श्रीकृष्णको नीति अवलम्बन गर्ने कि

मणि शर्मा
Read Time = 18 mins

नेपालमा जन्माष्टमी पर्व धुमधामसँग मनाइयो । विभिन्न ठाउँमा श्रीकृष्णको रथयात्रा जुन धुमधामसँग मनाइयो यदि यो जनसमूह यदि यहाँ सनातन धर्मको रक्षाका लागि तथा सनातन धर्म सापेक्ष अधिराज्य बनाउन एकजुट हुने हो भने नेपालमा परिवर्तन असम्भव छैन । तर, के गर्ने हामी नेपालीहरू केबल कर्मकाण्डीमात्र बन्छौैं, कृष्णको नाम त जप गर्छौं तर कृष्णले देखाएको बाटोमा हिँड्न चाहँदैनौं । यो नै हाम्रो लागि अभिशाप हो । कृष्णको पूजा गर्नु एउटा कुरा हो तर उनले देखाएको मार्गमा हिँड्ने अर्को ।

यो मार्ग दुष्कर छ तर असम्भव छैन । राम र कृष्ण दुवै भगवान विष्णुको अवतार हुन तर दुबैमा फरक छ । राम पुरुषोत्तम राजा थिए तर कृष्ण राजनीति, राम रण थिए तर कृष्ण रणनीति । प्रत्येक सज्जन मनुष्यको यात्रा रामबाट सुरु भएर कृष्णमा समाप्त हुन्छ । समयले रामलाई कृष्ण बनाउँछ । रामबाट सुरु भएको यात्रा तबसम्म अधुरो छ जब कृष्णमा गएर समाप्त हुँदैन ।

अधर्मीहरू, आततायीहरू, समाजघातीहरू, देशद्रोहीहरू र भ्रष्टाचारीहरू समाप्त पार्न कृष्णको जन्म भएको थियो । जन्म काराबासमा, लालनपालन वृन्दावनमा, बाल्यकालदेखि पुतना आदि राक्षस, राक्षस्नीहरूको बध । कालियानागको दमन, कंसको बध आदि कार्यहरू । उनको जीवन धर्म स्थापना, नारी सशक्तीकरण, समाज सेवा, सामाजिक समरसता, बालसंगठन आदि कार्यमा बित्छ । उनले बालापनमै बाल संगठन गठन गरेर पुँजीवादविरुद्ध युद्धको शंखघोष गरेका थिए । दही, नौनीको घैंटाहरूबाट दही, नौनी चोरेर खानु, ती भाँडाहरू फुटाइ दिनु आदि कार्य एउटा क्रान्ति थियो ।

श्रीकृष्णको बाँसुरीको धुनले समाजको सबै वर्गको मानिसहरू मन्त्रमुग्ध भएर एउटै सूत्रमा बाँधिने प्रेरणा लिन्थे । सबै वर्गका मानिसलाई संगठित गर्ने शक्ति कृष्णको बाँसुरीमा थियो । समाज र धर्मको रक्षाका लागि श्रीकृष्णले बाँँसुरीलाई त्यागेर सुदर्शन चक्र पनि समाते । 

किनकि त्यहाँ ग्वालहरूले दुःख गरेर बनाएका नौनी, दही सबै अपराधी कंश कहाँ मथुरा जाने गर्दथ्यो । उनले यी सबै घटना गराएर मथुरामाथि नाकाबन्दी लगाउनु माता, गोपिनीहरूलाई बाध्य गरेका थिए । आफ्नो ग्राममा उत्पादन भएको वस्तुको बजार पहिला आफ्नै ग्राम हुन्छ भन्ने उनले सन्देश दिए र शत्रु पक्षलाई कहिल्यै अन्नादिले सहयोग गर्न हुँदैन भन्ने यो एउटा सन्देश पनि हो ।

जब पूरै क्षेत्रमा मुसलधार वर्षा भएर ग्रामववासीहरू विपद्मा परे तब उनले गोवद्र्धन पर्वत उचालेर सबैलाई यसमा शरण दिए । यो इन्द्रको आतंकविरुद्धको युद्ध थियो । अन्ततः इन्द्र झुक्नु पर्‍यो । कृष्णले यसबाट यो सन्देश दिए कि एउटा असल नेताको नेतृत्वमा संगठित भए प्रत्येक संकटबाट मुक्ति पाउन सकिन्छ । सामाजिक सुरक्षाको यो उत्तम उपाय हो । बालसंगठन निर्माण गरेर बालबालिकालाई अनुशासनको महत्व उनले सिकाए । बालकृष्णले बालग्वालहरूलाई संगठित गरेर उनीहरूलाई सैनिक प्रशिक्षण, मल्लयुद्ध, गोपनीयता र अन्यायविरुद्ध सशक्त प्रतिकारको शिक्षा दिए र तिनै बालग्वालहरूको सहयोगले उनले कंश, शिशुपाल, पुतना जस्ता धर्मविरोधी तानाशाहहरूको बध गर्न सफल भए ।

