जिल्लाको एकमात्र बहिरा विद्यालयमा शिक्षकलाई तलब खुवाउने पैसा छैन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 10 mins

स्याङ्जा । सिद्धार्थ राजमार्गबाट स्याङ्जाको बाडखोलाबाट करिब ५०० मिटर माथि उकालो चढेपछि बाटोदेखि माथि एउटा विद्यालय छ चण्डिकालिका बहिरा आवासीय प्राथमिक विद्यालय । यो पुतलीबजार-३ स्थित हमालडाँडामा अवस्थित छ, जहाँ एकदमै विपन्न आर्थिक अवस्था भएका असहाय बहिरा समुदायका बालबालिकाहरु अध्ययन गर्दछन् ।

हाल यो विद्यालयमा २४ जना बहिरा तथा सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरु अध्ययन गर्दछन् । यो विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु पढ्छन् । वि.सं २०६६ सालमा स्थापना भएको यो विद्यालयमा यसै क्षेत्रका समाजसेवी तथा हाल यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अमिरबक्स मियाले जग्गा १ रोपनी १० आनाभन्दा बढी जग्गा दिएर शुभारम्भ भएको थियो ।

चण्डिकालिका बहिरा प्राथमिक विद्यालयका रुपमा चिनिने यो विद्यालय जिल्लाकै एकमात्र बहिरा विद्यालय हो । यो विद्यालयमा जिल्लाभरिका विभिन्न स्थानबाट बहिरा विद्यार्थीहरु पढ्न आउने गरेका छन् । जिल्लाका वालिङ, चापाकोट, कालीगण्डकीलगायतका विभिन्न ठाउँबाट विद्यार्थीहरु आउँछन्, बाबुआमा नभएका एकदमै विपन्न परिवारका बहिरा विद्यार्थी आउँछन् ।’ विद्यालयकी प्रअ सावित्री शर्मा दोरङ्गाले भन्नुभयो ।

विद्यालय समुदायको सहयोगमा चलेको छ । विभिन्न गैह्र सरकारी संस्थाहरुको सहयोग तथा विदेशी दाताहरुको सहयोगले चलेको छ । बहिराको समस्या बुझ्ने र विद्यालय चलाउन समस्या छ भन्ने बुझ्ने सह्दयी मन भएकाहरुले कहिलेकाँही प्रदान गर्ने सहयोगले यो विद्यालय धानिएको छ । दोरङ्गाले भन्नुभयो, ‘हामीले धेरै दुःख मिहिनेत गरेर यो विद्यालय यहाँसम्म ल्याइपुर्‍याएका छौं । विद्यालयमा आर्थिक समस्या छ । यी सबै विद्यार्थीलाई बिहान बेलुकाको खानादेखि लत्ता कपडा ओड्ने ओछ्याउने किताब झोला ड्रेस सबै सबै हामीले नै व्यवस्था गरिदिनुपर्छ ।’

स्थानीय राम शाहीको सहयोगमा परिवारका सदस्य प्रेमबहादुर शाही र बेलकुमारी शाहीले ९ रोपनी ३ आनाभन्दा बढी क्षेत्रफलको जग्गा दान गरे । त्यस जग्गामा बिट्रिस वेलफेयर भन्ने संस्थाले करिब १ करोडको लागतमा आधुनिक आवास बनाइदियो । आवास बनाइदिएपछि टाढाका विद्यार्थीहरुलाई बस्न खानका लागि समस्या भएन । अहिले पकाउने खाने सुत्ने ठाउँको समस्या छैन । व्यवस्थित कोठाहरु र बेडहरु छन् । भान्साघर बाथरुमदेखि सबै व्यवस्था छ ।

भवनको भित्तामा र छेउछाउमा आया दिदीहरु र शिक्षक साथीहरुले मिहिनेत गरेर तरकारी लगाउनुभएको छ । घिरौला र बोडी धेरै खानुभयो । सकभर यी बच्चाहरुलाई यहीँको स्वस्थ खानेकुरामा खुवाउन पाए भनेर समय अनुसारको तरकारी लगाइन्छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरबक्स मियाले बताउनुभयो ।

विद्यालयको सबैभन्दा ठूलो समस्या भनेको शिक्षक दरबन्दी हो । दुई जना शिक्षकलाई दरबन्दी अनुसारकै पुरै तलब आउँछ । एक जना कर्मचारीको दरबन्दीको पैसा आउँछ । दुई जना आयालाई पनि माथिबाटै तलब आउँछ । विद्यालयबाट दिनुपर्दैन । तर अरु एक जना सरलाई विद्यालयले तलब दिनुपर्ने रहेछ ।

‘विद्यालयमा पैसा नहुँदा सरलाई समयमै तलब दिन सकिएको छैन । हामीसँग विद्यालयमा त्यस्तो केही कोष हुँदैन । मागेर काम चलाउने हो ।’ मियाले भन्नुभयो । ‘हामीलाई एउटा शिक्षकको दरबन्दी दिए शिक्षकको खर्च जुटाउने समस्याबाट मुक्त भइन्थ्यो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरबक्स मियालाई विद्यालयको चिन्ता छ । ‘पैसा छैन पैसा मागेर कसैले दिँदैन । सरकारले हेर्दैन । अरु स्कुलका विद्यार्थीले सरकारबाट खाजा पाउँछन् यस विद्यालयका विपन्न बहिरा विद्यार्थीले खाजा पनि पाउँदैनन् ।’ उहाँले थप भन्नुभयो- ‘यस विद्यालयलाई नगरपालिकाले पनि सहयोग गरेको छैन । नगरपालिकासँग भन्यो जे पनि छैन मात्रै भन्नुहुन्छ । प्रदेशका माननीयहरुलाई भन्यो गराैंला गरौंला मात्र भन्छन्, गर्ने कोही छैन । विद्यार्थीलाई कसरी पाल्ने खुवाउने भन्ने समस्या त छँदै छ थप शिक्षकको समस्याले पिरोलिरहन्छ । दसैं आउन लागेको छ मन भतभती पोलिरहेको छ । कहाँ कोसँग मागेर अहिले तलब दिने होला भन्ने चिन्ताले निद्रा लाग्दैन । विद्यालयमा तारबार नहुँदा यहाँ जो पनि बस्ने बिगार्ने सामान चोर्ने गर्छन् । घेराबार नहुँदा यहाँका सामानहरु समेत हराइरहेका हुन्छन् ।’ अध्यक्ष मियाले दुःखेसो पोख्नुभयो ।

यस विद्यालयमा शिक्षा विभागको सहयोगमा करिब ८४ लाखको लागतमा ९ कोठे पक्की भवन निर्माण भएर त्यसै भवनमा विद्यार्थीहरुले पढ्दै आएका छन् । त्यही विद्यार्थी पढ्ने भवनको पछाडिबाट जमिन चिराचिरा परेको छ । जाली हालेर यसलाई जोगाउन नसके यो भवनै खतरामा छ ।

एकातिर अन्य विद्यालयकै नियमित कोर्स र अर्कातिर साङ्केतिक भाषा पढाउनुपर्ने दोहोरो चेपुवामा यहाँका शिक्षकहरु रहेका छन् । विद्यालयमा बहिरा शिक्षक शिक्षिकाहरु पनि छन् । विद्यार्थीले साङ्केतिक भाषामात्र बुझ्छन् । विद्यार्थीहरुको सुन्न सक्ने क्षमता छैन । सबै साङ्केतिक भाषा बोल्ने बहिराहरुले अन्य सामान्य भाषा बोल्ने मानिससँग बोल्न सक्दैनन् । बहिरा स्कुलमा अन्य साङ्केतिक भाषाबाहेक व्यावहारिक थुप्रै कुरामा नेपाली भाषामा सञ्चार गर्नुपर्छ । त्यसकारण दोभाषे शिक्षक आवश्यक हुन्छ ।

‘विद्यालयकी प्रधानाध्यापक सावित्री शर्मा दोरङ्गाले विगत १२ वर्षदेखि नै यस विद्यालयमा पढाउँदै आउनुभयो । उहाँले पढाउँदा र तालिम लिँदै विस्तारै अनुभव र मिहिनेतले साङ्केतिक भाषा सिक्नुभयो । अहिले उहाँले नै दोभाषेको काम गर्नुभएको छ ।’ अध्यक्ष मियाले भन्नुभयो ।

‘मैले साङ्केतिक भाषासम्बन्धी विभिन्न संस्थाहरुका थुप्रै तालिम लिएकी छु । बहिराहरुको भाषाका थुप्रै कुरा जानेकी छु । कति कुरा सिक्दै पनि छु । बहिराहरुको शब्दकोश टेबुलमा देखाउँदै प्रअ दोरङ्गाले भन्नुभयो, ‘यसमा ४ हजार भन्दा बढी हस्ताकारका शब्दहरु र तिनका चिह्नहरु देखाइएको छ । यसबाट पढेर पनि हामीले सिकिरहेका छौं ।’

‘बहिराका सक्ने अभिभावकले पनि सबै विद्यालयले नै गरिदियोस् भन्ने ठान्नुहुन्छ । कतिले त दसैँ तिहारमा पनि बच्चा लिन आउनुहुन्न । विदामा गएको विद्यार्थीले आउँदा कपडा च्यातेर चप्पल पनि नलगाई आउँछ । गाली गरेर भएन । किनिदिनै पर्‍यो ।’ विद्यालयकी आया दिदी चन्द्रकला क्षेत्रीले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?