नेपाल रेडक्रस : राजनीति हस्तक्षेप र स्वार्थैस्वार्थको भुँमरीमा

हिमालय टाइम्स
Read Time = 19 mins

✍️ सूर्यप्रसाद ढकाल

युद्धमा परेका मानिसहरूको मानवीय पीडा कम गर्ने उद्देश्यले १६१ वर्ष पहिले जाँ हेनरी ड्युनाले सन् १८६३ मा स्वीजरल्याण्डबाट सुरु गरेको अभियान २४औं शताब्दीको प्रारम्भसम्म आइपुग्दा पनि आवश्यकता र महत्व अरू बढेको छ, यसको भूमिका अरू थपिएको छ । रेडक्रस अभियान विशुद्ध मानवीय सहयोग, तटस्थ र निष्पक्ष रूपमा स्वतन्त्र अभियान हो । त्यसैले विश्वमा सबै धर्म सम्प्रदाय, जातजाति, राजनीतिक समूह, युद्धरत सबै पक्ष र वर्गले घाइते सैनिक तथा युद्ध प्रभावित सबैखाले मानिसको स्वीकार्यतामा रेडक्रस रहेको छ । विश्वमा १९० भन्दा बढी देशमा फैलिएको यति ठूलो सञ्जालरूपी अभियानमा नेपालमा ६१ वर्ष पहिला विश्व रेडक्रस अभियानको १०० वर्ष पश्चात् विसं २०२० भाद्र १९ बाट कार्यरत रहेको छ ।

सुरुको अवस्थामा विश्व रेडक्रस अभियानले युद्ध प्रभावितलाई सहयोग गर्ने गरेको भएपनि पछिल्ला समयमा रेडक्रसले सबैखाले मानविय विपत्ति र महामारीबाट श्रृजित पीडासँग जोडेर कार्य गर्न थालेको छ । फलतः अझै पनि रेडक्रसको प्रमुख कार्यलाई नियाल्दा द्वन्द्वको समयमा निष्पक्ष र तटस्थ भूमिकाका साथ युद्ध प्रभावितका लागि मानवीय सहायता, उद्वार तथा राहतका कार्य नै हो । अहिले रेडक्रस युद्धको अलावा सबैखाले विपद् र महामारीमा उद्वार राहतमा अग्रस्थानमा रहेको छ । युद्धको समयमा आइसी.आर.सी.ले अग्रणी भूमिका निर्वाह गरेर सेवा प्रदान गर्दछ भने विश्वभरिकै सबैखाले विपद्-महामारीमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ/फेडरेसनले अग्रणी भूमिका निर्वाह गरेको हुन्छ ।

नेपाल रेडक्रसको स्थापना भएदेखि नै युद्धमा प्रभावितको सहयोग, सबैखाले विपद् र महामारीमा सरकारको सहयोगी निकायको रूपमा अग्रणी भूमिका निर्वाह गर्नुको अलावा देशभरि नेपाल सरकारको निर्णय अनुसार रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा पनि प्रमुख कार्यको रूपमा सञ्चालन गरेको छ । अन्य राष्ट्रिय सोसाइटीहरूको सहयोगमा सामुदायिक विकासका क्षेत्रमा पनि सरकारसँग साझेदार गरेको छ । नेपालमा रेडक्रस स्थापना हुनु पहिला तिब्बती शरणार्थीहरूका लागि सहायता गर्न नेपाल रेडक्रस स्थापना हुनु पहिला नै जोडिएको थियो । त्यस्तै ठूला विपद्मा पनि जोडिएको देखिन्छ ।

नेपाल रेडक्रस नहुँदा काम गर्न, मानवीय सहायतामा आवश्यक सहयोग पु¥याउन कठिनाइ भएको महसुस गरी नेपाल सकारकारको तत्कालीन स्वास्थ्यमन्त्री डा.नागेश्वरप्रसाद सिंह र सामाजिक व्यक्तित्व डा.जयनारायण गिरीको सक्रियतामा नेपालमा रेडक्रस स्थापना भयो । 

