लगानी बोर्डको १२ औँ वार्षिकोत्सव : १२ वर्षमा साढे १२ खर्बको लगानी स्वीकृत

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसात गरी दिगो आर्थिक विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । लगानी बोर्ड नेपालको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । लगानीका दृष्टिले नेपाल विश्वमै उत्कृष्ट स्थान रहेको सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले लगानी बोर्डजस्तो उच्च तहको शक्तिशाली निकायको स्थापनापछि पूर्वाधार निर्माणसम्बन्धी आयोजनामा स्वदेशी तथा विदेशी ठूला लगानीकर्ता आकर्षित गर्न सहज भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले नेपालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरी लाभान्वित हुन सक्नुपर्ने भन्दै बुट मोडलमा केही विकास निर्माण आयोजना सञ्चालन गरेको नेपालले सार्वजनिक, निजी तथा सहकारी (पिपिपी)को अवधारणाअन्तर्गत पूर्वाधार निर्माणसम्बन्धी ठूला आयोजना सञ्चालनको पहल गर्न बोर्डलाई निर्देशनसमेत दिनुभयो ।

बोर्डले १२ वर्षमा ४२ विकास आयोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको जनाएको छ । ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्र गरी उक्त लगानी स्वीकृत गरेको जनाएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गरिने बताउनुभयो । विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानीसमेत नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्न लागिएको उहाँको भनाइ थियो ।

मन्त्री महतले नेपालमा आर्थिक वृद्धिका राम्रा संकेतहरू देखिएको दाबी गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाहृय लगानी भित्रिने उहाँको भनाइ थियो । भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोहीअनुसारका सम्झौता गर्ने मन्त्री महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र विभिन्न समस्याबाट गुज्रिरहेको छ तर राम्रो दिन आउँदै छ । राम्रा संकेतहरू देखापर्न थालेका छन् । यसको मतलब यो होइन कि हामी समस्यारहित भइसक्यौँ । समस्या छन् तर ती समस्या हटाउँदै आर्थिक वृद्धि गर्ने राम्रा अवसरहरू अब सुरु हुन्छन् । त्यस्ता संकेतहरू पनि देखिन थालेका छन् । हाम्रो विदेशी मुद्राको सञ्चिति राम्रो छ । पर्यटक आगमन वृद्धि भइराखेको छ । त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाइड्रोपावरले प्रगतिको लय पक्रिराखेको छ । इण्डियासँग जुन सम्झौता भएको छ, त्यसले लगानीकर्तालाई एउटा सुनिश्चित मार्केट प्रदान गरेको छ ।’ सो अवसरमा मन्त्री महतले नेपालमा बाहृय लगानी भिœयाउने काममा लगानी बोर्डले अझ प्रभावकारी पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लगानी बोर्डको कार्यालयले १२ वर्षमा ४२ विकास आयोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको जनाएको छ । ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्र गरी ४२ वटा आयोजनाका लागि उक्त लगानी स्वीकृत गरेको जनाएको हो । सो अवधिमा पाँच खर्ब २५ अर्ब रुपैयाँको लगानी परिचालन भएको पनि बोर्डले जनाएको छ । १२ वर्षमा प्रतिदिन छ हजार र तीन हजार टन सिमेन्ट उत्पादन क्षमता भएका हृवाङ्सी र हुवासिन सिमेन्ट उद्योग सञ्चालनमा आएको, धरानमा बेष्ट टु इनर्जी परियोजना सञ्चालनमा आएको, नौ सय मेगावाटको अरुण तेस्रो र २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चार सय ५० मेगावाटको सेती नदी- ६ र पश्चिम सेती जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण कार्य भइरहेको छ भने तीन सय २७ मेगावाटको अपर मस्र्याङ्दी-२ को डिपिआर मूल्यांकन भइसकेको छ । बोर्डले भारतीय संयुक्त लगानीको कम्पनी डाबर नेपालले थप नौ अर्ब ६८ करोड लगानी गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?