समाजवादी मोर्चाको पोखरा सभा :

ललितानिवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको प्रधानमन्त्रीको दाबी, निष्पक्ष भएर अघि बढ्न नेपालको सुझाव

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भएको दाबी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मिलित समाजवादी मोर्चाले शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब अध्यक्ष नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गर्नुभएको हो । ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सिआइबीले गतसाता सोधपुछ गरेको प्रसंगमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो । ललितानिवास जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छानविन गर्दा निर्दोष सावित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखे । पहिलोचोटि उहाँ निर्दोष हो भन्ने सावित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन । सिआइबीले उक्त प्रकरणमा बयान लिएको र निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएको छ ।’

सिआइबीले निर्दोष सावित गरेसँगै आफ्नो पनि टेन्सन हटेको जिकिर गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो । केपी ओली प्रधानमन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको थियो । अब त्यो स्थिति रहेन ।’ सरकार निर्दोष नफसुन्, दोषी नछुटुन भन्ने मान्यताका साथ अगाडि बढेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले दोषी जेल गइरहेका र निर्दोषहरू निर्दोष सावित भएको दाबी गर्नुभयो ।

सुन तस्करीमा धेरै खालका मान्छेहरूको सेटिङ रहेको भनाइ
प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको बताउनुभएको छ । क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘त्यस (सुन तस्करी)मा धेरै खालका मान्छेहरूको सेटिङ छ । सेटिङ नभईकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो ।’ ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाई देशको अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उहाँको भनाइ छ ।

समाजवादी मोर्चा निर्वाचनका लागि नभएको स्पष्टोक्ति
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गर्नुभएको छ । मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो । एउटै विचार र उद्देश्यमा केन्द्रित हुनु गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो ।’ अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभई नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिरसमेत गर्नुभयो ।

भ्रष्टाचारको फाइल खोल्दा निष्पक्ष हुनुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारका फाइल खोल्दा निष्पक्ष भएर अघि बढ्न आग्रह गर्नुभएको छ । शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरूको साथ रहने स्पष्ट पार्दै भन्नुभयो, ‘भ्रष्टाचारका फाइल खोल्नुभएको छ । कुरा मात्र होइन उहाँले (प्रचण्डले) देश विकासका योजना पनि सुनाउनुभएको छ । भ्रष्टाचारी कोही उम्कँदैनन् भनेर प्रतिबद्धता जनाउनुभएको छ । त्यसमा बदलाको भावनाको आधारमा होइन, निष्पक्ष अघि बढ्नुस् । हामी सबैको साथ रहन्छ ।’

समाजवादी मोर्चाबारे केहीले नकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्नुभएका नेपालले त्यस्ता टिप्पणी गर्नेलाई सकारात्मक काम गरेर जवाफ दिनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘समाजवादी मोर्चाबारे नकारात्मक टीका टिप्पणी गर्नेलाई जवाफ दिनुपर्छ । नकारात्मक कुरा गर्नेलाई सकारात्मक काम गरेर जवाफ दिनुपर्छ । आत्तिनु पर्दैन । संघदेखि स्थानीय तहसम्मको जिम्मेवारीमा रहेकाहरूले राम्रो काम गरेर देखाउन सक्नुपर्छ ।’

माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको छ : चन्द
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव चन्दले जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि माओवादी एकै ठाउँमा उभिसकेको दाबी गर्नुभयो । व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान स्मरण गर्दै चन्दले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताउनुभएको हो । सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई हत्याराको प्रचार गरिएको भन्दै चन्दले यस्ता कुप्रचारमाथि माओवादी एकैठाउँ उभिएर लड्ने उल्लेख गर्नुभयो । माओवादी नेताहरूलाई जेल पठाउने षड्यन्त्र भइरहेको दाबी गर्दै महासचिव चन्दले भन्नुभयो, ‘जनयुद्ध लडेर आएका नेताविरुद्ध षड्यन्त्र हुँदै छ, गणतन्त्र ल्याउने माथि षड्यन्त्र भइरहेको छ । अहिले प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, कार्यकारी प्रमुखसमेतले मुद्दा व्यहोर्नु परेको छ । छिटोभन्दा छिटो अपराधी करार गरेर जेल पठाउने षड्यन्त्र भइरहेको छ । हामी खबरदारी गर्न चाहन्छौँ माओवादीहरूले फुट्न मात्र होइन जुट्न पनि जानेका छन्, जनताको अधिकार खोस्ने षड्यन्त्रविरुद्ध हामी लड्छौँ ।’

ललितानिवास जग्गा प्रकरणमा संलग्नको आइतबारदेखि थुनछेक
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न १८ जना प्रतिवादीहरुको बयान पूरा भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १८ जना प्रतिवादीले बयान दिएका हुन् । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १८ जनालाई पक्राउ गरेको थियो । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरूको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुनेछ । बालुवाटारस्थित ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना तीन पैसा तीन दाम हिनामिना भएको सिआइबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?