नेपाल रेडक्रस नहुँदा काम गर्न, मानवीय सहायतामा आवश्यक सहयोग पु¥याउन कठिनाइ भएको महसुस गरी नपाल सकारकारको तत्कालीन स्वास्थ्यमन्त्री डा.नागेश्वरप्रसाद सिंह र सामाजिक व्यक्तित्व डा. जयनारायण गिरीको सक्रियतामा नेपालमा रेडक्रस स्थापना भयो । नेपाल सरकारले ७ फेब्रुअरी १९६४ (तद्अनुसार २०२० माघ २४) मा जेनेभा महासन्धिमा हस्ताक्षर गरी रेडक्रस खोल्ने बाटो खोलेको थियो ।

कुनै पनि राज्य जेनेभा महासन्धिको पक्ष राष्ट्र हुन् भने वा जेनेभा महासन्धिमा हस्ताक्षर गर्ने भनेको आफ्नो देशमा कानुन बनाई रेडक्रसलाई युद्ध र सबैखाले विपद्मा स्वतन्त्रपूर्वक काम गर्न दिन्छु भन्नु हो । त्यसैअनुसार २०२० भाद्र १९ मा तत्कालीन अधिराजकुमारी श्री ५ प्रिन्सेस शाहको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन भयो । उक्त समितिले मिति २०२१ असार २८ गते विधान बनाएर सो अनुसार प्रथम साधारण सभा सम्पन्न गरेको थियो । त्यस पश्चात् विश्वकै नमुना रेडक्रसको रूपमा विकसित भएको नेपाल रेडक्रसमा पछिल्लो समयमा राजनीति हावि हुने, सीमित स्वार्थ समूहहरूको सिन्डिकेट र घेरबन्दीमा रेडक्रस रहन पुग्यो ।

केही दशक यता विधान बनाउँदा आफू अनुकूल बनाउने, सदस्य बनाउँदा आफ्नो समूहकालाई मात्र वितरण गरी सीमित रूपमा गर्ने, सदस्यता खुला भने पनि खुला रूपमा वितरण नगरिने परिपाटी विकास भयो । बिस्तारै आफ्नो समूहविपरीतको व्यक्तिहरूलाई साम, दाम, दण्ड, भेदका नीति, सिण्डीकेट र विभिन्न वेरियर लगाएरमाथि आउन नदिने परिपाटी विकास हुँदै गए । उपशाखा, जिल्ला शाखा जुन राजनीति समूहका हातमा रहेको छ, त्यसै समूहका व्यक्तिले मात्र सदस्यता पाउने, तिनै समूहको कब्जामा रेडक्रस रहृयो । कर्मचारीहरू नियुक्ति पाउनु पनि तिनै राजनीति समूहका वा पार्टीका व्यक्ति हुनुपर्ने र सीमित स्वार्थ समूहका व्यक्तिहरूको आफन्त हुनुपर्ने भयो ।
विदेश जान, अन्य सुविधा लिन पनि तिनै समूहभित्र पर्नुपर्‍यो । जसका कारण रेडक्रस कार्यसमिति, कर्मचारी सबै त्यही समूहभित्र नपरेमा, साझा र स्वतन्त्र कुरा गरेमा, रेडक्रस सिद्धान्त, आचारसंहिताका कुरा गर्नेहरू रेडक्रसका प्रतिपक्षको रूपमा हेरिन थालियो । हुँदा हुँदा सेवा कार्यमा पनि आफ्ना राजनीतिक समूहकाले बढी पाउने अवस्था देखिन थाल्यो । विश्वकै नमुनाको रूपमा विकसित भएको नेपाल रेडक्रस राजनीति र स्वार्थ समूहको चंगुलको दल-दलमा भासिन पुगेको छ ।

