अनुदान नपाए कडा आन्दोलन गर्छौं : उखु किसान

फाइल तस्बिर

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । बारा र पर्सालगायतका उखु बेचेका किसानले सरकारबाट पाउने अनुदान रकम अझै पाउन सकेका छैनन् ।

गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउँदा उखु किसान निराश बन्नु भएको छ । बारा र पर्साका किसानले गएको पुस/माघ महिनामा बेचेको उखुको अनुदान रकम (प्रतिक्विन्टल) ७० रुपैयाको दरले पाउने रकम हालसम्म पाउन नसकेको गुनासो गर्नु भएको छ ।

उखु उत्पादक किसान संघ बाराका अध्यक्ष विरेन्द्र प्रसाद कुशवाहाले अनुदान रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयसहित अन्य निकायमा बारम्बार ताकेता गरिरहेको बताउनुभयो ।

मन्त्रालयमा ताकेदा गर्दा तत्काल रकम निकासा गर्ने आश्वासन पाए पनि किसानले अनुदान रकम प्राप्त गर्न नसकेका कुशवाहाको भनाई छ । “उखु बेचेको छ महिनासम्म सरकारले नै अनुदान रकम दिएन,” कुशवाहाले भन्नुभयोे, “उखु खेती घट्दै गइरहेको अवस्थामा सरकारले अनुदान बढाएर किसानलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा महिनौँसम्म अनुदान रकम नदिएर किसानलाई निराश पार्ने काम मात्रै गरेको छ ।” बारा र पर्सामा केही दिनअघि बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले उखु किसानलाई तत्काल अनुदान रकम दिन संघीय सरकारसँग माग गर्नुभएको छ ।

रिलायन्स सुगर मिल उद्योग श्रीपुरमा उखु बेचेका किसानले उद्योगबाट सम्पूर्ण भुक्तानी पाई सकेता पनि सरकारबाट अनुदानको रकम अहिलेसम्म पाउन सक्नु भएको छैन । आफूहरु सरकारबाट मारमा परेको उहाँले गुनासो गर्नुभयो ।

उखु किसान समेत रहेका कुशवाहाले उद्योगीले रकम पूरा भुक्तानी गरेको तर सरकारले अनुदान रकम दिन ढिलाई गर्दा किसान निराश हुनु परेको गुनासो गर्नुभयोे ।

उखु बिक्री पछि उद्योगीले दिने रकम पाइसके तापनि सरकारले प्रदान गर्दै आइरहेको अनुदान प्राप्त गर्न उखु किसानले वर्षेनि आन्दोलन गर्दै आइरहेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय बारामा पटक पटक धाउँदा समेत कुनै सुनुवाई नभएको अध्यक्ष कुशवाहाले बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले मन्त्रालयबाट रकम प्राप्त हुनासाथ किसानको खातामा रकम पठाइने बताए पनि अहिलेसम्म रकम नआएको उहाँले गुनासो गर्नुभयो । “अघिल्ला वर्षहरुमा पनि उखुको अनुदान रकम दशैँको मुखमा मात्रै आएको रहेछ, यो वर्ष पनि त्यस्तै हुने अवस्था देखिन्छ,” कुशवाहाले भन्नुभयो, “कोलेनिकामा रकम प्राप्त हुनासाथ किसानको खातामा पठाइदिने आश्वासन पाएका छौ ।” नगदे बाली उखुको मूल्य तोक्न ढिलाइँ, मूल्य तोकिँदा पनि लागत अनुसार नतोकिने, उखु बिक्री पश्चात उद्योगीले बेलैमा भुक्तानी दिने तर सरकारले अनुदान रकम उपलब्ध गराउन समय लगाउनेलगायत कारणले पछिल्ला वर्षहरुमा किसानले उखु खेती त्याग्दै गएको उहाँले जानकारी दिनुभयो ।

समयमा हाम्रो अनुदानको रकम प्राप्त नभए बाध्य भएर आन्दोलित हुनु पर्ने अवस्थाको विद्यमानता रहेको कुशवाहाले बताउनुभयो । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारबाट पाउनु पर्ने अनुदानको रकम बारा र पर्साका किसानहरुले सम्म नपाएको उहाँले गुनासो गर्नुभयो ।

चिनी मिलले सरकारले पाउनु पर्ने कर वापतको ६५ करोड रकम बुझाइसकेको भएतापनि सरकारले बारा र पर्साका किसानहरुले पाउनु पर्ने १३ करोड अनुदान अहिलेसम्म पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

सरकारले हामीलाई दुःख दिएर आन्दोलित हुन बाध्य पार्ने गर्दछ, उहाँले भन्नुभयोे,‘आन्दोलित हुनु हाम्रो रहर होइन बाध्यता हो ।' आइतबार नै उनीहरुले जिल्ला प्रशासन कार्यालय बारामा समेत अनुदानको रकम उपलब्ध गराउन ज्ञापन पत्र बुझाएका छन् ।

आफ्नाे माग सम्बोधन नभए आन्दोलनमा उत्रिन बाध्य हुने उनिहरुले पत्रकार सम्मेलनमा जानकारी दिए । संघीय सरकारले अहिलेसम्म आवश्वासन मात्र बाँडेको उनिहरुकाे आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?