पाठ्यपुस्तकको संपरीक्षण गर्दै प्रदेश सरकार

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशमा पाठ्यपुस्तक संपरीक्षण गर्न थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, नेपाल मानव अधिकार आयोग, घर घरमा शिक्षा संस्थाले पाठ्यपुस्तकको संपरीक्षण गर्न थालेका हुन् ।

आयोजकको कक्षा १ देखि १२ सम्म पढाइ भइरहेका पाठ्यपुस्तकको संपरीक्षण गर्ने योजना रहेको छ । विद्यालयमा पढाइ भइरहेका पाठ्य पुस्तकमा समेटिएका विषय कस्ता छन् ?  ती विषयवस्तुले समग्र देशको प्रतिनिधित्व गर्छ कि गर्दैन ?  त्यो पढेपछि के थाहा हुन्छ ?  कहाँका विषय समेटिएका छन् ?  यी र यस्ता थुप्रै्र विषयको खोजी गर्दै संपरीक्षण गर्न थालिएको छ । ‘अहिलेसम्म कितावहरुको बारेमा संपरीक्षण गर्ने काम भएकै थिएन ।’ घरघरमा शिक्षा संस्थाका संस्थापक होमराज आचार्यले भन्नुभयो, ‘जबसम्म हामी सबै मिलेर शिक्षालाई गुणस्तरीय बनाउँदैनौं । सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउँदैनौं तबसम्म देशको विकासलाई अघि बढाउन सकिदैन ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षालाई आर्थिक आम्दानी र उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । अबको पाठ्यक्रम र पाठ्यपुस्तकलाई उत्पादनसँग जोडेर बनाउन आवश्यक रहेको बताउनुभएको हो । ‘आम्दानी र जीविकोपार्जनसँग हामीले शिक्षालाई जोड्नैपर्छ । हरेक घरको आम्दानी बढ्नैपर्छ’,उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले उत्पादनलाई जोड दिएको छ । हामीले दिने शिक्षा पनि यसैमा आधारित हुनुपर्छ ।’ प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले अबको शिक्षालाई प्रविधिसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभयो । ‘२१ औं शताब्दीको शिक्षा भन्छौं । अब प्रविधि र इन्टरनेटसँग जोडिनुपर्ने बेला आएको छ’, उहाँले भन्नुभयो, ‘विद्यार्थीको क्षमता बढाउन ध्यान दिनेगरी काम गर्नुपर्नेछ ।’

पहिलो चरणमा प्रदेशभित्रका सामुदायिक विद्यालयमा पढाइ भइरहेका पाठ्यपुस्तकको संपरीक्षण गर्न थालिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?