अमेरिकी उच्च अधिकारीको आगमन बाक्लिँदै

सिनेटर होलेन काठमाडौंमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एमसिसी कार्यान्वयनमा जान थालेसँगै अमेरिकी अधिकारीको आगमन बाक्लो हुन थालेको छ । शुक्रबार अमेरिकी सिनेटर क्रिस भान होलेनले परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्नुभएको छ । सिनेटर होलेनले शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री साउदलाई भेट्नुभएको हो । उक्त भेटवार्तामा नेपाल–अमेरिकाबीच द्विपक्षीय विषय र बहुआयामिक सहकार्यको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले आठ दिने दक्षिण एसियाको औपचारिक भ्रमणमा आउनुभएको हो । यो क्रममा उहाँले नेपालसहित, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्नुहुने छ ।

होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुनुहुन्छ । उहाँले तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरीलयाण्डका व्यक्तिहरूसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । होलेनले आफ्नो भ्रमणका क्रममा प्रत्येक राष्ट्रहरूसँग अमेरिकाको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन काम गर्ने जनाइएको छ । नेपाल भ्रमणमा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग सम्पर्क राख्ने कार्यक्रम रहेको पनि उहाँको सचिवालयले जनाएको छ ।

गत मंगलबार पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आउनुभएको थियो । बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसिसी सम्झौता कार्यान्वयनमा गएको छ । सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको थियो । यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसिसीका सम्झौता कार्य सञ्चालनसम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आउनभुएको हो । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?