२८ बर्षदेखि तदर्थ समितिको नेतृत्वमा खानेपानी, संस्था दर्ता र लेखा परिक्षण कहिले होला ?

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एउटा खानेपानी २८ बर्षदेखि निरन्तर एउटै व्यक्ति र एउटै टिमले संस्थाको नेतृत्व गरिरहेको छ भन्ने सुन्दा तपाइँलाई अचम्म लाग्ला तर अचम्म मान्नु पर्ने केही छैन । २८ बर्षसम्म निरन्तर नेतृत्व गर्ने मात्र होइन अहिलेसम्म न त संस्था दर्ता छ । न त अहिलेसम्म लेखा परिक्षण नै भएको छ ।

लेखा परिक्षणको बिषय मात्र हैन अहिले पनि त्यस संस्थामा तपाईले कुनै रेकर्ड माग्न जानु भयो भने प्लाप्टीकका पोका र कापीका पानाहरू पल्टाएर अधुरा र अपुरा रेकर्डहरू देख्न पाउनुहुन्छ । यसरी चलेको संस्था बर्दघाट १३ धनेवामा रहेको जहदा मनहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाको हो । स्थानीयलाई शुद्ध र गुणस्तरीय खानेपानी वितरण गर्नका लागि २०५२ सालदेखि काम भइरहेको छ ।

दलिय भाग भण्डामा बनाइएको उक्त समितिको नेतृत्व गर्न तात्कालिन समयमा नेकपा एमालेलाई अध्यक्ष र केही सदस्य, नेपाली कांग्रेसलाई उपाध्यक्ष, कोषाध्यक्ष र केहि सदस्य दिएर अन्य पदहरू समेत भागबण्डामा गरी बनाइएको तदर्थ समिति बनेको अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘एमालेलाई परेको कोटाबाट म अध्यक्ष भए भने नेपाली कांग्रेसको कोटाबाट उपाध्यक्षमा तोलाकान्त चापागाई पर्नु भएको हो । पछि माओवादीको कोटाबाट सचिवमा डिबि थापा पर्नु भएको हो । कोषाध्यक्षमा नेपाली कांग्रेसबाट मेनुका आचार्य र सह-सचिब पुष्पा पौडेल हुनुहुन्छ त्यही समितिले नै अहिलेसम्म काम गरीरहेका छौं ।’

संस्थाको लामो समयसम्म दर्ता भएको छैन । दर्ताको लागि समितिले २०७० सालमा दर्ता गर्न भनी बिधान बनाए पनि अहिलेसम्म दर्ता भएको छैन । संस्था अहिलेसम्म दर्ता नभएको स्वीकार्दै अध्यक्ष न्यौपानेले सस्था दर्ता गर्ने फाइल पेस गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामीले डिभिजन कार्यालयमा पेस गरेको फाइल परासीमा आएको बाढीले हामीले पेस गरेका कागजात पुरै नष्ट भएको खबर पायौं ।’ परासीमा बाढी आएको करिब ३ बर्ष बित्दासमेत समितिले फेरि सस्था दर्ताका लागि कुनै पनि पहल गरेको छैन ।

करोडौंको आर्थिक कारोवार गरेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २०७८ चैत्र १३ गतेबाट आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण शुरु गरेको छ । खानेपानी वितरणका लागि आवश्यक पर्ने डिप बोरिङ धसाउँदा शुरुमा उपभोक्तहरूबाट जनही १ हजार रुपैयाका दरले रसिद काटेर पैसा उठाइएको थियो । तर कार्यालयमा भने त्यसको पुरा विवरण भेटिदैन । भेटिएका ठेली र कापिका पानामा भएको हिसाब छ । जुन स्पष्ट हिसाब लेखाको सिस्टम अनुसार हिसाब देखिँदैन । अध्यक्ष न्यौपानेले हिसाब नगदी रसिदको ठेली र कापीमा रहेको बताइ रहदा सचिब डि।बि। थापाले भने हिसाब चुस्त दुरुस्त रहेको बताउनु भयो । थापा भन्नुहुन्छ, ‘हामीले राखेका सबै हिसाब किताब चुस्त दुरुस्त छ पत्रकार साथीहरुलाई शंखा लागे कार्यालयमा आएर हेर्ने सक्नुहुन्छ ।’ सचिव थापाले चुस्त दुरुस्त हिसाव छ भने पनि सस्थामा रहेको लेखा बिधि अनुसारको हिसाव छैन ।

संस्था दर्ताको बिषयमा बोल्दै सचिव थापाले सस्था दर्ताका बिषयमा आफूहरु लागि परेको बताउनुभयो । सचिब थापाले सस्था दर्ताका लागि परेको बताए पनि संस्था दर्ताका लागि तीन बर्षदेखि कुनै पनि फाइल पेस गरेको छैन । अध्यक्ष न्यौपानेका अनुसार अबका केहि दिन भित्र सस्था दर्ताको थप प्रक्रियामा जाने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘परासीको डिभिजनमा फाइल पेस गरेपछि फाइल नष्ट भयो भन्ने जानकारी पायौ त्यसपछि केहिले के कहिले के गर्दा गर्दै अहिलेसम्म सस्था दर्ताको लागि फेरि फाइल पेस गरेका छैनौ ।’

जहदा मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दघाट-१३, धनेवाले अहिले २ वटा बोरिङ (६५० फूट र ४९५ फूट गहिरो) बाट ४५ किमि क्षेत्रमा पाईप विस्तारगरी ५५८ वटा पानीका धाराहरु वितरण गरेको छ । २ लाख २५ हजार लिटर क्षमताको खानेपानी ट्याङकी निमार्ण भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?