गोपिनीहरूसँग रासलीलाको प्रसंग आध्यात्मिक आधारमा नारी सशक्तीकरण र मातृशक्तिको सन्दर्भमा बुझ्नुपर्छ न कि यसको अश्लील व्याख्या गरेर । नारी संगठनको प्रमुख नेतृ राधालाई शास्त्रमा श्रीकृष्णको शक्ति भनिएको छ । ईश्वरीय शक्ति कृष्णलाई पनि मातृशक्तिको सहयोग लिनुपरेको थियो । आजभोलि हामी देख्छौं कि सेनाको कार्यक्रम, प्रशिक्षण, सञ्चालन आदिमा ब्याण्ड बाजाको महत्वपूर्ण भूमिका छ । यो ब्यान्ड बाजाको धून सुनेर सेनामात्र होइन, आमनागरिकको मनमा पनि देशभक्तिको भावना जागृत भएर आउँछ, मन उत्साह, निष्ठा र लगनले भरिएको हुन्छ । श्रीकृष्णको बाँसुरीको धुनले समाजको सबै वर्गको मानिसहरू मन्त्रमुग्ध भएर एउटै सूत्रमा बाँधिने प्रेरणा लिन्थे । सबै वर्गका मानिसलाई संगठित गर्ने शक्ति कृष्णको बाँसुरीमा थियो । समाज र धर्मको रक्षाका लागि श्रीकृष्णले बाँँसुरीलाई त्यागेर सुदर्शन चक्र पनि समाते ।

महाभारतको युद्धभन्दा पहिला श्रीकृष्ण पाण्डवहरूको दूत बनेर दुर्योधनलाई धर्मको शिक्षा दिन पुगे । जसरी भए पनि युद्ध टरेर शान्ति स्थापना होस् भन्ने श्रीकृष्ण चाहन्थे । श्रीकृष्ण पाण्डवहरूलाई पाँच गाउँ दिएर पनि सन्तुष्ट पार्ने नीति लिएका थिए । तर युद्धविना एक अंगुल जमिन पनि दिन्न भन्ने दुर्योधनको घमण्डका कारण कुरुक्षेत्रको महायुद्ध आवश्यक भयो । श्रीकृष्णले भीष्म पितामह, विदुर जस्ता विद्वानहरूलाई पनि दुर्योधनलाई सम्झाउन पठाएका थिए तर केही लागेन । राजासँग भएको पाँच बुँदे सहमति पालन नगर्ने वर्तमान शासकवर्ग दुर्योधनहरू हुन् । दुर्योेधनहरू शान्तिवार्तालाई मान्दैनन्, मान्दछन् केवल युद्ध ।

कुरुक्षेत्रको मैदानमा श्रीकृष्णले आदर्श राजनीति र कुटनीतिको उदाहरण दिए । आफ्ना भाइबन्धु, गुरुजनविरुद्ध हतियार नउठाउने अर्जुनको निश्चयलाई गीताको ज्ञान दिएर धर्मको रक्षाका लागि यी मोहमाया निरर्थक हुन्, कर्मप्रधान हो भन्ने सन्देश दिए । गीताको माध्यमबाट उनले कर्मयोगको बारेमा अर्जुनलाई उपदेश दिए । अर्जुनलाई घोर अवसाद र निराशाबाट बाहिर निकालेर कर्मपथमा अगाडि बढाउनु श्रीकृष्णको सफल कूटनीति हो । उनले गीताको माध्यमबाट फलको आस नगरी कर्म गर्न उपदेश दिन्छन् । जसको फलस्वरूप कुरुक्षेत्रको महासमरमा धर्मको जित हुन्छ ।

श्रीकृष्णले धार्मिक प्रवृत्तिको व्यक्ति हुँदाहुँदै अधर्मलाई साथ दिने भीष्म पितामह, द्रोणाचार्य आदि विद्वानहरू तथा दुर्योधन, कर्ण र अश्वत्थामा जस्ता महायोद्धाहरूलाई समाप्त पार्न संकोच मानेनन्, चाहे छलद्वारा नै किन न गराउन् । पूजा, तीर्थादि गर्दैमा, मन्दिर धाउँदैमा कोही पनि धार्मिक हुँदैनन्, यदि उसले धर्मराज्यको स्थापनामा पाइला बढाउँदैनन् भने वा उसले उनीहरू जस्तै मन्दिर धाउने तर सनातन धर्म विरोध नेताहरूलाई साथ र सहयोग गर्छन् भने । राम र कृष्णमा युगको मात्र नभएर कार्य गर्ने शैलीमा पनि अन्तर थियो ।

