काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तामा विचलन देखिएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले कतिपय केन्द्रीय नेतादेखि विभिन्न तहका कार्यकर्ता र जनप्रतिनिधिको आचरण तथा व्यवहारमा विचलन देखिएको बताउनुभएको हो । विभिन्न समयमा विभिन्न नेता कार्यकर्ताहरूमा गम्भीर विचलन तथा विवादका घटना सार्वजनिक हुन थालेको भन्दै अध्यक्ष ओलीले सचिवालय बैठकमै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहारबारे गम्भीर छलफल गर्नुपर्ने प्रस्तावसमेत गर्नुभएको छ ।
शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र शुद्धीकरण अभियान चलाउने पनि प्रस्ताव गर्नुभएको छ । अध्यक्ष ओलीले २०८१ लाई पार्टी शुद्धीकरण वर्षको रूपमा निर्ममतापूर्वक लैजानुपर्ने जिकिर गर्दै पछिल्ला केही वर्षयता पार्टीका नेता कार्यकर्ताको आचरणको कारण पार्टीले प्रश्नको सामना गर्नु परिरहेको बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पार्टीका कतिपय नेता कार्यकर्ता र जनप्रतिनिधिहरूको आचरण र व्यवहारहरूमा गम्भीर विचलन देखापर्न थालेका छन् । प्रश्नहरू सामाजिक सञ्जाल, मिडिया र जनताको तहबाट उठेका छन् । पार्टीमा लामो समयदेखि यसमा कडाइ नहुँदा यो व्यवहार बढ्यो । जिम्मेवार नेता कार्यकर्ता र जनप्रतिनिधिहरू आर्थिक लेनदेन सार्वजनिक र व्यक्तिगत ठगी काण्ड, चारित्रिक रूपमा विभिन्न काण्डमा परेको आइरहेका छन् । खानपिन र उठबसमा पनि अनुशासनहीनता बढ्यो ।’
सचिवालय बैठकमा अध्यक्ष ओलीले राख्नुभएको प्रस्तावबारे जानकारी दिँदै सचिव योगेश भट्टराईले शुद्धीकरणसम्बन्धी प्रस्ताव गम्भीर रूपमा आएको र यसमा सचिवालयका सबै नेताहरूले एकस्वरमा समर्थन जनाएको बताउनुभयो । सचिव पोखरेलका अनुसार अध्यक्ष ओलीले उठाएको गम्भीर विषयमा पार्टीभित्र समय लिएरै छलफल गर्ने कुरा भएको छ । अनुशासन र आचरणको विषयमा अब पार्टीले अनुहार हेरेर सम्झौता नगर्ने चेतावनी दिँदै अध्यक्ष ओलीले बैठकमा भन्नुभएको छ, ‘यसबारे नेतृत्वबीच छलफल गरौँ समय लिएर यसमा केन्द्रित रहेर छलफल गरौँ । व्यक्तिका बारेमा उठेका कुराहरू पनि भएकाले व्यक्ति केन्द्रित भएर छलफल गरौँ । गम्भीर प्रकृतिका आचरणगत र व्यवहारगत विचलन भएकालाई कारबाही, चेतावनीदेखि सचेत गराउने प्रक्रियामा जाऔँ ।’
उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कतिपय ठाउँमा अभद्र व्यवहार भएको टिप्पणी गर्नुभएको छ । जनतासँग व्यवहार गर्ने सन्दर्भमा पनि कतिपयको बारेमा प्रश्न उठेकाले पार्टीलाई निर्मम ढंगले शुद्धीकरणमा नलगे पार्टीले जनताको विश्वास गुमाउने भएकाले छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । कतिपय नेता कार्यकर्ताहरूले जुनसुकै विदेशीले जहाँ बोलाए पनि दौडेर जाने र पार्टीमा अनुमति वा जानकारीसमेत नगराउने प्रवृत्तिमाथि पनि नियन्त्रण गर्नुपर्नेमा सचिवालय नेताहरूले जोड दिएका छन् ।
