पहिरोले जोखिम लुम्साबस्ती स्थानान्तरणपछि स्थानीयमा खुसी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । मुगुको छायानाथ रारा नगरपालिका – १२ लुम्सा गाउँका बाढी र पहिरोले जोखिम भएका ३४ घरलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।

सो नगरपालिका वडा नं. १२ का ३४ घर निर्माण गरि बस्तीनै अर्को ठाउँमा सारिएको छ । भवन निर्माण आयोजना जुम्लाका सव–इन्जिनियर चन्द्रबहादुर खड्काले भन्नुभयो, “ छायानाथ रारा नगरपालिका वडा नंं. १२ लुम्सा गाउँमा बाढी पहिरोका कारण बिस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नं. ९ स्थित चिमाथमा बस्ती सारिएको छ ।”

घर स्थानान्तरणका लागि संघीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रति घरलाई रु ५ लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको आयोजनाका सव–इन्जिनियर खड्काको भनाइ छ ।

विभिन्न समयमा लुम्सा गाउँमा आएको भिषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक – पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गतवर्ष सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट ३४ घर निर्माण भई बस्ति स्थानान्तरण भएको स्थानीय पुर्णचन्द्र विश्वकर्माले बताउनुभयो । 'म लगायत यहाँका स्थानीयवासीले अहिले नयाँ घर पाएका छाैँ । बाढी पहिरोबाट घर जोखिम छैन । राम्रोसंग घरमा बस्न पाएका छौँ । यो नमूना कार्यका लागि भवन निर्माण आयोजना जुम्ला र बजेटको व्यवस्थापन गरिदिने सम्बन्धित मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहान छु ।'
नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका – १२ लुम्सा गाउँका स्थानीयमा खुसी छाएको उक्त गाउँका स्थानीय बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?