नेपाल रेडक्रस स्थापना कालदेखि जुन रूपमा तटस्थ, निष्पक्ष र स्वतन्त्र रूपमा स्वयंसेवकहरूबाट सञ्चालित संस्थाको रूपमा विकास भएको थियो । यो विश्व समुदाय र विश्वका रेडक्रसकर्मीका लागि नमुना थियो । २०४६ सालको परिवर्तन पश्चात केही राजनीति छिर्न खोजे पनि २०६२/०६३ सम्मको आन्दोलनसम्म आइपुग्दा पनि राम्रै काम गरेको देखिन्छ । तर, बिस्तारै भित्रभित्रै सेटिङ् हुँदै जाँदा वि.सं. २०७५ पश्चात झण्डै पाँच वर्ष यो संस्था नराम्रोसँग थलिन पुगेको छ । संस्थामा नियमित निर्वाचन हुन सकेन । बीच-बीचमा सरकार परिवर्तनसँगै तदर्थ समिति परिवर्तन भए । पक्ष-विपक्षबाट गर्न खोजिएका कामहरूमा अवरोध आए ।

त्यतिमात्र होइन नेपाल रेडक्रस मुद्दै मुद्दाको भारीले थिचिन पुग्यो । पछिल्लो समय २०८० साउन २ गते वर्तमान सरकारको पहलमा निर्वाचन सम्पन्न भएपनि त्यसको आधिकारिकताको विषयमा अर्काे पक्षले प्रश्न र विवाद तेस्र्याउनुको साथै कामकार्यमा अवरोध सृजना गरेको छ । बैंक खाता अप्डेट हुन सकेको छैन, संस्था नवीकरण भएको छैन, करोडौं रुपैयाँ सरकारलाई राजस्व तिर्न बाँकी रहेको देखाइएको छ । फेडेरेसन र आइसिआरसी अनि अन्य राष्ट्रिय सोसाइटीहरू नेपाल रेडक्रसका राजनीतिक र स्वार्थ समूहका झगडाको कारण सहयोग गर्ने मेलो मेसो नपाएर बसेको छ । सरकार र राजनीतिक दलहरूको भूमिका आगोमा तेल थपे जस्तो देखिन्छ । अदालतमा परेका मुद्दामामिलाहरू प्राथमिकतामा देखिँदैन ।

अझै पनि प्रदेश शाखा र केही जिल्ला शाखाहरूले राम्रो काम गरेका छन् । केही जिल्ला शाखा र केन्द्र पछिल्लो समय पूरा राजनीतिक घेराबन्दीमा रहेका छन् । जसको कारण सिंगो नेपाल रेडक्रस स्वार्थीहरूको भुँमरी र चक्रबिन्दुमा फसेको छ ।केन्द्रीय तहमा कर्मचारीहरू २÷३ समूहमा देखिन्छन् । हुन त कतै नलाग्ने क्षमता भएका कर्मचारी पनि रहेका छन्, कति कर्मचारी एउटा समूहको राजनीतिक हस्तक्षप, स्वार्थ समूहको कारबाहीका शिकार पनि हुन थालेका छन् । एउटा समूह आएमा अर्को समूहका वा आफ्नो पक्षका कुरा नमानेकालाई पाखा लगाउने र सिध्याउने खेलको सुरुआत भयो । लामो समयदेखि नेपाल रेडक्रसलाई कर्मथलो बनाएर कार्य गर्दै आएका एकथरी इमानदार कर्मचारीहरू समेत यस द्वन्द्वको खाडलमा परेका छन् ।

नेपाल सरकार र सबै राजनीतिक दलहरूले नेपाल रेडक्रस बचाउन, यहाँ भएका राजनीति हस्तक्षप हटाउन, रेडक्रसभित्र भएको र विकसित भएको भनिएको भ्रष्टाचार विकृति, विसंगतिहरू निराकरण गर्न, संस्थालाई पारदर्शी बनाउन, रेडक्रसभित्र विकसित भएको समस्या हटाउन सबै लाग्नुपर्छ ।

स्वयंसेवकहरू पनि अधिकांश एउटा न एउटा समूहमा लाग्ने, अर्को पक्षलाई सक्ने खेलमा तछाड मछाड गर्ने देखिन्छ । २०७५ सालपछि सरकारको आडमा रेडक्रस माथिको राजनीति चरम सीमामा पुगेको छ । अहिले निःस्वार्थ सेवाभावले लागेका केन्द्रीय तह, जिल्ला तह र उपशाखा तहका स्वयंसेवकहरू, युवा स्वयंसेवक र रेडक्रसलाई निष्पक्ष र तटस्थ मानवीय संस्थाको रूपमा हेर्ने व्यक्ति र निकायहरू पनि नेपाल रेडक्रस केन्द्रीय तहको गाईत्राजा र त्यो गाईजात्राका लाखेहरूको उरेउठेलो नाँच देख्दा दङ्ग परेका छन् । स्वार्थमा लाग्नेहरूलाई ‘झरे आँप नझरे एउटा झटारो’ मात्रको सोच छ । उनीहरूलाई आफ्नो रजगज नचल्ने हो भने, आफ्नो कब्जामा नेपाल रेडक्रस नचल्ने हो भने नेपाल रेडक्रस खारेजी होस् वा आइएफ्आरसीले सेन्सस गरोस् कुनै मतलब छैन, त्यस्तो सोच दुवै खाले समूहमा उत्तिकै छ । उनीहरू ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेका छन् ।

नेपाल सरकारले पनि यति ठूलो मानवीय संस्थाको मर्म नबुझेर, रजनीतिक हस्तक्षप गरेको गरै छ । जबसम्म सरकारले कानुन बनाएर रेडक्रसलाई चल्न बाटो खुल्दैन, रेडक्रसमा लाग्नेहरू राजनीतिक पदमा रहने वा राजनीतिक पदमा नरहे पनि उच्च राजनीतिले अभिप्रेरित भएका व्यक्ति समूहको हातबाट खोसेर विशुद्ध रेडक्रस भावनाले ओतप्रोत भएका व्यक्तिलाई जिम्मा लगाइँदैन अनि कर्मचारी पनि राजनीति गर्ने र स्वार्थ समूहको पक्ष लाग्नेलाई हराएर एउटा कर्मचारीको उच्च मनोवल र शुद्ध आचरण र रेडक्रस आचारसंहिताभित्र बसेर काम गर्ने व्यक्तिहरू राखिँदैन, तबसम्म नेपाल रेडक्रस सोसाइटी सुदृढ हुँदैन । अहिले नेपाल रेडक्रस विघटनको अन्तिम संघारमा छ अनि वार कि पारको अवस्थामा छ ।

अब नेपाल रेडक्रस रेडक्रसकर्मी, कर्मचारीहरबाट आफै सुधार्न सक्ने अवस्थामा छैन । नेपाल रेडक्रसले नेपालभित्र र नेपाल रेडक्रसका स्वयंसेवकले नेपालबाहिर विश्व समुदायमा देखाएको मानवीय सहायता कार्यको अरू बढी मूल्यांकन हुने, भूमिका बढ्ने बेलामा विभिन्न स्वार्थ समूह र राजनीति चंगुलको घेराबन्दीका कारण नेपाल रेडक्रस विघटनको अन्तिम संघारमा छट्पटाइरहेको छ । यसलाई जोगाउन, वचाउन अन्तिम पटक सोचौं र सदुपयोग गरौं ।