सरकारले मुलुकको स्वाधीनतामा आँच पुर्यायो : पोखरेल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले मुलुकको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत् खरिद सम्झौतामा नेपालको स्वाधीनतामाथि आँच आउने खालको प्रावधान रहेको उहाँको दाबी छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफलसमेत नगरेको भन्दै आपत्तिसमेत जनाउनुभयो । उहाँले सत्तारूढ गठबन्धनले मुलुकको स्वाधीनता र स्वतन्त्रताका मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरूलाई वर्तमान सरकारले अघि बढ्न नदिएको आरोपसमेत लगाउनुभयो ।
भारतसँग भएको सम्झौताप्रति महासचिव गुरुङको असन्तुष्टि
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा बिहीबार भएको चार बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउनुभएको छ । महासचिव गुरुङले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गत खर्च गर्ने रकम बढाएर २० करोड रुपैयाँ पु¥याइएको प्रति असन्तुष्टि जनाउनुभएको हो । साना विकास परियोजनाको शीर्षक नै परिवर्तन गरी २० करोडको उच्च प्रभावयुक्त सामुदायिक परियोजनामा सम्झौता भएकोमा भारतको नीतिप्रति आशंका व्यक्त गर्दै महासचिव गुरुङले भन्नुभयो, ‘भारतको सत्तापक्षले नेपालमा अंग्रेज साम्राज्यपालादेखि नै राजनीतिक प्रभुत्व जमाउँदै आएको सर्वविदितै छ । उसले नेपालमा राजनीतिक प्रभुत्व मात्र होइन, धार्मिक, सांस्कृतिक, जल, जमिन, उद्योग, खनिज, आकाशलगायत सबै क्षेत्रमा अतिक्रमण गर्दै आएको छ । उच्च प्रभावयुक्त सामुदायिक शीर्षकमा २० करोड सिधै खर्च गर्नसक्ने प्रावधानले अब छिमेकीविरुद्ध सैन्य दृष्टिले अगाडि बढ्न खोजेको हो कि भन्न शंका व्यक्त भएको छ । भारतको पछिल्लो नीति यसअघि अमेरिकी साम्राज्यले सैन्य प्रभाव रहेको अफगानिस्तानलगायत मुलुकहरूमा शीघ्र प्रभावयुक्त परियोजनासँग मिल्दोजुल्दो छ ।’ अमेरिकी रणनीतिको सिको गर्दै भारत नेपालप्रति सैन्य रणनीतितर्फ उन्मुख भएको हो कि भन्ने धेरै आशंका जन्मिएको उहाँको जिकिर छ ।
द्वैध चरित्र नदेखाउन कम्युनिष्ट नेतालाई निधिको आग्रह
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले भारत सरकारको तर्फबाट दिइने २० करोड रुपैयाँसम्मको अनुदान परियोजनाहरूका सन्दर्भमा गलत टिप्पणी नगर्न चेतावनी दिनुभएको छ । नेता निधिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पहिलेदेखि नै सञ्चालित र अहिले रकम बढेर आएका यस्ता परियोजना सकारात्मक रहेको जिकिर गर्दै मनमौजी ढंगले सम्झौता भएको भन्नु आधारहीन रहेको तर्कसमेत गर्नुभएको छ । निधिले यस्ता अनुदानबाट नेपालका कम्युनिष्ट पार्टीका नेताहरू र सबै पार्टीका नेताका साथै समाजका विभिन्न क्षेत्रका अगुवाले पनि आ–आफ्नो प्रभाव क्षेत्रमा विद्यालय, पुल र क्याम्पस भवनहरू निर्माण गराएको बताउनुभएको छ । उहाँले आफैँ भारतीय राजदूत वा अधिकारीमार्फत उद्घाटन गराउने र अहिले आएर त्यसको विरोध गर्ने द्वैध चरित्र नदेखाउन आग्रहसमेत गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका निधिले भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका उपलब्धिबारे विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच