गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडिबुटी खेत प्रभावकारी बन्दै गएको छ ।
तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) लगाएतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा १ लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा लगाएत अन्य बहुमूल्य जडिबुटी निकै राम्रोसँग फस्टाउँदै गएकोले गुर्जालाई जडिबुटीको हब र अध्ययनकेन्द्र बनाउन लागिएको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले बताउनुभयो ।

समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर रोपेका विरुवा अहिले उत्खनन योग्य बनेका उहाँले बताउनुभयो । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको एक सय ५ मिटर लामो पर्खाल समेत निर्माण भएको छ ।
“हामीले जडिबुटी खेतीको पनि परिक्षण गरिसक्यौं” वडाअध्यक्ष छन्त्यालले भन्नुभयो “परिक्षण सफल भयो,अव हामीले गुर्जालाई देशैभरीका अध्ययेताहरुका लागि लक्षित गरी जडिबुटी अध्ययन केन्द्र बनाउने तयारीमा छौं ।”

वडाअध्यक्ष छन्त्यालका अनुसार यहाँ अतिस, विषमा, खिरौला, विषजरा,पदमचाल, अमलवेद लगायतका दुई दर्जन बढी प्रजातिका जडिबुटी खेती सुरु भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक आर्थिक वर्ष ०७९/८० मा जडीबुटी खेतीका लागि ४ लाख ८० हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

“उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्,” उहाँले भन्नुभयो “प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत कार्यालयले सहयोग गरेको हो ।” यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेति विस्तार भएको हो ।

बाँझो खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जडिबुटी खेती समूहका अध्यक्ष तुलसी छन्त्यालले जानकारी दिनुभयो ।
“यसअघि गरिएको खेती सफल भयो । यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ,” उहाँले भन्नुभयो “बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।”

०७७ सालमा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । ०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।
समुद्री सतहदेखि ३ हजार २ सयदेखि ३ हजार ७ सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्त्वपूर्ण उपचार पद्धतिको रूपमा अतिस प्रयोग हुन्छ ।

गुर्जामा फल्यो इटालियन स्याउ

हिमाली जिल्ला म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्व जातका इटालियन जातको स्याउ फलेको छ ।
जिल्लामै पहिलो पटक इटालियन जातको स्याउको परिक्षण खेती गरिएको थियो । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरेको हो ।

इटालीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गरिएको स्याउ खेती सफल भएको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो” उहाँले भन्नुभयोे, “१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै वर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।”

कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा खरीद गरिएको थियो । गुर्जामा स्याउखेतीका लागि गतवर्ष कृषि ज्ञान केन्द्रले रू. एक लाख ५० हजार र गाउँपालिकाले रू. पाँच लाख विनियोजन गरेको थियो ।

गुर्जाको नाइलीबाङमा २६ किसानले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका थिए । गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती भित्र्याइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भएकोले स्याउखेती विस्तार गर्ने योजना यहाँका किसानहरुको रहेको छ ।

यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको वडाअध्यक्ष छन्त्यालको भनाइ छ । “गुर्जामा उच्च घनत्वको स्याउखेती सफल भएमा खेर गइरहेको बाँझो जमीनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ” वडाअध्यक्ष छन्त्यालले बताउनुभयो ।

जिल्लाका अन्य उच्च लेकाली क्षेत्रहरुमा पनि यही प्रजातीको स्याउ खेती विस्तार गरिने कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?