रामले अनेक कष्ट सँहदै मर्यादाको पालन गर्दै अधर्मीहरूको विनाश गरेर धर्म स्थापना गरेका थिए । किन्तु द्वापर युगमा त मर्यादा पुरुषोत्तम भएर अधर्मीहरूको नाश गर्दै धर्मको स्थापना असम्भव थियो । समय, काल अनुसार धर्म स्थापनाको नीति फेर्नुपर्ने नीति लिनुुुपर्छ भन्ने सन्देश दिए श्रीकृष्णले । उनले शठे शाठ्यम् समाचरेत अर्थात् दुष्टसँग दुष्टताकै व्यवहार र साम, दाम, दण्ड, भेदको नीति अपनाउनुपर्छ भन्ने नीति लिए । श्रीकृष्णको धर्म रक्षाको नीति सदैव प्रक्रयान्मुखी नभएर परिणाममुखी नै थियो । श्रीकृष्णले कौरवसहित भीष्म, द्रोण, कृपाचार्य, जरासन्ध, कर्ण, शकुनि, अश्वत्थामा, जयद्रथ आदिलाई धर्मस्थापनाका लागि छलछाम आदिबाट बध गराएका थिए । उनले गराएका कतिपय युद्ध आदर्शहीन र शास्त्रविरोधी थियो तर धर्म रक्षाका लागि आदर्श युद्ध नभएर परिणाममुखी युद्ध नै आवश्यक हुन्छ भन्ने सन्देश श्री कृष्णले दिए ।

श्रीकृष्णमा अद्भूत शत्रुबोध थियो । धर्म रक्षाको समरमा चार बोध आवश्यक छ । एक आत्मबोध, स्वयंको बारेमा जानकारी, दोस्रो शत्रुबोध शत्रुको बारेमा सम्पूर्ण जानकारी र तेस्रो युद्धस्थलको ज्ञान र चौथो व्यूह रचनाको ज्ञान । श्रीकृष्णमा यो चारै ज्ञानको अद्भूत शक्ति थियो । उनले अधिकांश शत्रुहरूलाई नलडिकन समाप्त पार्न सके । उनी महाभारतको युद्धमा केवल सारथीको भूमिकामा थिए तर रणक्षेत्रको प्रत्येकको इतिहास र वर्तमान उनलाई थाहा थियो । कौरव सेनापतिहरूको बधमा उनको शत्रुबाधको भूमिका थियो । भीम जीवनपर्यन्त जरासन्धसँग मल्लयुद्ध गरिरहन्थे तर उनलाई बध गर्न सक्दैनथे । श्रीकृष्णलाई जरासन्धको कमजोरी थाहा थियो ।

महाभारत युद्ध समाप्त भएपछि पाण्डवहरूमा कसले गर्दा युद्धमा विजय भएको भन्ने विवाद हुँदा श्रीकृष्णले उनीहरूलाई बर्बरिक अर्थात् यलम्बरको शिर झुण्ड्याएको ठाउँमा ल्याए । त्यहाँ यलम्बरले भने, मैले श्रीकृष्णको अलावा कसैलाई युद्ध गरेको देखिन ।

उनले भीमलाई जरासन्धको जाँघमा प्रहार गरेर दुई फ्याक पार्न इशारा गरे । जरासन्ध मारिए । कालयवनले जब आक्रमण ग¥यो तब उनले आफ्नो शक्तिको क्षति र आफ्नो सेनाको प्रयोग गरेनन् । उनले कालयवनलाई युद्धका लागि ललकारे तर युद्ध गरेनन्, भागे, भाग्दा भाग्दै एउटा ओडारमा पसे जहाँ राजा मुचकन्द तपस्यारत थिए । मुचकन्दलाई इन्द्रको वरदान थियो कि उनको तपस्या भंग गरेर जसले उसलाई ब्युझाउँछ उसमाथि पहिलो दृष्टि पर्नासाथ ऊ भष्मीभूत भइहाल्नेछ । कृष्णले ओडारमा पसेर आफ्नो ओढ्ने मुचकुन्दलाई ओढाइदिए । कालयवन त्यहाँ आइपुग्यो, कृष्णको ओढ्ने ओढेको मान्छे देखेपछि उसलाई लाग्यो यो नै कृष्ण हो । उसले मुचकन्दको तपस्या भंग गर्‍यो । मुचकन्दले आँखा खोल्यो र ऊमाथि दृष्टिपात गर्नासाथ कालयवन कालको मुखमा जान्छ ।

