सेयर बजारमा सुधार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विगत केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार सोमबार भने ७.०४ अंक बढेर १९६७.८३ अंकमा पुगेको छ । यस दिन १३ समूहमध्ये १२ समूहको परिसूचक बढेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेको छ । व्यापार सर्वाधिक १.०६ प्रतिशतले बढेकोमा फाइनान्स ०.०२ प्रतिशतले घटेको छ । बाँकी ११ समूहगत सूचकको वृद्धिदर पनि एक प्रतिशतभन्दा कम छ । नौ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको यस दिन थ्रिस्टार हाइड्रोपावर, दोल्ती पावर कम्पनी, ग्रिन भेन्चर्स लिमिटेड, रुरु जलविद्युत् परियोजना, आशा लघुवित्त र अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

लिबर्टी इनर्जीको सेयर ९.९८ प्रतिशतले घटेर १८२ रुपैयाँ ३० पैसामा झरेको छ भने कुमारी धनवृद्धि योजनाको इकाई ७.७८, सिक्लेस हाइड्रोपावर ६.१०, आरबिबी म्युचुअल फण्ड-२ को इकाई ५.७८ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ को इकाई ५.७० प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार एक अर्ब १८ करोडको सेयर कारोबार भएकोमा सोमबार एक अर्ब नौ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन दुई सय ७० कम्पनीका ३४ लाख ३२ हजार दुई सय ६७ कित्ता सेयर कारोबार भएका हुन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको आइएमई लाइफ इन्स्योरेन्सको पाँच करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्ट्स चार करोड १९ लाख, नबिल बैंक तीन करोड ८५ लाख, सोल्टी होटल तीन करोड ३८ लाख र एनआइसी एसिया बैंकको दुई करोड ६५ लाखको सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?