काठमाडौं । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने नाराका साथ सुरु गरिएको राष्ट्रिय कृषि गणना २०७८ को नतिजा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन् । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेका थिए ।
कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । अहिलेको कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । अघिल्लो कृषिगणना २०६८ ले क्रमशः एक करोड २० लाख ९६ हजार चारसय १७ र ३.२ रहेको थियो ।
यसपटकको गणनाअनुसार कृषक परिवारले १२ लाख नौ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएका छन् । जुन कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको छ । तर, अघिल्लो कृषि गणनामा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । सिञ्चित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर अर्थात् ७२.७ प्रतिशत रहेको छ ।
हाल नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन् । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टरमा कृषि कार्य गरेका थिए ।
सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली २५ लाख ८६ हजार एकसय ८३ मा लगाएको छ भने अन्य बाली क्रमशः कोसे÷दाल बाली एक लाख ९९ हजार आठ ४४.८ हेक्टर, तेल बाली एक लाख ८० हजार एकसय ४१.१ हेक्टर, तरकारी बाली एकलाख सात हजार सातसय ३३.८ हेक्टर, कन्दमूल बाली एक लाख चार हजार ७३७.८ हेक्टर, मसला बाली ५६ हजार ८९३.५ हेक्टर र नगदेबाली ४४ हजार ६९.३ हेक्टर रहेको छ ।
त्यस्तै, अघिल्लो गणनाअनुसार आठ लाख ४५ हजार कृषक परिवारले कृषि कार्यका लागि ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ झण्डै दोब्बर १६ लाख ३९ हजार पुगेको छ भने चार लाख ७१ हजार २६० कृषक परिवारले पावर ट्रिलर प्रयोग गरेको एक लाख १७ हजार ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेका छन् । त्यस्तै, चार लाख ८३ हजार २०८ अर्थात् ११.७ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका छन् । २०६८ को गणनामा यस्तो ऋण लिने कृषक परिवार संख्या आठ लाख ३५ हजार ९२१ अर्थात् २१.८ प्रतिशत थियो । त्यसैगरी, एक लाख ८२ हजार ४४१ अर्थात् ४.४ प्रतिशत कृषक परिवारले कृषि बिमा गरेका छन् । यसरी बिमा गरेकामध्ये सबैभन्दा बढी एक लाख ५३ हजार ९६२ अर्थात् ८४.४ प्रतिशत कृषक परिवारले पशुपालन कार्यका लागि बिमा गरेको बताएका छन् ।
त्यसैगरी, तीन लाख आठ हजार ५१२ अर्थात् ७.५ प्रतिशत कृषक परिवारले सरकारी अनुदान पाएका छन् भने अनुदान पाएकामध्ये सबैभन्दा बढी एक लाख ४२ हजार ५७६ अर्थात् ४६.२ प्रतिशत कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएका हुन् । अघिल्लो कृषि गणनाअनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेकोमा २०७८ को गणनाअनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको छ । ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि नै रहेको छ तर अघिल्लो कृषि गणना यो प्रतिशत ८३.१ प्रतिशत थियो । त्यस्तै, ४५ प्रतिशत कृषक परिवारले कृषि कार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् । अघिल्लो कृषि गणनामा ४० प्रतिशतले मात्रै वर्षभरि खान पुग्ने बताएका थिए । कृषक परिवारमध्ये २६ प्रतिशतले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन छन् । अघिल्लो गणना यस्तो प्रतिशत १६ रहेको थियो ।
२०१८ सालदेखि हरेक १०-१० वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्यांक कार्यालय (साबिकको केन्द्रीय तथ्यांक विभाग) ले २०७८ चैत १ गते देखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्यांक संकलन कार्य गरेको थियो । तीनै तहका सरकारलाई आवश्यक कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यसहित सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ संघीयतापछिको पहिलो कृषि गणना हो ।
विगतका कृषि गणनामा जिल्लास्तर सम्मका कृषि तथ्यांक मात्र प्रकाशन हुँदै आएकोमा यसपटक सातसय ५३ वटै पालिकासम्मका कृषि तथ्यांक संकलन गरिएको छ । वैज्ञानिक विधिबाट तीन लाख ३० हजार ११२ कृषक परिवार छनोट गरी कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण संकलनका लागि पाँच हजार १५० गणक, एक हजार ३५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतसहित करिब सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरूपमा परिचालित भएका थिए । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले राष्ट्रिय कृषि गणनामा प्राविधिक सहयोग गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच