बर्दघाटको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी) ले शाखाका प्रमुख उपसचिव लोकराज पन्थीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखा प्रमुख पन्थीलाई बाहिर निस्कन आग्रह गर्दै ढोकामा संगठनका माग र चेतावनी पत्र टास्दै तालाबन्दी गरेको थियो । शैक्षिक सत्रको शुरुवातमा राखेको बिभिन्न जायज मागलाई बेवास्ता गर्दै आएकोले तालाबन्दीमा उत्रिनु परेको संयोजक सापकोटाले जानकारी दिनुभयो ।

शुक्रवार हामीले ३ दिनको अल्टिमेटम दिएर ध्यानाकर्षण गराएर हाम्रा माग पुरा गर्न भनेका थियौँ, उहाँले भन्नुभयो, तर हाम्रा जायज माग पुरा गर्न तर्फ ध्यान दिएको पाएनौ । अनि तालाबन्दीमा उत्रन बाध्य भयौं । संस्थागत बिद्यालयहरुले मनमौजी रुपमा शुल्क बृद्धि गरेको र प्रमाण पत्रका नाममा जनही ५ हजार भन्दा माथि शुल्क लिने गर्दा समेत नगरको शिक्षा शाखा मुकदर्शक भएर बसेकोले तालाबन्दी गरिएको उहाँले बताउनुभयो ।

महंगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर ३ दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै संगठनले शुक्रवार ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाएको पाँच दिन पछि संगठनले तालाबन्दी गरेको हो ।

सो क्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सापकोटाले नगरले शैक्षिक कार्यक्रमलाई एकरुपतामा ल्याउन शाखाले पहल नगरेको बताउदै सामुदायिक बिद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको बताउनुभयो ।

सापकोटाले संस्थागत बिद्यालयले ट्रान्सक्रिप्ट र सर्टिफिकेटको नाममा प्रति बिद्यार्थी पाँच हजार रुपैया बढी असुलेको बताउदै त्यो कार्य नरोकिए थप संर्घषका कार्यक्रम समेत सार्वजनिक गर्ने उद्घोष गर्नुभयो । तालाबन्दीको क्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालय सदस्य सुवास शर्मा र छात्रा बिभाग प्रमुख बिमला गिरी, जिल्ला कार्यालय सदस्य तरुण श्रीस मगरलगायत सहभागी रहेको संगठनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?