घट्दै छिमेकी, हराउँदै गाउँको रौनक

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरबिराहट र खेतबारीमा गहुँ र तोरीको हरियोपहेलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरी पहेंलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका-३ का ६९ वर्षिय डेकवहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिदैन ।

तर, विगत एक दशकयता म्याग्दीमा बसाइसराइँको क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तरार्धमा पुगेका जेष्ठ नागरिकहरुका छिमेकी घट्दै गएका छन् । म्याग्दीको ग्रामिण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन् ।

जिल्लाका ग्रामिण क्षेत्रसम्म विकास र पूर्वाधारको पहुँच पुगेपनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामिण बस्तीमा प्रयोगविहिन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ ।
बि.स. २०६८ मा एक घर परिवार भित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा३.६७ जना मात्र वस्ने गरेको देखिन्छ ।

ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाको ६ वटै स्थानीय तहमा समेत बि.स. २०६८ को जनगणना अनुसार जनसंख्या कमी रहेको देखिन्छ । म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा विदेशिनेको संख्या १० हजार ७१३ रहेको छ । जसमा पुरुष ८ हजार ८४३ र महिला १८ सय ७० रहेका छन् । २५ हजार ३७४ घरधुरी२९ हजार २४२ परिवार संख्याको बसोबास छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ ।
जिल्लाको कु्ल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ । बैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्याधिक छ । पछिल्ला बर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको छ ।

सुविधाको खोजीमा गाउँका अलि हुनेखानेहरु बसाइँसराइ गरेर शहर केन्द्रीत हुन थालेपछि ग्रामिण बस्तीमा जनसंख्या पातलीदै गएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।“घर संरक्षणको अभावमा खाली हुदाँ खेतबारी बाँझोमा परिणत भएको छ,संघीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन” भण्डारीले भन्नुभयो ।

उहाँले शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई विपन्न परिवार समेत गाउँबाट विस्थापित हुन थालेकोमा चिन्ता ब्यक्त गर्नुभयाे । संघीय ब्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायतका आधारभुत आवश्यकताले ग्रामिण बसाईमा आकर्षित गर्न नसकेको अवस्थामा नयाँ जनसंख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको बताउनुभयो ।

बसाइसराईको कारण ग्रामिण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको सङख्या कम छ । गाउँमा उत्पादन भएका बस्तु शहरमा बिक्रि हुने गरेको खाद्यान्न र कृषिजन्य बस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ ।

“यूवाहरू विदेशमा छन, अशक्त वृद्धबृद्धाको सेवा गर्नेहरूको समेत कमी छ” मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजनाहरू सञ्चालन गरेपनि आम्दानीको हिसावले सन्तुष्ट हुने अवस्था नभएकाले शहर बजार र विदेश जाने गरेका बताउनुभयो ।

बसाइँसराईको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाई छ । म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ जना छ ।

म्याग्दीका ६ वटै स्थानीय तहका अधिकांश गाउँमा २०७७ सालमै मोटरबाटो पुगेको छ । धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जा बाहेक जिल्लाका अरु ३९ ओटा वडामा मोटरबाटो पुगेको छ । अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ ।

खानेपानीका धारा घरघरमा पुगेका छन् । टेलिफोन टावर पुगेका छन् । गाउँ-गाउँमा विद्यालय बनेका छन् । सबै वडामा स्वास्थ्य चौकीसमेत बनेका छन् । तर मानिस धमाधम बसाइ सर्दैछन् । गाउँका अधिकांश घर खाली छन् । कोही बसाइँसराइको कागजपत्र बनाएर बसाइ सरेका छन् भने कोही नबनाइकनै गाउँ छोडेर हिंडेका स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ ।

स्थानीय, प्रदेश तथा संघका सबै निर्वाचनमा राजनीतिक दलहरूले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिएकोमा अब ती आश्वासनहरु पूरा गर्ने समय आएको मालिका गाउँपालिका-६ का विरबहादुर सिउथानीले बताउनुभयो ।

म्याग्दीका ६ वटै पालिका बसाइँसराइलाई कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदे वालीलगायतलाई प्राथमिकता दिने सोचमा छ । बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ-सर्ने बढेका छन् । साथै बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षालगायत विविध कारणले आन्तरिक बसाइँ-सराइको संख्या बढ्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?