अरूलाई उद्वार राहत प्रदान गर्ने यति ठूलो संस्थालाई अहिले आफैँलाई समस्या परेको छ, उद्धारको खाँचो छ । अब समय कत्ति पनि खेर नफाली छिटोभन्दा छिटो नेपाल सरकारको ध्यान जानु परेको छ । नेपाल रेडक्रसका निःस्वार्थ भावले लागेका विशुद्ध स्वयंसेवक इमानदार र क्षमतावान कर्मचारी, नेपाल रेडक्रसको लागि सहयोग गर्न र सुधार गर्न बनेको सिएमसी समितिले ठूलो मेहेनत गर्दा पनि सरकार र राजनीतिक दलहरूको हस्तक्षपका कारण समाधान हुन सकेको छैन । सरकारले एक पटक एक कदम अगाडि बढेर नेपाल रेडक्रस बचाउनु पर्‍यो ।

अहिले पछिल्लो ५ वर्ष देखि एशिया महादेशबाटै पहिलो पटक रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ÷फेडरेसनको महासचिव जस्तो गरिमामय पदमा नेपाली नागरिक जगन चापागाई पुगैके बेला नेपाल रेडक्रस सेन्सस हुने कार्वाही हुनु भनेको जगन चापागाई आफैंलाई नमज्जा लाग्नु र लज्जाको विषय हो साथै नेपाल सरकार, नेपाली र नेपाल रेडक्रसका स्वयंसेवकहरूका लागि विश्व समुदाय कूटनीतिक नियोग, १९० भन्दा बढी देशका रेडक्रस सामु ठूलो बोइज्जत हो । देशका लागि ठूलो घाटा हो र त्यसको साथसाथै विश्व समुदायमा लज्जाको विषय हो ।

नेपाल सरकार र सबै राजनीतिक दलहरूले नेपाल रेडक्रस बचाउन, यहाँ भएका राजनीति हस्तक्षप हटाउन, रेडक्रसभित्र भएको र विकसित भएको भनिएको भ्रष्टाचार विकृति, विसंगति निराकरण गर्न, संस्थालाई पारदर्शी बनाउन, रेडक्रसभित्र विकसित भएको समस्या हटाउन सबै लाग्नुपर्छ । सरकारले स्वतन्त्र छानविन समिति गठन गरी नेपाल रेडक्रसमा भएको भनिएको राजनीतिलगायत समस्याको यथार्थ कुरा पत्ता लगाउनुपर्दछ । अव नेपाल रेडक्रस बचाउने एउटै पाटो भनेको राजनीतिक आडमा मौलाएका समै समूहहरू, विशुद्ध रेडक्रसकर्मीहरू, रेडक्रसका इमानदार कर्मचारीहरू र सरकारसहितको गोलमेच छलफलबाट सबै मुद्दामामिला फिर्ता लिनेबाटो मिलाइनुपर्छ र सरकारबाट निश्पक्ष छानविन समति गठन गरी आर्थिक लगायत समग्र उठेका विषयमा अध्ययन गरी दोषीमाथि कारबाही गरिनुपर्दछ ।

अनि संघीयता अनुरूप रेडक्रसको विधान परिमार्जन गरी कार्यान्वयनमा ल्याउनको लागि ठोस निर्णयमा जानुपर्दछ । यदि यसो गर्न नसकेमा नेपाल रेडक्रसको भविष्य केही दिनपछि अरू कठिन र अन्धकारमय बन्दै जानेछ । छिटोभन्दा छिटो कानुन बनाएर नेपाल रेडक्रसलाई कानुनसम्मत चलाउनुपर्दछ । नेपाल रेडक्रस सोसाइटीले भदौ १९ गते ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ ६१औं स्थापना दिवस मनाउँदै गर्दा यसका स्वयंसेवक, कर्मचारी, शुभचिन्तक, सरकार, राजनीतिक दल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, आइसिआरसी र विभिन्न राष्ट्रिय सोसाइटीहरू सबैमा मनैदेखि नेपाल रेडक्रसको यो समस्या समाधान गर्ने उपाय प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।
(लेखक : नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?