नेपालगञ्ज म्याराथन मंसिर ९ गते

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नवौं धारा नेपालगञ्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुनेभएको छ । म्याराथन आयोजक क्रियटिभ हृयाण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यस वर्ष ९ गते शनिबार हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगजञ्को बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

क्रियटिभ हृयाण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यस वर्ष अघिल्लो वर्षमा चार विधा थप गरी विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाहृय जिल्ला र स्कुलस्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष/महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाहृय जिल्ला गरी अलगअलग स्पर्धा गराई पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

यस वर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ । नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । हरेक दुई वर्षमा आयोजना हुने एम्सको २३औं वार्षिक साधारणसभामा नेपालबाट पहिलोपटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको यहाँहरूलाई जानकारी गराउँछु ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बन्नुभएको थियो । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका भीमबहादुर साउद, छैटौंमा नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बन्नुभएको थियो ।

महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी बन्नुभएको थियो । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बन्नुभएको थियो । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?