भीष्ममा यति शक्ति थियो कि उनलाई कसैले परास्त गर्न सक्दैन्थ्यो किनकि उनलाई इच्छामृत्युको वरदान थियो । श्रीकृष्णलाई भीष्मको अतीत थाहा थियो । अम्बाको स्वयंवर र भीष्मसँग लिने प्रतिशोधको कथा थाहा थियो । अम्बा यो जुनी शिखण्डी भएर जन्मेको पनि उनलाई थाहा थियो ।

भीष्म उनलाई नारी नै मान्दथे तर उनको अगाडि शस्त्र उठाउँदैन्थे, श्रीकृष्णले शिखण्डी प्रयोग गरेर अर्जुनको अगाडि भीष्मको शरशैøया तयार पारे । अर्को सेनापति द्रोणाचार्यको दुर्बलता उनको पुत्र अश्वत्थामा थिए । श्रीकृष्णले रणक्षेत्रमा प्रतिध्वनि कक्ष तयार पारे र झुटो कदापि नबोल्ने युधिष्ठिरलाई उनको अगाडि अश्वत्थामा मरिसकेको भन्नु भने तर युधिष्ठिर झुटो नबोल्ने भएकाले उनले भने अश्वत्थामा हतः इति नरो वा कुञ्जरो वा त्यसै बखतमा कृष्णले नगाडा, शंख आदिको चर्को ध्वनि गराए र युधिष्ठिरले भनेको अश्वात्थामा हतःमात्र द्रोणाचार्यले सुजे, अश्वत्थामा नामक हात्ती मरेको सुनेनन् । पुत्र वियोगमा उनले शस्त्र त्याग गरे र यसै मौकामा अर्जुनले निःशस्त्र द्रोणाचार्यको ध गरे । युद्धक्षेत्रमा प्रतिध्वनि कक्ष बनाउने कला र सोच कृष्णबाहेक अरू कसको हुन सक्छ र ?

कर्णको अति दानशीलताको फाइदा उठाएर उनीबाट रक्षा कवच र कुण्डल दानमा लिनु, अर्जुनले कर्णलाई मार्न असम्भव थियो, त्यसैले भीमपुत्र घटोत्कचलाई कर्ण सामु ल्याएर युद्धमा अल्झाउनु र कर्णलाई घटोत्कचमाथि आफ्नो अमूल्य र अन्तिम शक्ति प्रहार गरेर कमजोर बनाउनुमा कृष्णको भूमिका थियो, आफ्नो रथलाई दलदलतिर लगेर कर्णको रथलाई दलदलमा फँसाउनु । निःशस्त्र रूपमा रथ झिक्न खोज्दा अर्जुनद्वारा उनको बध गराउनु कौशल कृष्णमाबाहेक अरू कसैमा हुन सक्दैनथ्यो ।

धर्मयुद्धमा जयको लागि शत्रुबोध हुनु अत्यन्त आवश्यक छ भन्ने पाठ हामीले कृष्णबाट सिक्न सक्छौं । नारा जुलुस गरेरमात्र धर्मको रक्षा हुँदैन जबसम्म हामी कृष्णको नीतिको अवलम्बन गर्दैनौं । आत्मबोधदेखि लिएर शत्रुबोधसम्मको नीतिप्रति सचेत रहनुपर्छ । हामीमा हाम्रो देशी र विदेशी शत्रुबोध धर्मराज्य स्थापनाका लागि हुनु जरुरी छ । हामी अहिले दोहोरो शत्रुबाट घेरिएका छौं । भित्री शत्रुको विनाश नगर्दासम्म विदेशी शत्रुलाई समाप्त गर्न सक्दैनौं ।

महाभारत युद्ध समाप्त भएपछि पाण्डवहरूमा कसले गर्दा युद्धमा विजय भएको भन्ने विवाद हुँदा श्रीकृष्णले उनीहरूलाई बर्बरिक अर्थात् यलम्बरको शिर झुण्ड्याएको ठाउँमा ल्याए । त्यहाँ यलम्बरले भने, मैले श्रीकृष्णको अलावा कसैलाई युद्ध गरेको देखिन । रणक्षेत्रमा जताततै श्रीकृष्ण नै लडिरहेका थिए । यति भनिसकेपछि यलम्बर आकाशमार्गबाट काठमाडौंमा आएर आकाश भैरवको रूपमा स्थित हुए । कृष्ण निःशस्त्र थिए तर युद्ध उनको नीतिले लडेको हुँदा विजयश्री प्राप्त भएको थियो । सनातन धर्म सापेक्ष अधिराज्य स्थापनाको नारा बोकेकाहरूले श्रीकृष्णको नीति अवलम्बन गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?