पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नवआदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौंको न्यु डायमण्ड एकेडेमी र बुटवलको न्यु एभरेष्ट भलिबल क्लब सहभागी हुनेछन् । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।

राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेतालाई एक लाख ५० हजार एक सय ११ का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुने टिमलाई जनही एक लाख एक हजार एक सय ११ र तृतीय हुने टोलीले ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तीज महोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितासहित सितोरियो कराँते प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूह तीज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमलगायत हुनेछन् । समाजले भलिबल प्रतियोगिताका माध्यमबाट खेलकुदको विकासका साथै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको समाजका पूर्वअध्यक्ष बुद्धिबहादुर खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?