दश वर्षपछि हुम्लामा एनसेलको फोर-जी सञ्चालनमा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा एनसेलले आफ्नो फोन सेवा विस्तार गरेको दश वर्षपछि फोर-जी सेवा सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले टावर जडान गरेको दश वर्षपछि मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको हाे ।

सदरमुकाम सिमकोटमा एनसेलको टावरले सिमकोट गाउँपालिका-५ र ६ वडा र बजार क्षेत्रमा मात्रै काम गर्दै आएको छ । अन्य टाढाका स्थानमा रहेका वडाहरुमा यसले काम गर्छ वा गर्दैन भन्ने विषयमा जानकारी केही दिनमा लिने प्राविधिक रामजन रावतले बताउनुभयो ।

प्राविधिक रावतका अनुसार एनसेल टावर जडान गरेको दश वर्षपछि फोर-जी सेवा मङ्गलबारदेखि सञ्चालनमा आएको छ । अहिले सदरमुकाममा मात्रै काम गरिरहेको रावतले बताउनुभयो ।

फोर-जी सेवा सञ्चालनमा नहुँदा यसका सेवाग्राहीको संख्या कमै भएपनि अब फोर-जी जडानपछि बढ्ने अपेक्षा लिएको रावतको भनाई छ । अहिले एक सय देखि दुई सय जनाको साथमा मात्रै एनसेलको सिम कार्ड रहेको अनुमान रावतको छ । ग्राहकलाई द्रुतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा पनि फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ ।

कर्णाली प्रदेशका दशवटा जिल्ला मध्ये हुम्लामा अन्तिममा यो सेवा सञ्चालनमा ल्याइएको हो । केही दिन अघि जुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा एनसेलले फोरजी सेवा जडान गरेर सञ्चालनमा ल्याएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?