्र्याइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भएकोले स्याउखेती विस्तार गर्ने योजना यहाँका किसानहरुको रहेको छ ।

यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको वडाअध्यक्ष छन्त्यालको भनाइ छ । “गुर्जामा उच्च घनत्वको स्याउखेती सफल भएमा खेर गइरहेको बाँझो जमीनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ” वडाअध्यक्ष छन्त्यालले बताउनुभयो ।

जिल्लाका अन्य उच्च लेकाली क्षेत्रहरुमा पनि यही प्रजातीको स्याउ खेती विस्तार गरिने कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?